मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हजारौँ बालबालिका परिवारविहीन अवस्थामा

हजारौँ बालबालिका परिवारविहीन अवस्थामा


लुम्बिनी (रूपन्देही) । नेपालका हजारौँ बालबालिका परिवारविहीन अवस्थामा रहेको पाइएको छ । त्यसैगरी आमाबुबा तथा परिवारको हेरचाहबाट वञ्चित बालबालिकाको सङ्ख्या पनि बढ्दै गएको तथ्य फेला परेको छ ।
 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र एसओएस बालग्राम नेपालले संयुक्तरूपमा तयार पारी जारी गरेको रूपन्देहीका आवासीय बालगृहको अध्ययन प्रतिवेदनअनुसार नेपालमा ३९ हजार ८८८ बालबालिका परिवारविहीन अवस्थामा रहेको पाइएको हो । यसमध्ये आठ हजार १२५ जना पारिवारिक संरक्षणविहीन, २० हजार ५४९ जना परिवारमा वयस्क नभई बालबालिका मात्र भएका र दुई हजार ३१२ जना आफन्तको संरक्षणमा रहेको पाइएको हो ।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल ५४ लाख २७ हजार ३०२ घरधुरीमध्ये ७३ हजार ७२८ मा १० देखि १९ वर्ष उमेर समूहका बालबालिका घरमूली रहेको पाइएको छ भने तीमध्ये सात हजार ४०३ घरधुरीमा १० देखि १४ उमेर समूहका बालबालिका घरमूलीको रूपमा रहेको अध्ययनले देखाएको छ । परिवारविहीन रहेका बालबालिकामध्ये केही बालबालिका आफन्त तथा नातेदारको संरक्षणमा छन् । केहीले आफैँ घरमूलीको रूपमा बसेर आफूभन्दा साना बालबालिकाको हेरचाह गर्ने गरेका छन् ।
 
यसमध्ये केही बालबालिका भने आवासीय बालगृहको संरक्षणमा रहेका छन् । तर बालगृहको संरक्षणमा आएका कतिपय बालबालिकाको अवस्था अझै पनि अज्ञात रहेको छ ।
 
रूपन्देहीका बालगृहमा बस्न आएका बालबालिकामध्ये विभिन्न आवासीय बालगृहमा रहेका आठ जना बालबालिका अवस्था अज्ञात रहेको पाइएको छ । जिल्लामा रहेका सात वटा आवासीय बालगृहमा आश्रित बालबालिकाको अवस्थाबारे सार्वजनिक भएको प्रतिवेदनमा आठ जना बालबालिकाको अवस्था अज्ञात देखिएको हो ।
 
अध्ययनका क्रममा जिल्लामा सञ्चालित सातवटा बालगृहमा २८२ जना बालबालिका रहेको भेटिए पनि हालको अध्ययनमा बालगृहमा जम्मा २७४ बालिबालिका मात्र संरक्षित रहेको देखिएको छ ।
 
केन्द्रीय बाल कल्याण समिति २०७१ को नेपाली बालबालिकाको स्थितिअनुसार यस जिल्लाका बालगृहमा ११८ बालिका र १६४ बालक गरी २८२ जना हुनुपर्नेमा आठ जना बालबालिका कम देखिएका छन् । प्रतिवेदनमा एक जना बालिका र सात जना बालकको अवस्थाबारे केही उल्लेख गरिएको छैन ।
 
प्रतिवेदनअनुसार रूपन्देहीका आवासीय बालगृहमध्ये सबैभन्दा बढी १५० जना बालबालिका एसओएस बालग्राम लुम्बिनीमा र सबैभन्दा कम नौ जना बालबालिका रुद्रपुर अनाथ आश्रममा रहेका छन् । संरक्षित बालबालिका सातदेखि ११ वर्ष उमेर समूहका धेरै छन् ।
 
रूपन्देहीमा २०७१ वैशाख २१ देखि २६ गतेसम्म स्थलगत अन्तर्वार्ता, सरकारी निकायका सरोकारवाला समूहलगायतको विषयगत कार्यालयसँगको समन्वयमा प्रतिवेदन तयार गरिएको ‘मेरो हेरविचार गर्नुहोस्’ नामक परियोजनाकी संयोजक तथा एसओएस बालग्राम नेपालकी नायब निर्देशक सुषमा पोखरेलले बताउनुभयो ।
 
एसओएस बालग्राम नेपाल र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त प्रयासमा आवासीय बालगृहको गुणस्तरीय हेरचाहसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको हो ।
 
अध्ययनका क्रममा गरिएको अनुगमनअनुसार रूपन्देहीका आवासीय बालबालिकाले प्राप्त गर्नुपर्ने आधारभूत सेवाअनुसार शिक्षा र स्वास्थ्यमा आवश्यक पहुँच पुगे पनि हेरचाहका प्रावधानमा भने सन्तोषजनक प्रगति हुन नसकेको देखिएको छ । हेरचाहअन्तर्गत मनोसामाजिक तथा मनोविमर्श सेवामा संस्थागत हेरचाहमा रहेका बालबालिकाको पनि एकदमै न्यून उपस्थिति देखिएको छ ।
 
कर्मचारी तहमा कुनै पनि आवासीय बालगृहमा मनोविमर्शकर्ता छैनन् । त्यसैगरी बालसंरक्षण संयन्त्रअन्तर्गत आवासीय बालगृहमा कार्यरत कर्मचारीमा बालसंरक्षण सवालप्रतिको चेतना तथा जानकारी पनि न्यून मात्रामा रहेको पाइएको छ । 
 
त्यसैगरी ती बालगृहमा बालबालिकाको सहभागिता प्रवद्र्धनका लागि आवासीय बालगृहले बालगृहभित्रै बाल क्लब गठन गरी सहजीकरण गर्नुपर्ने प्रावधान भए पनि त्यसो हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
 
प्रतिवेदनले बालगृहमा रहेका बालबालिकामध्ये धेरै बालबालिका परिवार विखण्डनका कारण परित्याग हुने अवस्थामा भएको उल्लेख गरेको छ । राष्ट्रियस्तरको प्रतिवेदन सन् २०१६ को डिसेम्बर २२ मै सार्वजनिक भए पनि आठौँ जिल्लाको रूपमा रूपन्देहीमा जिल्लास्तरीय प्रतिवेदन सार्वजनिक गरिएको हो । आठ बालबालिकाको अवस्था अज्ञात रहेको बालगृहको अनुगमन गर्ने महिला तथा बालबालिका कार्यालयकी प्रमुख उषा रावलले बताउनुभयो । 
 
बालगृहबाट बालबालिकाको परिवारमा पुनःस्थापना भएको हुनसक्ने आशङ्का उहाँको थियो । तर कुन बालगृहबाट कति जना बालबालिकालाई परिवारको जिम्मा लगाइयो भन्ने प्रश्नको जवाफ भने उहाँसँग छैन । 
 
सार्वजनिक प्रतिवेदनमा गायब देखिएका आठ जना बालबालिकाको विषयमा रूपन्देही प्रमुख जिल्ला अधिकारी एवम् बाल कल्याण समितिका संयोजकसमेत रहेका विष्णुप्रसाद ढकालले छानबिन गर्ने बताउनुभएको छ । रासस