मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैंडा मार्ने २५५ जनालाई कारबाही

गैंडा मार्ने २५५ जनालाई कारबाही


चितवन (कसरा) । चितवन निकुञ्जले छ वर्षमा गैंडा मार्ने काममा संलग्न २५५ जना भन्दा बढीलाई कारबाही गरेको छ । निकुञ्ज कार्यालयले हालै जारी गरेको प्रेस विज्ञप्तिमा वन्यजन्तु अपराधमा संलग्न हुनेहरु धमाधम समातिँदा चोरी सिकार नियन्त्रणमा ठूलो मद्दत पुगेको उल्लेख छ । चोरी सिकारीका कारण चितवन निकुञ्जमा दुई वर्षयता कुनै गैंडा नमरेको निकुञ्ज प्रशासनको दाबी छ ।
 
पछिल्लो पटक विसं २०७१ सालको वैशाख २० गते चोरी सिकारीले मारेर खाग लगेको अवस्थामा गैंडाको लाश फेला परेको थियो । चोरी सिकारीका कारण गैंडा नमरेको दुई वर्ष पुगेको दिन सोमबार चितवन निकुञ्जले निकालेको प्रेस विज्ञप्तिमा शून्य सिकार सफल हुनुका कारणहरु उल्ल्ेख छ । जसमा वन्यजन्तु अपराधमा संलग्न हुनेहरु गिरफ्तार हुनुलाई पनि सफलताको आधार मानिएको छ । 
 
निकुञ्जले विसं २०६७ सालको फागुनमा ९ गैंडा मारेको अभियोग लागेका काजिमान चेपाङलाई समाएको थियो । त्यसपछि विसं २०६८ सालको भदौमा १२ गैंडा मारेको अभियोग लागेका बुद्धिबहादुर चेपाङ पनि समातिए । निकुञ्जले कुख्यात सिकारी मान्ने गरेको राजकुमार चेपाङ पनि गत वर्ष मलेसियाबाट समातिए ।
 
राजकुमारले २२ गैंडा मारेको निकुञ्जको अभियोग छ । निकुञ्जले सोमबार निकालेको विज्ञप्तिमा राजकुमारको गिरफ्तारीलाई मुख्य उपलव्धिका रुपमा चर्चा गरिएको छ । बुद्धिबहादुरले दिएको सूचनाको आधारमा राजकुमार विदेश गएको पक्का भएको थियो । मलेसियामा काम गर्दै बसेका राजकुमारलाई रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा पक्राउ गरिएको थियो ।
 
गैंडा सिकारी मात्रै होइन, केही कारोबारीसमेत बीचमा समातिएका छन् । मरेको भनेर निकुञ्जलाई ढाँटेर मुद्दाबाट छुटकारा पाएका स्थायी ठेगाना तिब्बत भए पनि काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारी बस्ने ताञ्जिङ निमा लामा विसं २०६८ कार्तिकमा समातिएका थिए । उनले खाग चीन पु¥याउने गरेको निकुञ्जको अभियोग छ । उनले सजाय पनि पाएका छन् ।
 
निकुञ्ज तस्कर र सिकारी समाउन सक्रिय भएसँग गैंडाको चोरी सिकार पनि नियन्त्रणमा आएको देखिन्छ । ६५÷६७ सालसम्म चोरी सिकारीले दर्जनका हाराहारीमा गैंडा मार्ने गरेको निकुञ्जको तथ्याङ्क छ । तर ६७ सालमा जम्मा दुई गैंडा परे । ६७ सालको पुस १९ गतेदेखि एक वर्षसम्म कुनै गैंडा नमरेपछि निकुञ्जले ६८ सालको पुस १९ मा पहिलो पटक शून्य चोरी सिकार वर्ष मनायो ।
 
त्यसपछि वर्षमा फाट्टफुट्ट गैंडा नमरेका होइनन् तर ७१ वैशाख २० यता भने चितवन निकुञ्ज र आसपासको जंगलमा समेत गैंडाको चोरी सिकार ठप्पै छ । ६७ यता पाँचवटा मात्रै गैंडा चोरी सिकारीले मारेको देखिन्छ । फरार रहेका कुख्यात सिकारी र तस्करहरु समाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय हुने गरेको छ ।
 
केन्द्रीयस्तरको वन्यजन्तु नियन्त्रण इकाइ र जिल्ला स्तरमा पनि इकाइ गठन भएको निकुञ्जले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । वनमन्त्री अध्यक्ष रहेको राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति पनि सक्रिय रहेका कारण चोरी सिकार नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ ।