चितवन । चितवनमा आक्रमक भाले गैंडाको यौन उन्मादका कारण एउटा कम उमेरको पोथी गैंडा मरेको छ ।
पश्चिम चितवनको मंगलपुर सेतीदेवी सामुदायिक वनभित्रको घोलमा तीन दिनअघि घाइते भेटिएको अन्दाजी चार वर्षको अर्धवयस्क पोथी गैंडाको भालेको यौन उन्मादका कारण मृत्यु भएको पाइयो ।
भालेको जबर्जस्ती सहबासका कारण शरीरको पछिल्लो भाग नचल्ने भएर घोलमा नै बसेको गैंडालाई चितवन निकुञ्जको टोलीले उपचार गरे पनि बचाउन सकेन । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले गैंडा घाइते भएको सूचना आउनसाथ उद्धारका लागि दुईवटा हात्ती र उपचारका लागि चिकित्सक टोली पठाएको बताए । तर पनि टोलीले घाइते गैंडालाई बचाउन सकेन ।
नारायणगढ बजारदेखि झण्डै १० किलो मिटर पश्चिम नारायणी नदी आडमा रहेको सेतीदेवी सामुदायिक वनभित्रको घोलमा स्थानीयले बिहीबार बिहान ९ बजे गैंडा देखेका थिए ।
‘बिहान ९ बजे देखेको गैंडा साँझसम्म पनि एकै ठाउँमा बस्यो । खासै चलेको नदेखेपछि घाइते भएको अनुमान ग¥यौं । शुक्रबार बिहान निकुञ्जबाट हात्ती आएपछि घोल बाहिर निकाल्यौं । गैंडा बेस्सरी घाइते भएको रहेछ’ सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका वन तथा वन्यजन्तु संरक्षक टेकबहादुर तमाङले भने ।
दुई वटा हात्ती र सयौं गाउँलेहरुको सहयोगमा घाइते गैंडालाई घोल बाहिर ल्याएर उपचार गरेको उनले बताए । स्लाइन र इन्जेक्सन दिए पनि गैंडा उठ्न नसकेको तामाङले बताए । गैंडा उपचारमा संलग्न चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा।पुरुषोत्तम पाण्डेकाअनुसार गैंडाको शरीरको पछिल्लो भागमा ठूलो चोट लागेको थियो ।
ढाड नै फुस्किएर भित्री अंगमा चोट पुगेका कारण गैंडालाई बचाउन नसकिएको डा।पाण्डेले बताए । यौन सम्पर्कका लागि चढेको भालेको भार थेग्न नसकेर गैंडाको ढाड भाँच्चिएर भित्री अंगमा चोट पुगेको उनको भनाइ छ ।
‘जुन ठाउँमा पोथी थोरै हुन्छ, त्यहाँ भाले गैंडा एकदम उन्मादमा हुन्छन् । आक्रमक पनि हुन्छन् । यो गैंडा सानो थियो । सहबासको क्रममा भालेको भार थेग्न गैंडाले सकेन । शरीरको पछिल्लो भाग नै भाँचियो’ पशु चिकित्सक डा पाण्डेले भने ।
यौन उन्मादमा रहेको आक्रमक भालेका कारण चितवन निकुञ्जभित्रै पनि यसअघि यस्ता घटनाहरु भएको उनले बताए । स्थानीयहरु वनभित्र एउटा निकै जब्बर र आक्रमक भाले रहेको बताउँछन् ।
चितवन निकुञ्जबाट नजिकै नारायणी आसपासमा रहेका सेतीदेवीसहित ज्ञानेश्वर, सिद्धिगणेश र मझुवा सामुदायिक वनमामात्रै २५ का हाराहारीमा गैंडाहरु रहेका छन् । घाँस राम्रो हुने भएका कारण त्यस क्षेत्रमा बच्चासहितका गैंडा धेरै छन् । चितवन निकुञ्जमा पछिल्लो समय चोरी सिकार ठप्प छ । तर जुधेर र अन्य प्राकृतिक कारणले गैंडा मर्ने क्रमभने कम भएको छैन । गैंडा संरक्षणमा चुनौती थपिएको छ ।
बाघ पनि मृत फेला
चितवन निकुञ्जभित्रै एउटा पाटे बाघ पनि मृत फेला परेको छ । वयस्क अवस्थाको भाले बाघ अर्को भाले बाघसँग जुधेका कारण घाइते भएर मरेको निकुञ्जका अधिकारीहरुले जानकारी दिएका छन् । सौराहानजिक निकुञ्जभित्रको जंगलमा मृत बाघ फेला परेको हो ।
तस्बिरमा : भाले गैँडाको यौन उन्मादका कारण गम्भीर घाइते भएर मरेको गैंडा ।
प्रतिक्रिया