मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडितलाई जाडो कटाउने चिन्ता

भूकम्पपीडितलाई जाडो कटाउने चिन्ता


चितवन, ११ पुस । चितवनको विकट पहाडी गाविस चण्डिभञ्ज्याङ–२ भोर्लेका शेरबहादुर चेपाङले भूकम्पले घर भत्काएको आठ महिनासम्म पनि अझै अस्थायी टहरा बनाउन सकेका छैनन् ।

महाभूकम्पले भत्काएको घरलाई नै पालले छोपेर उनको परिवारले बर्षाको समय कटायो । दशैँ–तिहार पनि त्यसै घरमा मनाए । पानी पर्दा आधाजसो घरभित्रै छिर्छ । गत साउनमा सरकारले १६ थान जस्तापाता उपलब्ध गराए पनि उनले रकम नभएका कारण अस्थायी टहरा बनाउन नसकेको बताए ।

बिहान–बेलुका छाक टार्नसमेत समस्या भएका कारण खानाको जोहो गर्नतिर लाग्नु परेकोले घर बनाउन नसकेको उनको भनाइ छ । १६ पाता जस्ता ल्याउँदा पनि उनले ७ सय भाडा तिरेका थिए ।

एक बण्डल जस्ता उपलब्ध भएका कारण १५ हजार रुपैयाँ पनि पाएनन् । अहिले जस्ता भत्केको घरमा त्यतिकै थन्किएको छ । सरकारले २ लाख दिएपछि स्थायी घर बनाउने उनको सोच छ ।

उनले राहतको नाममा एक दिनको बाटो हिँडेर रेडक्रसले दिएको शक्तिखोर र कालिखोलाबाट दुई पोका चामल दुई थान त्रिपाल र नुन तेलबाहेक अरु केही पाएका छैनन् । भौगोलिक विकटताका कारण कहाँ राहत वितरण गरिरहेको छ ।

उनीहरुलाई पत्तो नै नहुने उनले बताए । चेपाङहरुलाई विभिन्न व्यक्ति संघसंस्थाहरुले सहयोग गरिरहेका छ भन्ने सुनेका उनले कहाँ गएर कसरी सहयोग माग्ने भनेर थाहा नभएको पनि बताए । शेरबहादुरको मात्र होइन, भूकम्पले भोर्लेका १० घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।

उनीहरुको पीडा पनि उस्तैै छ । गाउँमा बालबच्चाबाहेक अरु देखिँदैनन् । कोही अरुको काम गर्न त कोही आफ्नै बारीको काम गर्न जान्छन् । उनीहरुले बालबच्चाको समेत राम्रो हेरचाह गर्न सकेका छैनन् । जाडो सुरू भइसक्दा पनि न्यानो कपडा नपाएका बालबच्चाहरुको अवस्था निकै दयनीय छ ।

जाडोले विशेष गरेर वृद्धवृद्धा र बालबच्चाहरु प्रभावित भएका छन् । बिहान बेलुका हात मुख जोर्न गाह्रो भएका उनीहरुलाई जाडो महिना कसरी कटाउने अर्को समस्या खडा भएको छ ।

उनीहरु भन्छन् जाडोका कारण बालबच्चाहरु पढ्न जान सक्दैनन । बिहान बेलुका छाक टार्न गाह्रो परिरहेकाले नयाँ कपडा किन्न नसकेको उनीहरु बताउँछन् ।

भूकम्पपछि धेरै चेपाङ समुदायलाई विभिन्न संघसंस्थाले सहयोग गरे पनि भौगोलिक विकटताकै कारण उनीहरु सहयोगविहीन भएका छन् ।