मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

म मरेको रात (कथा)

म मरेको रात (कथा)


म मरेको रात यति चकमन्न अँध्यारो थियो कि, हावा पनि कत्ति बहेको थिएन । सुनसान रातमा जूनको प्रभाव सून्य थियो । घरमा कोलाहल मच्चिएको थियो । मेरा स्तब्ध परिवारजनप्रति सहानुभूति दिन छिमेकीहरु भेला भएर सान्त्वना प्रकट गरिरहेका थिए । साथीभाइहरु समवेदना बाँडिरहेका थिए । जसले मेरा परिवारजनलाई झनै मर्माहत बनाएको थियो । 
 
स्थानीय नेताहरु, कार्यकर्ताहरु आफ्नो पार्टीको झण्डा ओढाउन तम्तयार थिए । जीवनभर राजनीतिसँग नजोडिए पनि मेरो शवमाथि पनि राजनीति भइरहेको थियो । जीवनभर मेरो योगदानको मूल्यांकन गर्न नजान्नेहरु मुक्तकण्ठले प्रशंसा गर्न प्रशस्त समय खर्चिरहेका थिए । विचरा, असमयमै म¥यो भन्नेहरुको कमी थिएन । कतिले साह्रै असल थियो, सहयोगी थियो, हँसिलो थियो भनेर मेरो विशेषताबारे चर्चा गरिरहेका थिए । मलाई देखिनसहनेहरु पनि मान्छे घमण्डी भए पनि मनमा पाप नभएको व्यक्ति थियो भन्न छुटाएका थिएनन् । 
 
मेरो शवमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मेरा शुभेच्छुकहरु, साहुहरु, ऋणीहरु सबै उपस्थित भएका थिए । उनीहरु मेरो मलामीमा समेत सरिक भए । दर्जनौँ कार, मोटरसाइकल, ट्याक्टर र स्कूल बससमेत मलामी बोक्न ताँती लागेका थिए । मेरा छोराछोरी बाबा, बाबा भनेर अलापिरहेका थिए । श्रीमती अर्धचेत थिइन् । बाआमा, काकाकाकीहरु र मेरा दाजुभाइहरु मुच्र्छित थिए । एकोहोरो रुवाइले छिमेकीहरुमा समेत खल्लो बनाएको थियो । 
 
मेरो शवयात्रामा चोकचोकबाट मलामी थपिइरहेका थिए । जव मेरो शव देवघाटधाम पु¥याइयो, तव सबैले आ–आफ्नो सुर गरे । मेरो अन्त्येष्टिमा खटिनेहरु अत्यन्तै कम थिए । शक्ति प्रदर्शनका लागि मलामी बनेका भलादमीहरु सडकबाटै बाहिरिएका थिए । केही झोलुङ्गे पुल तरेर पारी भट्टीहरुमा सोमरसको साथ सुकुटी चपाइरहेका थिए । उनीहरु आपसमा ‘मर्ने मरेर गइहाल्यो’ भनेर शोकलाई शक्तिमा बदलिसकेका थिए । ‘अब हामीले चिन्ता गरेर पो के हुने हो र’ भन्दै सोमरसमा लठ्ठिएका भलाद्मीहरुले फर्किने बेला यस्तोसमेत भने– ‘साले पत्रकार हूँ भन्थ्यो, समाचार लेखिरहन्थ्यो, आज आफै समाचार बन्यो ।’
 
कतिले म मरेको सुर्तामा बिछट्टै रक्सी पिए । कोही खुसीयालीमा तीन बित्ता उफ्रिए होला । म मरेपछि मप्रति अनेक खाले टिप्पणीहरु आए । केही उद्यमी, व्यवसायी, पेसाकर्मी तथा साथीभाइले मेरो आत्माको चिरशान्तिको कामना गर्दै पत्रपत्रिकामा श्रद्धाञ्जली छपाए । यस्तो होड एकसातासम्म चलिरह्यो । मेरो पुण्यतिथिमा सरिक भएका सहयोगी, आफन्त, कुटुम्ब, छिमेकी तथा इष्टमित्रसँग मेरा परिवारले कृतज्ञतासहित लेनदेनको विषयमा जिज्ञासा राखे । धेरैले यस्तो बेला के लेनदेनको कुरा गर्नु भनेर औपचारिकता निर्वाह गरे । दिनु छ भन्नेहरु चुप भए । घरमा लिनु छ भन्नेहरुको नामावलि लामो रह्यो । बरु वास्तविक लिनुपर्नेहरु केही बोलेनन् । जीवनभर एक रुपैयाँको कारोबार नगरेकाहरुले लाजसरम पचाए । ईज्जत धरौटीमा राखेर भए पनि मलाई ऋणी बनाउनेहरु थुप्रै देखिए । उनीहरुमा अलिकति पनि धर्मको चेष्टा रहेको पाइएन । 
 
