चितवन । असार सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक पहिरोको चपेटामा पर्न थालेको छ । अघिपछि पनि पहिरो पिरलो त थियो नै असार लागेपछि त झन् खसेको खसै छ पहिरो ।
आइतबार बिहान यो सडक खण्ड पहिरोका कारणले बन्द थियो । राति एक बजे ठाउँठाउँमा पहिरो गएपछि सडक बिहान सात बजे एकतर्फी र आठ बजे दुईतर्फी खुल्यो । सडकको १७ किलोदेखि पूर्व छ ठाउँमा ढुंगा र पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
घोषित रुपमा दिउँसो चार घण्टा बन्द हुँदै आएको निर्माणाधीन नारायणगढ मुग्लिन सडक असार एक गतेबाट पूरै समय चालु हुने भनिए पनि पहिरोका कारणले घण्टौं बन्द हुने गरेको छ । वर्षा भएसँगै जलवीरेदेखि कालीखोलासम्मको क्षेत्रमा अहिले लगातार पहिरो जाने गरेको नारायणगढ मुग्लिन सडक निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ ।
यसअघि पहिरो गएका कारण बुधबार राति पनि ९ बजेदेखि अवरुद्ध सडक १४ घण्टापछि बिहीबार दिउँसो ११ बजेमात्रै चालु भएको थियो । बुधबार मात्रै होइन, मंगलबार राति पनि पहिरो गएर यो सडक लगभग सात घण्टापछि बुधबार बिहान ९ बजे खुलेको थियो । बाटो खुलेको १२ घण्टा नहुँदै फेरि राति सोही ठाउँमा पहिरो गएर लामो समय बाटो अवरुद्ध भयो ।
यो सडकलाई दुई लेनको बनाउने काम सुरु भएको छ । सडक फराकिलो पार्न ठाउँठाउँमा पहाड काट्ने गरिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर दुःख दिन थालेको हो । बुधबार राति गएको पहिरो अहिलेसम्मकै ठूलो भएको सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले बताए । मंगलबार र बुधबार रातिको पहिरो एकै ठाउँ गएको थियो ।
‘राजमार्गमाथिका डाँडो काटिएको छ । पहाडको चट्टानलाई मेसिनको माध्यमबाट फुटाउने प्रविधि ‘ब्रेकर’को प्रयोग गरेर पहाड फोरिएका हुन् । कतिपय अवस्थामा अलि कमजोर पहाड भएका क्षेत्रमा ‘स्क्याभेटर’ लगाएर पनि काटिएका छन्’, इन्जिनियर खनालले भने, ‘पहाड फोर्दा बाँकी रहेका भूभाग चर्किएर अहिले पहिरोको जोखिम भएका हुन् ।’
‘असार लागेपछि एक दुई दिनबाहेक अरु दिन तीनचार घण्टा बाटो थुनिएकै छ’ इन्जिनियर खनालले भने । सडक फराकिलो बनाउन पहाड काटेको ठाउँमा पानी परेपछि भल आउने र भलले खोतल्दै लगेका कारण पहाड नै झर्ने गरेको उनले बताए । वर्षा नभए पनि गत माघमा कालीखोलामा नै सुख्खा पहिरो आएर १२ घण्टाभन्दा बढी समय सडक अवरुद्ध भएको थियो ।
‘अहिले साना पहिरो त पन्छाउँदै सवारी आवगमन चलाउँदै गइएको छ । कुनै बेला चर्किएको पहाड नै खस्यो भने लामो समय राजमार्ग अवरुद्ध हुने जोखिम छ’ इन्जिनियर खनालले भने, ‘पहिरैपहिरोको जोखिम भएकाले पनि यो राजमार्गबाट सकेसम्म कम सवारी साधन आवगमन गर्न सके पहिरोका कारण हुने क्षति र जोखिम कम हुनेछ ।’
नारायणगढदेखि १७ किलो मिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने, २७ किलोमिटर परको जलवीरे र ३३ किलोमिटर परको कालिखोलासम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको सडक निर्माण आयोजनाले जानकारी गराएको छ । यस क्षेत्रमा कुनै पनि खालको मानवीय र अन्य भौतिक क्षति नहोस् भन्ने चाहनाले सबैलाई सजग भएर यात्रा गर्न अपिलसमेत गरिएको छ ।
‘पहिरो जाने यी ठाउँमा पहिरो सफा गर्ने र परेमा गाडीसमेत तान्ने उपकरणहरु रहेका छन् । साढे तीन किलो मिटरको फरकमा एउटा उपकरण छ । हामीले पहिरो पन्छाउनका लागि भनेर छवटा उपकरण राखेका छौं’ इन्जिनियर खनालले भने । तर काम गर्दै जाँदा पहिरो पनि थपिने गरेका कारण समय लाग्ने गरेको छ ।
नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी तथा पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । सन् २०१७ को अप्रिलभित्र सक्ने लक्ष्यका साथ गत वर्षदेखि सडक दुई लेनको बनाउने काम सुरु भएको हो । दैनिक १० हजारको हाराहारीमा गाडी ओहोर दोहोर गर्ने यो सडक थोरै समय अवरुद्ध भए पनि गाडीको लामो लाइन लाग्ने गरेको छ । जसले गर्दा यात्रुहरु हैरान छन् ।
निर्माणको काम हुने समय बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म गत माघ २८ गतेदेखि सडकमा गाडी चल्न रोक लगाइएको थियो । जुन व्यवस्था असारबाट हटेको छ । तर पहिरोका कारण बाटो बन्द हुने समस्या कायमै रहेको छ ।
जानकारहरु नारायणगढ मुग्लिन सडकका पहिरो जोखिम क्षेत्रमा पहिरो रोक्न वाल लगाएर बायोइन्जिनियरिङ गर्नुपर्छ भन्ने सल्लाह दिन्छन् । ‘भित्तामा वाल लगाएर वायोइन्जिनियरीङ गर्नुपर्छ भन्ने पक्षमा त हामी पनि छौं’ इन्जिनियर खनालले भने, ‘पहिरोको जोखिम नियन्त्रणको दीर्घकालीन समस्याको समाधान पनि बायो इन्जिनियरिङ नै हो ।’
प्रतिक्रिया