मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पिस नेपाल बालगृहका सञ्चालक पक्राउ

पिस नेपाल बालगृहका सञ्चालक पक्राउ


चितवन । दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 
चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । 
 
मङ्गलबार साँझ गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । बुधबारबाट थप अनुसन्धानको प्रक्रिया सुरु हुने जनाइएको छ । 
 
विगत दुई वर्षदेखि यहाँ दर्ता नै नगरी बालगृह सञ्चालन गरिएको र नियमविपरीत धर्म प्रचार गरिएको समेत पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको उनले जानकारी दिए । यहाँ अहिले आठ जना बालबालिका राखिएको छ । 
 
जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो । चितवनमा सञ्चालित बालगृहमा क्रिश्चियन धर्मको प्रचार, क्षमताभन्दा बढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभावलगायतका समस्या अनुगमनमा पाइएको चितवन प्रशासनले जनाएको छ । 
 
पटकपटक यहाँका बालगृहको अनुगमन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । केही बाललगृह मापदण्डविपरीत सञ्चालन भएको, बढी बालबालिका राखिएको, जिल्ला बाहिरका बालबालिका ल्याउँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा नगरिएको, मापदण्ड नपुगेका लगायतका समस्या देखिएको सिंहले बताए । जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् । रासस