धादिङ । गत वर्षको वैशाख १२ र २९ गतेको भूकम्पपछि समस्यामा परेका गाउँवासीको दैनिकीलाई सहज बनाउन गाउँ–गाउँमा सञ्चालन गरिएको कामका लागि खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
यूएसए आइडीको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रमअन्तर्गत धादिङ जिल्लाको ६ वटा गाविसमा संचालन गरिएको कामका लागि नगद कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बसेरी, बूढाथुम, आगिन्चोक, फूलखर्क, मुलपानी र सल्यानटार गाविसमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
भूकम्पछि भत्किएका संरचनाहरुको पुनर्निमार्ण गर्ने र त्यसमा स्थानीयवासीको प्रत्यक्ष संलग्नता गराई उनीहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कामका लागि नगद कार्यक्रम सञ्चालन भएको हो । भूकम्पले भत्काएका बाटो, खानेपानीको मुल संरक्षण, कुलो मर्मतलगायतका योजनाहरुमा कामका लागि नगद सहयोग गरिएको सहयात्री नेपालका कार्यक्रम व्यवस्थापक रमेश अधिकारीले बताए ।
कार्यक्रमअन्तर्गत बसेरी गाविसमा ८ सय ५३ खेतालाको ५ लाख ९७ हजार १ सय रुपैयाँ, बुढाथुम गाविसमा १ सय ४० खेतालाको ९७ हजार रुपैयाँ, आगिन्चोक गाविसमा ४ सय ७१ खेतालाको ३ लाख २९ हजार ७ सय रुपैयाँ, फूलखर्क गाविसमा १ सय ९६ खेतालाको १ लाख ३७ हजार २ सय रुपैयाँ, मुलपानी गाविसमा ३ सय ९१ खेतालाको २ लाख ७३ हजार ७ सय रुपैयाँ र सल्यानटार गाविसमा २ सय ८८ खेतालाको २ लाख १ हजार ६ सय रुपैयाँ गरी जम्मा १६ लाख ३७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । सबै गाविसमा प्रतिव्यक्ति प्रतिदिन ७ सयका दरले रकम सहयोग उपलब्ध गराइएको अधिकारीले जानकारी दिए ।
यस्तै बसेरी गाविसमा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ११ जनालाई जीविकोपार्जन सहयोग उपलब्ध गराइएको छ । भूकम्पपछि समस्या परेका अतिविपन्न, एकल महिला, घरमुली महिला, हिंसा प्रभावित महिलाहरुलाई उनीहरुको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले ११ जना व्यक्तिलाई प्रतिव्यक्ति २३ हजार ४ सय ४५ रुपैयाँका दरले २ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ सहयोग गरिएको छ ।
भूकम्पपछि निकै कष्टकर बन्न गएको आर्थिक अवस्थामा सुधार ल्याउन र गाउँमा हुने कामहरुमा ज्याला मजदुरी गर्ने मान्छे नपाइने अवस्थाको अन्त्य गर्न कामका लागि नगद कार्यक्रम निकै प्रभावकारी भएको बसेरीका स्थानीयवासी हिरामाया घलेले बताइन् ।
‘घर पनि थिएन, कमाई गर्ने आधार पनि थिएन, घर व्यवहार चलाउनै धौ–धौ भएको बेला कामका लागि नगद कार्यक्रम आएपछि घर खर्च चलाउन सजिलो भएको घलेको भनाइ थियो ।
प्रतिक्रिया