मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठेला व्यापार गरेरै अनाथ बालबालिकालाई शिक्षा

ठेला व्यापार गरेरै अनाथ बालबालिकालाई शिक्षा


चितवन । नारायणगढको व्यस्त बजारमा विभिन्न मानिसका आ–आफ्नै दिनचर्याहरु देखिन्छन् । शहीदचोक वरिपरि कोही डोकोमा फलफूल बेचिरहेका भेटिन्छन् भने कोही ठेलामा । सबैको एउटै सोचाइ हुन्छ– ‘पैसा कमाउने’ । 
 
तर भरतपुर–१० निवासी प्रतीक सुनुवारको सोचाइ भने अलिक फरक छ । उनले दिनहुँ ठेलामा कपडा राखेर विभिन्न स्थानमा लाग्ने हाटबजार चहार्दै व्यापार गर्छन् । उनको व्यापारको उद्देश्य पैसा कमाउनुमात्र नभएर समाजसेवा पनि बनेको छ । 
 
दिनभर ठेलामा लत्ताकपडा बेचेर कमाएको पैसाले उनले आफ्नो परिवारमात्र पालेका छैनन्, अन्य सात सहाराविहीन बालिकाहरुलाई पनि निस्वार्थ आश्रय दिइरहेका छन् ।
 
मान्छे पैसाले आफूलाई पुगेपछिमात्र अन्यको लागि सोच्ने गर्दछन् तर उनले सामान्य कमाइबाट अन्य सात बालबालिकालाई सहारा दिएका छन् । उनले ठेलामा लुगा लिएर हाटबजार गएर कमाइको केही रकम समाजसेवामा लगाएका छन् । 
 
उनी सानो छँदादेखि नै अभिभावकको सहाराबिना दुःखका साथ हुर्किएका व्यक्ति हुन् । उनले भने, ‘अन्य मानिस जो दुःख पाएको छ, उसले भविष्यमा धनी बनेर सुख–सयलसहितको जीवनयापन गर्न लालायित हुन्छ । त्यसैअनुरुप संघर्ष गर्न लाग्छ ।’ तर उनको फरक सोच छ । उनी चाहन्छन् आफूले जस्तो दुःख अन्य कसैले पनि नपाओस् । त्यसैले उनले करिब ३ वर्ष अगाडिबाट सहाराविहीन बालिकालाई सहारा दिन सुरू गरे । उनको आफ्नो छोराछोरी पनि छन् ‘प्रयास’ र ‘प्रकृति’ तर उनले आफ्नो छोराछोरी र ती बालिकाहरुमा कुनै फरक देख्दैनन् ।
 
उनी पनि कुनै बेला धनी बनेर सुखको जीवन बिताउन संघर्षरत थिए । तर अन्यलाई दुःखको दलदलमा नै छाडेर उनी धनी बनेर सुखी बन्न उनको मनले मानेन् । त्यसपछि उनी अबोध बालिकाहरुको हेरविचार गर्न लागे । जो आफ्नो आमाबाबुको मायाबाट बञ्चित छन् ।
 
उनले हाल ४ कोठा भाडामा लिएर सातजना बालिकालाई आमाबाबुको माया दिएर पालिरहेका छन् । दिनभरि घामझरी केही नभनी छोराछोरीलाई पाल्न एउटा असल बाबुले मात्र संघर्ष गर्छन् । उनले भने, ‘ती छोरीहरुको लागि उनी असल बाबु बन्न चाहन्छन् र ती छोरीको मुहारमा खुसी देख्न चाहन्छन् ।’ भन्छन्, ‘जब म तिनीहरुको मुहारमा खुसीको हाँसो देख्छु मनमा एक किसिमको खुसी पैदा हुन्छ र त्यसै खुसीलाई सधैँभरि जीवित राख्न म अझ काममा खटिन प्रोत्साहित हुन्छु ।’
 
उनको सहारामा हाल हुम्लाका तीन बालिका छन्– रुथ, रुपा र मार्था । त्यस्तै बर्दघाटका आस्था र प्रशस्ता, दाहखानीकी सरिता चेपाङ र सोनु चेपाङलाई पनि उनले सहारा दिइरहेका छन् । उनको सहारामा रहेका ६ देखि ९ वर्षसम्मका सात बालिकाले पढाइमा पनि निकै राम्रो गरिरहेको उनको भनाइ छ । ‘रुथ, रुपा र मार्था चितवन उच्च माविमा ३ कक्षामा पढ्छन् । अन्य १ कक्षामा । उनीहरुको पढाइ निकै राम्रो छ । कक्षामा सधैँ पहिलो, द्वितीय वा तृतीय भइरहेका हुन्छन् ।’
 
उनले आफ्नो कार्यलाई ‘सेद द चाइल्ड गल्र्स’ नाम दिएका छन् । उनले पिस नेपाल नामक संस्थाबाट आफ्नो परोपकारी कार्यलाई वैधानिकता पनि दिन चाहन्छन् । तर करिब एक वर्ष अगाडि उनले जिल्ला प्रशासन कार्यलयमा संस्था दर्ताको लागि पहल गरेको भए पनि हालसम्म उनको संस्था दर्ता हुन सकेको छैन । प्रशासनले उनीसँग भरपर्दो आर्थिक स्रोत खोजिरहेको छ ।
 
उनको कामलाई बेलाबेलामा मानिसहरुले आलोचना पनि गर्ने गरेका छन् । तर उनलाई मानिसहरुको आलोचना सुन्ने फुर्सद नै छैन । उनी ती बालिकाहरुको भविष्य उज्ज्वल बनाउन तल्लिन छन्–जसले उनको हृदयलाई खुसी र सन्तुष्ट राखेको छ । 
 
भविष्यमा छुट्टै स्कुल खोलेर यस्ता बेसहारा बालबालिकाहरुलाई पढाउने उनको लक्ष्य छ । जसका लागि उनले दिनरात मेहनत गरिरहेका छन् । उनी आफ्नो मात्र कमाइले सो सम्भव हुन निकै समय लाग्ने देखेपछि अन्य दाताहरुले पनि उनलाई सहयोग गरुन् भन्ने चाहेका छन् । 
 
उनलाई असल कार्यमा उनकी धर्मपत्नी आशाको पनि निकै ठूलो सहयोग छ । आशा पनि सधैँ ती बालिकाहरुको हेरचाहमा खटिएकी छन् । उनीहरुलाई आमाको मायाको कमी महसुस हुन दिएकी छैनन् । धागो बुनेर कमाएको केही पैसाले श्रीमान्को अभियानमा सक्दो सहयोग गर्न उनले कहिल्यै झर्को मानिनन् । श्रीमान्को कामप्रति खुसी व्यक्त गर्दै आशाले भनिन्, ‘श्रीमान्को कामप्रति पूर्णरुपमा सन्तुष्ट छु । सहाराविहीन यी छोरीहरुलाई सहारा दिँदा आफूलाई पनि सन्तुष्ट मिलेको छ ।’