मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिमालय एअरलाइन्सको पहिलो जेट विमान काठमाडौंमा

हिमालय एअरलाइन्सको पहिलो जेट विमान काठमाडौंमा


फाल्गुन २६, २०७२- नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सको पहिलो जेट विमान बुधबार काठमाडौंमा आइपुगेको छ ।
 
चीनको छेन्दुबाट तिब्बत एअरलाइन्सका पाइलटहरुले उडाएर ल्याएको यो जेट विमान युरोपेली कम्पनी एयरबसको ए–३२० सिरिज हो । नाइनएन–एलएलएम रजिष्ट्रेशन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि एअरलाइन्सले वाटर क्यानन (पानी फोहोरा) ले सलामी र मंगल धुनले स्वागत गरेको थियो ।
 
‘पहिलो जहाजलाई स्वागत गर्न पाएकोमा निकै गौरव महसुस भएको छ,’ एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यस्ले नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न थप मद्दत पुर्‍याउने छ ।’ उनले नयाँ जहाजको आगमनले नेपालको नागरिक उड्ययन क्षेत्रमा एक अध्याय थप भएको प्रतिक्रिया दिएका छन् । ‘म विश्वस्त छु कि हिमालय एअरलाइन्सले   देशको पर्यटन क्षेत्र प्रबर्द्धन गर्ने उद्धेश्य लाई टेवा पुर्‍याउने छ ।’  
 
एअरलायन्सको ब्रान्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभागका अनुसार, यस्मा १ सय ५८ वटा सिट छन् । जसमध्ये ८ वटा बिजनेश र बाँकी १ सय ५० वटा इकोनोमी श्रेणीका रहेका छन् । यस्ले काठमाडौं विमानस्थललाई हब बनाउँदै सुरुमा भारतको राजधानी दिल्ली र कतारको राजधानी दोहामा उडान भर्ने विभागकी अधिकृत सहिष्णु पौड्यालले बताइन् ।
 
उनले आगामी अप्रेलदेखि उडान हुने भनिए पनि एकिन उडान तालिका तय हुन बाँकी रहेको बताइन् । कम्पनीले व्यापारिक उडानको सबै तयारी पूरा भइसकेको भनेको छ । यो कम्पनी यी दुई गन्तव्यपछि चीनको ल्हासा, चेंगदु र बेइजिङ्ग पनि उडान भर्ने योजना रहेको विज्ञप्ती मार्फत भनेको छ ।
 
यस्ले आगामी ५ वर्षभित्र एयरबसको ए–३२० सिरिजसहितका १५ वटा विमान थपेर जापान, कोरिया, युरोप, अमेरिका र अष्ट्रेलियासम्मको उडान गर्ने भनेको छ । सुरुमा विहान भारत र राति दोहा उडान भर्ने तालिका बनाएको कम्पनीले गत शुक्रबार कतारमा टिकट बिक्री गर्न सेलोपत्र ट्राभल्सलाई एजेन्टका रुपमा छनौट गरिसकेको छ ।
 
यस एअयरलायन्समा नेपाली कम्पनी यती इन्भेस्टमेन्ट समूह र चिनियाँ वायुसेवा कम्पनी तिब्बत एअरलायन्स आवद्ध छन् । साढे २ अर्ब लगानी रहेको कम्पनीमा नेपाली साझेदारको ५१ र तिब्बत एअरलायन्सको ४९ प्रतिशत लगानी रहेको छ । नेपालबाट हाल सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा निगमले भारत, कतार, मलेसिया, हङकङ, थाइल्याण्ड तथा  निजीबाट बुद्ध एयरले भारतमा अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् । यो सूचीमा अब हिमालय पनि थपिएको छ ।
 
हिमालयअघि निजी क्षेत्रबाट अन्तराष्ट्रिय उडान अनुमति लिएको बिबि एयरवेजले विमान अभावका कारण सेवा बन्द गरेको छ ।साभार: कान्तिपुर