मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्धन अभावले थलियो पर्यटन व्यवसाय

इन्धन अभावले थलियो पर्यटन व्यवसाय


कसरा । असोज, कात्तिकलाई मुख्य पर्यटकीय याम मानिन्छ । वर्षभरिमा सबैभन्दा धेरै पर्यटक कात्तिकमा आउने गर्छन् । तर भूकम्पपछि उठ्न नसकेको पर्यटन भारतको नाकाबन्दी र इन्धन समस्याले झनै थला परेको छ । 
 
चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या अघिल्लो वर्षको असोज महिनामा भन्दा यो वर्षको असोजमा ८० प्रतिशत कटौती भएको छ । निकुञ्ज मुख्यालय कसराबाट प्राप्त जानकारी अनुसार असोज महिनामा स्वदेशी विदेशी गरेर कुल चार हजार ५०६ पर्यटकले निकुञ्ज घुमेका छन् । अघिल्लो वर्षको असोजमा निकुञ्ज घुम्ने कुल पर्यटकको संख्या २० हजार ९५७ रहेको कसराबाट प्राप्त विवरणमा उल्लेख छ ।
 
विगतका वर्षहरुमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकहरुको संख्या महिनामा १० हजारभन्दा माथि नै हुन्थ्यो । यो आर्थिक वर्षको तीन महिनामा निकुञ्ज घुम्ने पर्यटकहरुको संख्या कुल १० हजार पुग्न पनि गाह्रो भएको छ । निकुञ्ज मुख्यालय कसराबाट प्राप्त जानकारी अनुसार यो आर्थिक वर्षको साउन, भदौ र असोजमा जम्मा ९ हजार ३७५ पर्यटकले मात्रै निकुञ्ज घुमेका छन् । कात्तिक महिना पर्यटकहरु अत्यधिक आउने समय हो ।
 
‘अघिल्ला वर्षहरुमा यही अवधिमा पर्यटकलाई सेवा दिन भ्याईनभ्याई हुन्थ्यो । अहिले पर्यटक निकै कम छन् । ती पर्यटकहरुलाई खाना पकाएर खुवाउन दाउराको व्यवस्था गर्न डुल्नु परेको छ’ सौराहामा रहेको पर्यटकीय होटल, होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले भने । पर्यटक बोक्ने गाडीहरु इन्धनविहीन हुँदा बुकिङ रद्द हुने गरेको दवाडीले बताए । चितवन निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको साउनमा कुल २६ सय ९० पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । भदौमा पर्यटकको संख्या घटेर २१ सय ७९ भयो । असोजमा चितवन निकुञ्ज घुम्नेहरु चार हजार ५०६ पुगेका छन् । यो संख्या भूकम्प गएपछिको समय जेठयता सबैभन्दा उच्च हो ।
 
जेठमा १५ सय ९२ र असारमा १५ सय ९४ जनाले निकुञ्ज घुमेका थिए । वैशाख १२ गते भूकम्प गएपछि पर्यटक आउने क्रम लगभग ठप्प जस्तै भएको थियो । भूकम्प गएको महिना वैशाखमा निकुञ्ज घुम्नेहरु कुल १० हजार ५३० रहेका थिए । सामान्य अवस्थामा चितवन निकुञ्ज घुम्नेहरुको संख्या प्रत्येक महिना कम्तीमा पनि १० हजारको हाराहारीमा हुन्थ्यो । अघिल्लो आर्थिक वर्षको भदौमा निकुञ्ज घुम्नेहरुको संख्या १० हजार ६६१ थियो ।
 
‘मुख्य याममा नै यस्तो अवस्था भएपछि पर्यटन क्षेत्रमा चिन्ता छाएको छ’ व्यवसायी माधव दवाडीले भने । चितवन निकुञ्ज आसपासमा सवा सयका हाराहारीमा पर्यटकीय होटलहरु रहेका छन् । सुधार हुँदै गएको पर्यटन क्षेत्रमा टीकापुर घटनापछि अवस्था बिग्रदै गएर अहिले जटिल बनेको व्यवसायीहरु बताउँछन् । पर्यटकहरु काठमाडौं आउँछन् पर्याप्त बसहरु नभएकाले चितवन आउन सकेका छैनन् ।
 
‘आएकाहरुलाई पनि पकाएर खुवाउने समस्या छ’ होटल व्यवसायी माधव दवाडीले भने । निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु बाघ गैंडा हेर्न देश विदेशबाट पर्यटकहरु चितवन निकुञ्ज आउँछन् । यो नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्ज घुम्ने कुल पर्यटकहरु एक लाख ७८ हजार पुगेका थिए । पर्यटक प्रवेश शुल्कबाटमात्रै निकुञ्ज्ले २४ करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गरेको थियो ।