मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खुट्टाले चित्र कोरेर आमा पाल्छन् आनन्द

खुट्टाले चित्र कोरेर आमा पाल्छन् आनन्द


काठमाडौँ । काम गर्ने इच्छाशक्ति भए मानिसलाई शारीरिक अशक्तताले नरोक्ने उदाहरण बन्नुभएको छ, २० वर्षीय आनन्द पासवान ।

जन्मदै दुई हात र एक खुट्टा नभएका पासवान विगत केही वर्षदेखि सडकमै बसेर चित्र कोर्दै आफ्नो जीविका गर्दै आउनुभएको छ ।

पासवानको एउटा खुट्टा मात्र चल्छ भने दुई हात र एक खुट्टाले कुनै काम गर्दैनन् । उहाँ शारीरिक रुपमा अशक्त भएर अहिले मासिक रु २० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

आफ्नी आमालाई देखाउँदै उहाँले भन्नुभयो – “सानो छँदा कुनै चित्र देख्ने बित्तिकै त्यसलाई म उतार्ने प्रयास गर्थे । शारीरिक रुपमा सबल नभएकाले म घरमै बसेर चित्र कोर्थें । त्यस बेला मेरी आमाले मलाई निक्कै सहयोग गर्नुहुन्थ्यो । आमाको सहयोग र ममताले नै म यहाँसम्म आएको हुँ ।”

शारीरिक रुपमा सबल नभएकै कारण उहाँलाई हरेक काम गर्न निकै समस्या हुन्थ्यो नै । तर यसै समस्यालाई एउटा अवसरको रुपमा लिएर अघि बढेकाले नै अहिले एउटा सक्षम मानिस बन्न सकेकामा उहाँलाई गर्वको अनुभूति हुन्छ ।

केही वर्षअघि आफूले बनाएको चित्रको कुनै मूल्य नतोकी अरुले दिएको पैसामै सन्तोष मान्ने पासवानले विगत एक वर्षदेखि भने एउटा चित्रको मूल्य रु १४० देखि रु ५०० सयसम्म लिन थाल्नु भएको छ ।

उहाँलाई अचले हरेक दिन ११ बजेदेखि सुन्धारास्थित काठमाडौँ मलको ठीक अगाडि जोडी सुँगा, देवी देवता र फूलको चित्र बनाई बेचिरहनु भएको देख्न सकिन्छ । यसरी उहाँले बाटोमा बनाएका चित्र बेचेर नै आफू र आमाको सहरको बसाइँ सहज बनाइरहनुभएको छ । तर घाम, पानी र विभिन्न समयमा हुँदै आएको धर्ना र जुलुसका कारण आफूलाई निकै समस्या हुने गरेको उहाँ गुनासो गर्नुहुन्छ ।

उहाँले दैनिक सात वटासम्म चित्र बनाई बिक्री गर्नुहुन्छ । आफ्ना सिर्जनालाई सजाउन विभिन्न होटल र बढी मात्रामा विदेशीले लाने गरेकामा उहाँ खुसी व्यक्त हुन्छ ।

उहाँको ‘कला र गला’को सम्मान भने नभएको हो भन्नुहुन्छ, उहाँकी आमा चमेली देवी पासवान । चमेलीका अनुसार आनन्दसँग चित्र मात्र कोर्ने नभई फरकफरक स्वरमा गीत गाउने र विभिन्न किसिमका माटोको भाँडाकुँडा खुबीसमेत रहेको छ ।

छोराको कलाको सम्मान गर्दै सरकारले कुनै स्थानमा एउटा पसलको व्यवस्था गरिदिए काममा केही सहज हुनुको साथै ऊर्जा थपिने चमेलीको विश्वास छ । आनन्दको भने स्वदेशमा धेरै चित्रकला प्रदर्शनीमा सहभागी हुने अवसर पाएको तर विदेशमा गएर पनि आफ्नो प्रतिभाको प्रदर्शन गर्न नपाएको दुखेसो रहेछ । आफ्नो छोरोको यो ठूलो कसैले पूरा गरिदेओस् भन्ने चमेलीको इच्छा छ । 
कुुनै पनि औपचारिक शिक्षण सिकाइमा सहभागी नभएका पासवान चित्र कोर्ने र गीत गाउने सीपका अतिरिक्त नेपाली, हिन्दी, मैथली, भोजपुरी, अङ्ग्रेजीलगायत १३ वटा भाषा बोल्न सक्नुहुन्छ ।

अहिलेसम्म कुनै पनि सङ्घसंस्थाले आफूलाई सहयोग नगरेकामा उहाँको गुनासो छ । पासवानले शारीरिक रुपमा सक्षम भएर पनि सडकमा मागेर आफ्नो गुजारा गर्नेलाई आफ्नो ‘परिश्रमको फल मिठो’ हुने अनुभवसहित गरिखान सुझाव दिनहुन्छ ।

पासवानले एउटा खुट्टाको भरमै भान्साको सबै काम गर्ने, साथीभाइसँग घुम्न जाने, नुहाउने, बजार गएर सरसामान किनेर ल्याउनेजस्ता काम आफैं गर्नुहुन्छ । रासस