चितवन, ९ फागुन । पुराना दिन सम्झँदा जितरानी महतो डाँको छाडेर रुनमात्रै सक्दिनन् । उनले एक होइन, अनेक हण्डर बेहोर्नु परेको थियो । सानैदेखि उनको रुची थियो–लुगा सिलाउने ।
दुःखको सागरमा डुबेका बेलामा उनले सानो उमेरको त्यही रहरलाई तिखार्ने मेसो निकालिन् । दुःखका भारी पन्छाउँदै कपडा सिलाउन थालेपछि यतिबेला उनका सुखका दिन सुरू भएका छन् । जितरानीको माइती बर्दियाको कतरनिया धदवार हो ।
जितरानीको नेपाली सेनामा कार्यरत रहँदा बर्दिया पुगेका चितवन मेघौलीका विक्रम महतोसँग बिहे भयो । अहिले मेघौली हवाइ मैदान नजिकैको सिसौघारीमा बस्छन् उनीहरु । जुन जग्गा ऐलानी हो ।
विक्रमले ६० सालमा सेनाको जागिर छाडेपछि उनीहरुको दुःखका दिन सुरु भए । मेघौली गाविसले ९ महिने सिलाइकटाइ तालिमको सूचना निकाल्यो । ससुराले तालिमका लागि जितरानीको नाम लेखाए पनि सासूबाट नाम काटिएको उनी बताउँछिन् । सासूले नाममात्र काटिनन् सुकुमबासी बस्तीमा बनेको छाप्रोमा बस्न नदिने भन्दै घर छाड्न दबाब दिइन् । जितरानी निक्लन बाध्य भइन् । नजिकैको बाँसघारीमा रात बिताए उनीहरुले । ज्याला गरेर आउने पैसाको भरमा एक किलो दुई किलो चामल किनेर छाक टार्न थाले ।
‘दुई छोराछोरी थिए । श्रीमान्को जागिर थिएन । घरमा सासूले बस्न नदिने । साना केटाकेटी भएकाले मेला पात गएर पनि राम्रोसँग काम गर्न नपाउने । साह्रै दुःख पाएको बेला थियो त्यो’ जितरानीले भनिन् । मेघौलीमा कुनै उपाय नलाग्ने देखेर दुबै बर्दिया हानिए । माइतीको मात्रै भरमा बस्नु हुँदैन भनेर उनीहरु गाउँदेखि केही पर गएर एकजना चिनेको मान्छेको घरमा परिवारसहित बस्न थाले ।
त्यही बेलामा चार हजार रुपैयाँ लिएर दोकान सुरु गरे । विक्रम वन हेरालुको काममा लागे । वनले तलबका रुपमा खेती गरेर खान एक बिघा जग्गा दियो । उनीहरुले पहिलो वर्ष १८ मुरी धान फलाए । त्यो खुसी पनि धेरै टिकेन । सुकुमबासीहरु आएर त्यो क्षेत्रमा बस्न थालेपछि उनीहरु हिँड्नु प¥यो । बर्दियाबाट ६४ सालमा फेरि मेघौली नै फर्के । ढकिया बुनेर, माटाको चुल्हो बनाएर गुजारा गर्न थाले । ‘त्यो अवस्था साह्रै दयनीय थियो’ जितरानी भन्छिन्, ‘तेस्रो बच्चा जन्मिएको थियो । काम गर्न गाह्रो थियो ।’
जीवनको गोरेटोमा हिँड्दाहिँड्दै केयर नेपालको सहयोगमा कालिका महिला विकास केन्द्रले मेघौली क्षेत्रमा ‘सक्षम कार्यक्रम’ सुरु गरेपछि सञ्चालन भएको समूह बनाउने अभियानमा उनी समेटिइन् । त्यही बेलामा उनले गाविसले तीन महिने सिलाइकटाइ तालिम दिन थालेको पत्तो पाइन् । भोक लागेको बेलामा खीर भेटे झै भयो उनलाई । उनी तालिममा सरिक भइन् । तालिम सकिएकै दिन एउटा सिलाइ मेसिन भाडामा लिएर कपडा सिलाउने पसल राखिन् । तर ६८ सालमा उनले पसल खोल्दा सात दिनसम्म एकजना पनि काम दिन आएन । छिमेकी एकजना महिलाले भनिन् ‘मैले १८ सयको कुर्ता किनेको छु । राम्रोसँग सिलाए मागेजति ज्याला दिउँला । बिग्रे १८ सय तिर्नुपर्छ ।’ सर्तसहितको पहिलो काम उनले सफलतापूर्वक सकिन् ।
अनि उनको पसलमा काम आउन थाल्यो । रातदिन नभनेर काम गर्न थालिन् । १३ महिना उनले काम गरेपछि थुप्रै ग्राहक भए । त्यसपछि उनले मेसिन आफ्नै झुपडीमा सारिन् । भाडामा ल्याएको मेसिन फिर्ता गरिन् । आठ हजार हालेर मेशिन किनिन् । उनको कामबाट प्रभावितभएर सक्षम कार्यक्रमले एउटा मेशिन दियो । अहिले समयले कोल्टो फे¥यो । यतिबेला दिनको चार सयको हाराहारीमा कमाइ हुन्छ उनको ।
श्रीमान् पनि मेघौलीकै एउटा होटलमा सुरक्षा गार्ड छन् । जेठो छोरा कक्षा १०, कान्छो छोरा ५ र छोरी कक्षा ८ मा पढ्छन् । उनीहरुले आठ कठ्ठा बन्दकी खेत लिएका छन् । सम्पत्तिभन्दा ठूलो सन्तुष्टि प्राप्त भएको छ । ‘भिक्षा माग्नुको विकल्प नभएको अवस्था पार गरेको हो ।
अहिले त खान लाउनको चिन्ता छैन । सबै हातको सिपले गर्दा सम्भव भयो’ जितरानीले भनिन् । दुःख आएका बेलामा नआत्तिए, सुखका दिन आउने उनले बताइन् ।
प्रतिक्रिया