हिमालयखबर संवाददाता
चितवन । सात वर्षको अवधिमा २१ वटा गैंडा मारेको भनी साबिती बयान दिएका राजकुमार प्रजालाई चितवन अदालतको सोमबारको फैसलाले १५ वर्ष कैद तोकेको छ । कोराक गाविस वडा नम्बर ९ कालीखोला घर भएका राजकुमारमाथि पटकपटक गैंडा मारेको अभियोग लागेको थियो । गैंडा मारेबापत् पाउने यो अधिकतम सजाय हो ।
गैंडा मारी खाग खरिद बिक्री गरेको अभियोगमा पक्राउ परेका अन्य १० जनामध्ये ९ जनालाई १५ वर्ष र एक जनालाई ७ वर्ष कैद फैसला सुनाइएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । न्यायाधीश टेकनारायण कुँवरको इजलासले यस्तो फैसला गरेको हो । सजाय सुनाइएका मध्ये अझै ३ जना फरार रहेका छन् ।
निकुञ्जले राजकुमार संलग्न रहेको १५ वटा मुद्दामध्ये ६ वटा मुद्दाको फैसला गरी १५ वर्ष कैद र १ लाख जरिबाना तोकेको हो । राजकुमारले २०६० सालदेखि ०६७ सालसम्म २१ गैंडा मारेको बयान दिएका थिए । १९ वटा गैंडा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र र २ वटा वन क्षेत्रभित्र मारेको भनी राजकुमार स्वयम्ले साबिती बयान दिएको सूचना अधिकारी बरालले बताए । सीआईबीले ३० बढी गैंडा मारेको आरोप राजकुमारमाथि लगाएको छ । वन्यजन्तु अपराधमा रेडकर्नर नोटिस जारी भएको उनी पहिलो नेपाली हुन् ।
११ आरोपितमध्ये पटिहानी–८ गंगानगर बस्ने मिलन बोटेलाई ७ वर्षको जेल सजाय तोकिएको छ । अन्यको हकमा १५ वर्ष कायम गरिएको सूचना अधिकारी बरालले जानकारी दिए । १५ वर्ष कैद तोकिएका अन्य आरोपितहरुमा शक्तिखोर कोलारका मानबहादुर प्रजा, पदमबहादुर प्रजा, वीरबहादुर प्रजा छन् ।
त्यस्तै शक्तिखोर दर्वेटारका दिलबहादुर भन्ने राजकुमार प्रजा, थैली काइँला प्रजा, पटिहानी गंगानगर ८ का बिउल बोटे र सुकबहादुर बोटो, जुटपानी ५ खोलेसिमलका सुरेन्द्र सिङदन र काठमाडौं हात्ती गौंडा बस्ने दिलबहादुर गुरुङ रहेका छन् । प्रतिवादीहरुमध्ये मानबहादुर प्रजा, थैली काइँला प्रजा, दिलबहादुर गुरुङ अझै फरार रहेका छन् ।
उनीहरुविरुद्ध सीआईबीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दाफ ३० को उपदफा १ बमोजिम अभियोग पेश गरेको थियो । रेड कर्नर नोटिस जारी भएका राजकुमार धेरै खोजिएको अपराधीको सूचीमा थिए । उनलाई इन्टरपोलले पक्राउ गरेको थियो ।
रेडकर्नर नोटिस जारी भई विसं. २०७१ साल माघ १६ मा मलेसियन प्रहरीले पक्राउ गरी राजकुमारलाई नेपाल पठाएको थियो । केन्द्रीय अनुसन्धान व्यूरोले प्रजालाई माघ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको हो । चितवन निकुञ्जमा राजकुमारविरुद्ध विसं २०६० सालको चैत १२ गते पहिलो पटक मुद्दा दायर भएको थियो । फरार रहँदै आएका राजकुमार ७१ साल माघ २६ गतेमात्रै निकुञ्जको हिरासतमा आएका हुन् ।
कृष्णबहादुर गिरीको छोरा बनेर राजकुमारले २०६७ सालमा गोरखा जिल्लाबाट भक्तराज गिरीको नाममा नागरिकता लिएका थिए । उनी पासर्पोट बनाएर २०७१ सालमै मलेसिया उडेका थिए । लुकीछिपी बस्दै आएका राजकुमारले पछिल्लोे समय नेपाल बस्न असुरक्षित ठानी फर्जी परिचय खडा गरी नागरिकता बनाएर मलेशिया गएका हुन् ।
प्रतिक्रिया