मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यार्थीले फेरे गाउँको मुहार

विद्यार्थीले फेरे गाउँको मुहार


सिम्जुङ (गोरखा) । औपचारिक शिक्षासँगसँगै यहाँका विद्यार्थी आफ्नो घर, विद्यालय र समुदायस्तरमा सरसफाइ अभियानमा जुट्न थालेका छन् । प्रत्येक शनिबार बिहान हातमा कुचो, झाडु लिएर फोहर उठाउँदै त्यसको उचित व्यवस्थापन गर्ने गर्दछन् ।
 
आफ्ना छोराछोरी नै यसरी टोलटोलमा पुगेर सरसफाइको मह¤वका बारेमा जानकारी गराउने र जथाभावी फोहर नफाल्न अनुरोध गरेपछि अभिभावक पनि सहभागी भएका छन् । 
 
‘सुरुमा त टोलटोलमा गएर सरसफाइका बारेमा अभिभावकलाई जानकारी गराउँदा कुनै सहयोग पाउन सकिएको थिएन तर विस्तारै उहाँहरुमा पनि यससम्बन्धी चेतना अभिवृद्धि भएपछि अहिले निकै सजिलो भएको छ’ – वडा नं ८, बाल क्लबका अध्यक्ष अनिल देवकोटा भन्छन् । 
 
केही वर्षअघिसम्म जथाभावी फोहरमैला र दिसापिसाबले बाटो, गल्ली दुर्गन्धित हुने गर्दथ्यो । २०७० मङ्सिर २८ गते यस गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । घर र विद्यालयमा शौचालयको व्यवस्था भएकाले खुल्ला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्य भएको छ । अहिले विद्यार्थीकै पहलमा यो गाउँ जिल्लाकै सफा र स्वच्छ गाउँका रुपमा परिचित भएको समाजसेवी ऋषिराम लामिछाने बताउँछन् । 
 
शिक्षा विभाग र युनिसेफको अध्ययनमा नेपालका विद्यार्थीमध्ये ४३ प्रतिशत छात्र र ३१ प्रतिशत छात्राको मात्र शौचालयमा पहुँच रहेको देखिए पनि यहाँ यो अवस्था रहेको देखिँदैन । यहाँका विद्यालयमा शौचालयको उपयुक्त व्यवस्था भएकाले पढ्न जाने उमेरका विद्यार्थी विशेषगरी छात्राको सङ्ख्या उल्लेख्य बढेको सिम्जुङ खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका निर्देशक ईश्वरी भाक्री बताउँछन् । 
 
एक उच्च माविसहित सात विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत छन् । यस गाविसमा २०७० सालमा सो परियोजना लागू भएपछि नै हप्तामा एक दिन हरेक विद्यालयमा सरसफाइसम्बन्धी अतिरिक्त शिक्षा दिन सुरु गरिएको नेवाकी वरिष्ठ स्वास्थ्य तथा सरसफाइ सहजकर्ता समिष्ठा ढकाल बताउँछन् । यसमा हात धुने तरिका, पिउने पानीको शुद्धता, छात्राले रजस्वला हुँदा स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिने गरिएको उनको भनाइ छ । 
 
विद्यार्थीले हरेक वडास्तरमा बाल क्लब पनि गठन गरी हप्तामा एक सरसफाइ कार्यक्रम गर्ने गर्दछन् । प्रत्येक क्लबमा आठदेखि १६ वर्ष उमेरका १३ जना सदस्य आबद्ध रहेका छन् । दुई वर्षमुनिका बच्चाका आमालाई पनि स्वास्थ्य र सरसफाइ अभियानमा संलग्न गराउन वडास्तरमा स्वस्थ आमा समूह पनि गठन गरिएको छ । परियोजनाबाट प्रशिक्षित स्थानीयवासी चारजना सहजकर्ताले उनीहरुलाई टोल शिक्षा, विद्यालय सरसफाइ शिक्षाको व्यवस्थापन गर्ने गर्दछन् ।
 
सरसफाइसम्बन्धी जनचेतना नहुँदा विगतमा विभिन्न संस्थाले निर्माण गरिदिएका शौचालय पनि कतिपय घरमा प्रयोगविहीन रहेकामा अहिले राम्रोसँग सञ्चालन भएको हिमालय उच्च माविका प्राचार्य इन्द्रकुमार मिश्र बताउँछन् । सरसफाइबारे विद्यार्थीको सक्रियताले समुदायमा सकारात्मक परिवर्तन आएको उनको ठम्याइ छ । 
 
नेवाले यस गाविसमा रहेका छ वटा विद्यालयमा शौचालय र खानेपानीमा सहयोग गरेको छ । पोखराटार–ढोडेनी र बालुवा–माउसुली खानेपानी योजना निर्माण गर्नुका साथै सबै विद्यालयमा धारा तथा शौचालय निर्माणमा सहयोग गरेको छ । विद्यालयमा खानेपानीको सुविधा पनि भएकाले विद्यार्थीहरु पानी पिउन पहिलेजस्तो टाढा भौंतारिनुपर्ने वाध्यता छैन ।
 
गत वैशाख १२ गतेको भूकम्पले यहाँका ९५ प्रतिशत घर ध्वस्त बनाएको थियो भने ४५ घरायसी शौचालय पूर्णरुपमा क्षति भएको छ । केही वर्षअघि निर्माण गरिएको शौचालय पनि गत वैशाखको भूकम्पमा पूर्णरुपमा क्षति भएपछि शौचालयको अभावमा केही समय यहाँँका सबैजसो विद्यालयमा पठनपाठनमा समस्या आएको थियो । अहिले नेवाको पहलमा व्यवस्थित शौचालय निर्माण भएकाले पठनपाठनमा समेत सहजता आएको जीवनज्योति निमाविका प्रधानाध्यापक द्रोणाचार्य दवाडी बताउँछन् । 
 
विद्यालयमा पहिले एउटैमात्र शौचालय त्यो पनि साँघुरो हुँदा सबैजना पालो गरेर जानुपर्दा सधैँजसो कक्षा नै छुट्ने गरेको अनुभव सुनाउँदै कक्षा ८ मा अध्ययनरत सुष्मा घले भन्छिन्– ‘अझ हामी छात्रालाई त पर सरेको बेला शौचालयमा पानी नहुँदा विद्यालय नै आउन मुस्किल थियो ।’ अब व्यवस्थित शौचालय भएपछि पालो कुर्नुपर्ने वा विद्यालय नै आउन असुविधा हुने समस्या नभएको अर्की छात्रा सुनिता गुरुङ भन्छिन्– ‘अहिले छात्र र छात्राका लागि अलग्गै शौचालय निर्माण भएको र पानीको व्यवस्था भएकाले विद्यालयमा पढ्ने वातावरण सहज बनेको छ ।’
 
नेपालमा करिब २९ हजार सामुदायिक विद्यालय छन् । शिक्षा विभागको २०१३ को अध्ययनअनुसार नेपालका ६९ प्रतिशत सामुदायिक विद्यालयमा छात्राका लागि छुट्टै शौचालय रहेको छ भने ८० प्रतिशत विद्यालयमा कम्तीमा एउटा शौचालय रहेको देखाएको भए पनि भूकम्पले प्रभावित जिल्लाका अधिकांश विद्यालयका शौचालय भत्किएका छन् ।
 
हाल सामुदायिक विद्यालयका १६६ छात्राले सरदर एक शौचालय प्रयोग गर्ने गरेकामा सन् २०१७ सम्म हरेक ५० छात्रामा एक शौचालयको अवधारणा ल्याइएको छ । रासस