यतिबिध्न ऋण लगाएर मरेकोमा मेरा परिवारजनले धिक्कारे । उनीहरुले यस्तो त सपनामा पनि कल्पनै गरेका थिएनन् । उनीहरु मेरो असामयिक मृत्युमा मर्माहत त यसै थिए । त्यसमाथि ऋण बोकाएर गएकोमा झनै दुःखी भए । एक त परिवारको भरोसाको केन्द्र बनेको म मर्दा परिवारलाई ठूलो क्षति भएको थियो । त्यसमा पनि कुनै दिगो आयश्रोत नभएका मेरा परिवारका लागि ऋण थपेर जानु थप पीडाको विषय बनेको थियो । 
 
संयोग नै मान्नुपर्छ । मरेपछि बल्ल मेरा सिर्जनाको खोजी भयो । मेरा डायरीहरु पल्टाइए । सायरीहरु नियालिए । गजलहरु वाचन गरिए । कथाहरु, लेखहरु र यात्रा संस्मरणहरु पढिए । त्यसमध्येको एउटा डायरीमा म मर्नुअघिसम्म लिनुपर्ने र दिनुपर्ने विवरणहरु उतारेको थिएँ । सामान्यबाहेक सबै कारोबार स्पष्ट थियो । मलाई प्रेम गर्नेहरुले डायरी सार्वजनिक गर्ने सोच बनाए । तर कोही उपस्थित भएनन् । ज–जसको उपस्थिति थियो, उनीहरुसँग कारोबार नै थिएन । 
 
मलाई उदेक लाग्छ किन मान्छेहरु पाप–धर्मको ख्याल राख्दैनन ? पाँच हजार लिनुपर्नेले सजिलै ५० हजार लिनु छ भनेर कसरी भन्न सकेको होला ? यो संसार बडो विचित्रको रहेछ, जति बुझ्यो उति कठिन रहेछ । मान्छेहरु यति निर्दयी, यति निर्मोही भए कि, उनीहरुसँग शोक समवेदना प्रकट गर्न एक मिनेट धैर्य गर्ने समय पनि छैन । 
 
म मरेको रात मैले कहिल्यै बिर्सन्न । त्यसरात धेरैले मेरो फेसबुक वालमा समवेदना पोष्ट गरेका थिए । ‘आँखामा नबिझाउने मान्छे’ भनेर प्रतिक्रिया दिएका थिए । एकाध व्यक्ति यस्ता थिए, जो मरेपछि पनि मनमा राप पालेर बसेका थिए । ती जिउँदाहरु भित्रभित्र प्रफुल्लित भएका थिए । उनीहरुले म मर्दा आफ्नो विजय सम्झिरहेका थिए । मेरो मृत्युमा आफ्नो पदोन्नति भएको अहं बोकिरहेका थिए । उनीहरु मेरो मलामी पनि गएनन् । यतिसम्म कि मेरो नाम उच्चारण गर्दा पनि पराजित हुन्छु कि भन्ने त्रास बोकेरै बसिरहेका थिए । 
 
मलाई मलामी कमाउने सोच कहिल्यै आएन । जीवनभर सम्पत्ति कमाउने लोभ पनि जागेन । रहरै भएको भए पत्रकारिता पेसा रोजिने नै थिएन । अन्यन्त्र नबिकेर पत्रकारिता पेसा अंगालेको पनि होइन । क्षमता केही नभएर थन्किएको पनि होइन । समयले चाहेजस्तो कहाँ साथ दिन्छ र ? जे जस्तो भए पनि आधारभूत आवश्यकता पूरा गरियो । अन्यायभन्दा न्याय बढी गरियो । माया लिनेभन्दा बढी खन्याइयो । हात थाप्नुभन्दा बढी थपाइयो । 
 
