मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संघर्षले खारिएका महिला उद्यमी

संघर्षले खारिएका महिला उद्यमी


चितवन । पञ्चर टाल्नका लागि साइकलको चक्का र टायरको जोरमा फलामको अङ्कुशे घुसाएर टिउ निकाल्दै हुनुहुन्छ मेघौलीकी सोमिया चौधरी । कुनै पुरुष साइकल मिस्त्रीभन्दा कम हुनुहुन्न । पश्चिम चितवनको मेघौलीस्थित पिपरा गाउँकी ३५ वर्षीया सोमिया चौधरीलाई अहिले भ्याइनभ्याई छ । प्रहरी तथा स्थानीय गाउँलेका साइकल मर्मतमा उहाँ सक्रिय हुनुहुन्छ ।
 
तीन वर्षदेखि गाउँमा साइकल मर्मत गर्ने नमुना काममा लाग्ने उहाँ पहिलो महिला हुनुहुन्छ । श्रीमान्लाई समेत उहाँले साइकल बनाउन सिकाउनुभयो ।
 
“सुरु सुरुमा यो काम गर्दा महिलाले नै छि छि कालो लाग्ने काम गरेको भनेर जिस्काए, अहिले उनै महिला मेरो काम देखेर खुसी हुन्छन्, साइकल बनाइदिनु प¥यो भन्दै आउँछन्,” सोमियाले भन्नुभयो ।
 
मेघौलीको जीतपुर बजारमा उहाँले साइकल बनाउने काम सिक्नुभयो । साइकलबाटै अहिले दिनमा रु ४÷५ सय कमाइ हुन्छ सोमियाको ।
 
केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्रमार्फत बनेको ‘सक्षम कार्यक्रम’ले उहाँलाई साइकल बनाउन सक्षम बनाएको हो ।
 
सक्षम कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारीले श्रीमान्लाई समेत साइकल बनाउन सिकाएर गाउँमै नमुना महिलाको रुपमा सोमियाले पहिचान बनाएको जानकारी दिनुभयो ।
 
अहिले उहाँ सिर्जना महिला छलफल केन्द्रकी सदस्य हुनुहुन्छ । महिनामा रु २० बचत गर्ने गरिएको छ । समूहबाट रु १० हजार ऋण लिएर उहाँले साइकल पसलमा ¥याक थप्नुभयो ।
 
रु चार हजारमा केही अपुग सामान थपियो । सिकेको बेलामा एकसरो मर्मतका सामान रिङ, टायर, तार, रेन्ची, निप्पल, धुरालगायत संस्थाले नै दिएको उहाँको भनाइ छ ।
 
सुरुमा दुई महिनाको सामान्य तालिम र पछि फेरि दुई महिनाको विशेष तालिम लिएपछि साइकल बनाउन पोख्त हुनुभएकी सोमियाले भन्नुभयो – “म जस्तोसुकै बिग्रिएको साइकल पनि बनाउन सक्छु । अझ अहिले त श्रीमान्लाई समेत सिकाइसकेकी छु ।” आफूलाई श्रीमान्ले पनि सघाउने उहाँले भनाइ छ ।
 
“पहिले महिलाले कालो हात बनाउनभन्दा घरमै बसेको ठीक भनेर कति गिल्ली गर्थे, केटाले जिस्काउँथे, अहिले सबै राम्रो भन्छन्,” उहाँले विगत सम्झँदै भन्नुभयो ।
 
बाटोमा साइकल बिग्रिएर डो¥याउँदै हिँडेको मान्छे देखिए बोलाएरै उहाँ साइकल टालिदिने गर्नुहुन्छ । उहाँ मोटरसाइकलको पञ्चर समेत टाल्न सक्ने बन्नुभएको छ ।
 
आएको आम्दानीमध्ये उहाँले साना किसानमा मासिक रु २००, अर्को सहकारीमा रु २०० र विभिन्न समूहमा रु १०० गरी मासिक रु ५०० बचत गर्ने गर्नुहुन्छ । साइकल बनाउन लिएको ऋणसमेत तिरिसकिएको छ । स्थानीय शिला परियार यस्ता केही गर्छु भन्ने महिलाका लागि यहाँ अवसर भएको बताउनुहुन्छ । सोमियाको पौरखलाई अहिले सबैले प्रशंसा गर्ने गरेको परियारले बताउनुभयो ।
 
