मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगर महोत्सव सुरु, नाकाबन्दी हटाउन उपराष्ट्रपतिको आग्रह

रत्ननगर महोत्सव सुरु, नाकाबन्दी हटाउन उपराष्ट्रपतिको आग्रह


चितवन, १४ माघ । रत्ननगर महोत्सव २०७२ आज बिहीबारदेखि टिकौली चौरमा सुरु भएको छ । महोत्सवको एक भब्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले आयोजना गरेको सो महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मधेस आन्दोलन र नाकाबन्दी अन्त्यको लागि सार्थक पहल थाल्न सरकारलाई आग्रह गरेका छन् ।

नाकाबन्दी र मधेस आन्दोलनका कारण जनजीवन कष्टपूर्ण बनेको भन्दै उनले सहज वातावरण बनाउन सार्थक पहल थाल्न आग्रह गरेका हुन् । नाकाबन्दीले महङगी चुलिएको छ, जनताले दुख पाएका छन उनले भने यसको अन्त्य हुन जरुरी रहेको छ । नाकाबन्दीले व्यापार व्यवसाय चल्न नसकेका कारण त्यसको असर जनताको घरदैलोमा पुगेको उनको भनाइ रहेको थियो ।

जनताले भोगिरहेको समस्या छिट्टै सामधान हुन आवश्यक रहेको उनले बताए । मुलुकलाई लामो समयसम्म यस्तो अवस्थामा राख्नु हँुदैन उनले भने त्यसका लागि सरकारले अर्थपूर्ण र सार्थक प्रयास गर्न आवश्यक छ ।

भूकम्पपछि देशको आर्थिक अबस्थामा आएको गिरावट प्रति चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति पुनले नेपालीले भोग्नु परेको वर्तमान पीडा छिट्टै अन्त्य हुनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले देशको आर्थिक विकासको लागि राज्य र निजी क्षेत्र बीच सहकार्य गरी लगानीको बतावरण सृजना गर्नुपर्ने बताए । लगानी सुरक्षा गर्ने दायित्व राज्यको रहेको भन्दै उपराष्ट्रपति पुनले मुलुकको आर्थिक विकासको लागि लगानी केन्द्रीत गर्न निजी क्षेत्रलाई आग्रह गरे । देशको विकास यात्रा सुस्त भएको भन्दै उनले निर्यात बढाएर विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए ।

उनले देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव शहर केन्द्रीत नभई ग्रमिण क्षेत्रमा हुनुपर्ने बताए । स्थानीय उत्पादनको प्रर्बधन र बजारीकरणको लागि मेला महोत्सव ग्रमिण क्षेत्रमा हुनुपर्ने उनले बताए ।

उपराष्ट्रपति पुनले रत्ननगर महोत्सवले मुलुकको आर्थिक विकामा सघाउने बताए । देशकै अग्रणी पर्यटकीय स्थलको रुपमा विकास भएको चितवन र त्यसका पनि सौराहाको पर्यटन र यहाँको कृषिलाई विकास गर्न सके त्यसले मुलुकलाई नै फाईदा हुने उनले बताए ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मुल समारोह समितिका संयोजक ज्ञानबहादुर विसुरालले पूर्वी चितवनमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न सरकारलाई आग्रह गरे । नाकाबन्दी पछि र्सिजित परिस्थितिका कारण निजीक्षेत्र धरासायी बनेको भन्दै उनले व्यापार व्यवसाय प्रर्बधनको लागि आर्थिक प्याकेजका कार्यक्रम ल्याउनु पर्ने बताए ।

लगानीको वातावरण कमजोर, उर्जा संकट, लोडसेडिङका कारण जिनीक्षेत्रले निरास बनेको उनको भनाइ रहेको छ । कार्यक्रममा चितवन क्षेत्र नंं. २ का सांसद शेषनाथ अधिकारीले टिकौली चौरमा रंगशाला बनाउन कानुनी अडचन आए सोही ठाउँमा अन्र्तराष्टिय पार्क बनाउन सुझाव दिए ।

चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यको विकास र प्रर्बधन गर्ने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा ४५० वटा स्टरहरु राखिएको छ । महोत्सवमा बैकल्पिक उर्जाको मात्र १५ वटा स्टलहरु रहेका छन । यस वर्ष महोत्सवमा कृषि, पर्यटन र बैकल्पिक उर्जालाई प्राथमिकता दिइएको छ ।

यस पटकको महोत्सवमा ४ लाख पचास हजारभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले संघले प्रकाशन गरेको स्मारिका विमोचनसमेत गरेका थिए । उद्घाटन कार्यक्रममा महोत्सव मुल समारोह समितिका उप संयोजक तथा रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ, संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठलगायतले बोलेका थिए । महोत्सव उद्घाटन हुनुपूर्व नेपाल उच्च माविबाट विभिन्न जातजाति, संघसंस्थाहरुले नगर परिक्रमा गर्दै शोभायात्रा गरिएको थियो ।