म मरेको कतिले पत्याएनन् । पत्याउन् पनि कसरी ? मनुभन्दा ठीक दुई घण्टाअगाडि केही साथीहरुसँग चिया गफ गरिएको थियो । यसो गर्छु, उसो गर्छु भनेर योजना बनाइएको थियो । मोटरसाइकलमा ८/१० जना भएर भ्रमण गर्ने योजना बनेको थियो । योजनाअनुसार पोखरा, पाल्पा, तानसेनहुँदै रानीमहल घुम्ने र लुम्बिनी आएर शान्तिका अग्रदूत जन्मिएको भूमिमा केही घण्टा बिताएर मन शान्ति बनाएर फर्किने योजना बुनिएको थियो । यति राम्रो भ्रमण योजना पूरा गर्न नपाइकन मर्नुपर्दा मलाई असाध्यै पीडा महसुस भयो । यस्तो मरण भो कि परिवार-आफन्त-इष्टमित्र कसैसँग पनि अन्तिम भेट हुनै पाएन । परिवारका सदस्यसँग बसेर भलाकुसारी गर्नसमेत सकिएन् । 
 
कालले समय दिएर, संकेत गरेर आउने होइन रहेछ । जतिबेला मन लाग्यो प्याट्ट थुतेर लगिदिन्छ । जब म मरेँ, सांसारिक सुखभोगको नाटक मैले माथिबाटै नियाल्ने अवसर पाएँ । मान्छे केका लागि भौँतारिइरहेछ रात दिन ? वास्तविक सुख कहाँ छ ? र, शान्ति कहाँ छ ? त्यो सब महसुस गर्न पाएँ मैले । जीवन जिउने कला नसिक्दै मान्छेहरु जिइरहेको देखेँ । म कति दुःखी रहेछु, घमण्डी रहेछु सबथोक अनुभूति गर्न पाएँ । अव्यवस्थित जीवनशैली, अनावश्यक दौडधूप, केही हूँ भन्ने भ्रम सबै झुट रहेछ । यी सब आँखाको भ्रममात्र रहेछ । र, म मरेको यथार्थ पनि सरासर झुट पो रहेछ । 
 
आफै मरेको सपना देखेर मैले आफ्नो मृत्यु नजिकबाट नियाल्ने अवसर पाएँ । मृत्यु कति सत्य रहेछ भन्ने यथार्थ बोध गर्न सकेँ । चाहेर सबैले कहाँ आफ्नो मृत्यु अनुभूति गर्न पाउँछन् र ? यसमा भने मैले आफूलाई औधी भाग्यमानी सम्झिएको छु । कमसेकम साक्षात् मृत्यु र मृत्युपछिका घटनाक्रमहरु आफ्नै आँखाले नियाल्न पाएँ । 
 
म मरेको रातको यादले मलाई अझै पनि बारम्बार झस्काइरहन्छ । त्यसपछि मलाई लाग्छ, मैले नयाँ जीवन पाएको छु । ‘बोनस’को जीवन ठानेर अघि बढिरहेको छु । सोच्छु– सकेसम्म अन्याय नहोस् मबाट । सकभर कीरा पनि नमरोस् म हिँड्दा । त्यही मरेको रातबाट हो म परिवर्तन भएको । मेरो सोचाइ र व्यवहारसमेत परिवर्तित हुन थालेका छन् । नास्तिकसमान थिएँ म । अहिले पूर्ण आस्तिक भएको छु । जसलाई दुस्मन देख्थे मेरा आँखाहरु अहिले उनीहरुभित्र साक्षात् भगवान् देखिरहेको छु । 
 
म पटकपटक मरेर बाँचेको छु । कति पटक बाँच्दा बाँच्दै मरेको पनि छु । ढिलो चाँडो हो मैले देखेको सपना एकदिन सत्य सावित हुनेछ । मलाई मृत्युपछिका मलामीको शक्ति प्रदर्शन होइन्, बाँचुञ्जेल सच्चामित्र चाहिएको छ । जो मेरो दुःख–सुखमा मसँगै सहकार्य गर्न सकोस् । र, म पनि त्यस्ता मित्रहरुका लागि मर्नसमेत तयार बन्न सकुँ । (कथाकार चितवनका सक्रिय पत्रकार हुन् ।)