सोमिया जस्तै सङ्घर्ष गरेर सफलता पाउनेमा ३८ वर्षीया जितरानी थरुनी ९महतो० पनि हुनुहुन्छ । नारायणी नगरपालिका–२ की जितरानीका सुरुका कथा सम्झँदा आँसु चुहिन्छ । छोटो कुराकानीमै उहाँ भक्कानिनुभयो ।
 
बिहे भएको केही वर्षमै परिवारले घरबाट निकाली दिए । उहाँलाई केही समय केराघारीमा बस्नुप¥यो । पछि माइतीबाट समेत साथ नपाएपछि अर्काको घरमा आश्रित भएर ज्याला मजदुरी गर्न पुग्नुभयो ।
 
फेरि आफ्नो पुख्र्यौली क्षेत्रमा फर्किएर उहाँको पुनः सङ्घर्ष सुरु भयो । “गाउँमा खुलेको शान्ति महिला छलफल केन्द्रले मेरो जीवन नै परिवर्तन गरिदियो,” जितरानीले भन्नुभयो – “अहिले भने टेलर गरेर आफ्नो परिवार सजिलै पाल्न सक्ने भएकी छु ।”
 
कालिका संस्थामार्फत खुलेको छलफल केन्द्रले उहाँलाई सिलाइकटाइ सिकायो । बोल्न र अधिकारको कुरा गर्न सिकायो ।
 
सुरुसुरुमा हँसियाले काटेर भोटा सिउने अनुभव थियो जितरानीसँगै । त्यही अनुभवले तीन महिनामा सिलाइकटाइ सिक्न गाह्रो नभएको उहाँको प्रतिक्रिया छ । अहिले तीन वटा कल घरमा राख्नु भएको छ । लक मेसिन पनि छ । “गाउँलेको कपडा सिलाउन भ्याइनभ्याई छ,” जितरानीले सन्तोष मान्दै भन्नुभयो – “दुःखका दिन गएजस्तो लाग्छ अहिले ।”
 
फरक जीवन कथा भए पनि उस्तै सङ्घर्ष भोग्नुभएको छ मेघौली जीतपुरकी मीना बोटले पनि । विपन्न परिवारकी बोटलाई केही वर्ष अघिसम्म अरुसँग राम्ररी बोल्न आउँदैनथ्यो ।
 
विसं २०६८ मा नमुना महिला छलफल केन्द्र गठन भयो । डराइडराई सो केन्द्रमा पुग्नुभएकी मीना अहिले गाउँकी अगुवा महिला भएर निस्कनुभएको छ । उहाँ अहिले बाटो ग्राभेल उपभोक्ता समितिमा सचिव, मेसजाली उपभोक्ता समितिमा सदस्य, शौचालय व्यवस्थापन समितिमा कोषाध्यक्ष, जनजाति महासङ्घमा सदस्य र महिला सञ्जालमा सदस्य हुनुहुन्छ ।
 
सरकारी कार्यालयमा कहाँकहाँ र कसरी बजेट आउँछ भनेर पनि आफूले पूर्ण जानकारी राख्ने गरेको उहाँले बताउनुभयो । यसरी गाउँमा छलफल केन्द्रकै माध्यमबाट आठ वटा समूहमा मेघौलीका १८३ महिला सङ्गठित भएका छन् । अधिकांशका जीवनमा सङ्घर्ष पछिको सफलता देख्न सकिन्छ ।
 
विपन्नमध्येका पनि अतिविपन्नलाई छानेर सुरु गरिएको सक्षम कार्यक्रम प्रभावकारी भएको देख्दा खुसी लाग्ने कार्यक्रमकी फिल्ड अधिकृत सरस्वती अधिकारी बताउनुहुन्छ ।
 
ती महिला हरेक समूहमा बचतसमेत सङ्कलन गरेर आइपरेका समस्या आफैँ समाधान गर्न र ऋण लगानी गर्नसमेत सक्षम छन् ।