मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस महाधिवेशनमा ६४ पदमा ३१५ उम्मेद्वार

कांग्रेस महाधिवेशनमा ६४ पदमा ३१५ उम्मेद्वार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको विभिन्न पदका लागि भोलि आइतबार निर्वाचन हुनेछ । नयाँ नेतृत्व चयन प्रक्रियामा ६४ पदमा ३१५ जनाले उम्मेद्वार दिएका छन् । 
 
मनोनयन फिर्ता लिन दिइएको शनिबार अपरान्हसम्ममा ६० जना सदस्यहरुले विभिन्न पदबाट उम्मेद्वारी फिर्ता लिएपछि अब बाँकी रहेका प्रत्यासीबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ । तीन नेताको प्यानल चुनावी मैदानमा छ ।
 
महामन्त्री र कोषाध्यक्ष पदका लागि पौडेल नेतृत्वको प्यानलबाट क्रमशः शशांक कोइराला र सीतादेवी यादव, देउवा नेतृत्वको प्यानलबाट क्रमशः अर्जुनरसिंह केसी र चित्रलेखा यादव तथा सिटौलाको समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी चुनावी मैदानमा उत्रिएका छन् । कोषाध्यक्ष पदमा यी कुनै समूहमा नबसी कृष्ण कार्कीले पनि उम्मेद्वारी दिएका छन् ।
 
खुला २५ जना केन्द्रीय सदस्यको निर्वाचनमा ९० जना उम्मेद्वार रहेका छन् । महिला आरक्षणतर्फको ६ सिटमा ३८ जना, प्रदेश तर्फ २ पदका लागि एक नम्बर प्रदेशमा १३ जना, २ मा ५ जना, प्रदेश नम्बर ३ मा १८, प्रदेश ४ मा ९, प्रदेश ५ मा १० प्रदेश ६ मा ५ र सात नम्बर प्रदेशमा ७ जना उम्मेद्वार रहेका छन् ।
 
जनजाति पुरुष ३ पदका लागि ४० जना महिला २ सिटका लागि १२ जना, दलित पुरुष ३ पदका लागि २० जना, महिला २ पदका लागि ५ जनाको उम्मेद्वारी कायम रहेको छ ।
 
मधेसी आरक्षण तर्फको पुरुष ३ पदका लागि १५ जना, मधेसी महिला २ सिटका लागि ९ जना र मुस्लिम १ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ ।
 
विधान संशोधन गर्न माग 
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले १३ औँ महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरेका छन् ।
 
महाधिवेशन बन्द सत्रको दोस्रो दिन शनिबार छलफलमा सहभागी जिल्ला सभापतिले पार्टीको सुदृढीकरण र नयाँ संविधानअनुसार विधान संशोधनको माग गरेका हुन् । तेह्रथुम कांग्रेस सभापति गोविन्द ढुङ्गानाले सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गरे ।
 
सुनसरी कांग्रेस सभापति राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डीमात्र भएको गुनासो गर्दै सङ्घीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपूर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गरे ।
 
धादिङ कांग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए । सबैभन्दा कान्छा सभापतिका रूपमा रहेका चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले १२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भने पनि त्यसको भोलिपल्टदेखि नै  ६०÷४० को भागबण्डा सुरू भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताए ।
कास्की कांग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको सशस्त्र द्वन्द्वमा मारिएका तथा पीडित कांगे्रस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राखे । 
 
गुल्मी सभापति भुवन श्रेष्ठ र मोरङ सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गरे । बन्दसत्रमा शनिबार भाग लिएका जिल्ला सभापतिहरूले मञ्चमा न्यून सङ्ख्यामा केन्द्रीय पदाधिकारी तथा सदस्य उपस्थिति रहेकोमा आक्रोश पोखेका थिए । बन्दसत्रले शनिबार शुक्रबार पेस भएका तीनवटै प्रतिवेदन पारित गरेको छ ।
‘सरकारको नेतृत्वमा ध्यान छैन’
 
कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले सरकारको विषयमा आफूले कुनै प्रतिक्रिया नजनाउने बताएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा शनिबार साँझ भएको पत्रकार सम्मेलनमा पौडेलले पार्टी अधिवेशनमा व्यस्त भएकाले सरकारको नेतृत्व र सहभागिताको विषयमा कुनै ध्यान नदिएको बताए । उनले भने, ‘नयाँ नेतृत्व आएपछि पार्टीले सदनमा आफ्नो भूमिका खेल्ने बताए । ‘सदनमा गएर जे भूमिका खेल्नुपर्छ अपोजिसनले त्यो गर्छ ।’