मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको संकट बढ्यो, एम्बुलेन्सलाई पनि समस्या

पेट्रोलियम पदार्थको संकट बढ्यो, एम्बुलेन्सलाई पनि समस्या


चितवन । लामो समयदेखि जारी रहेको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन नआउँदा देशभर नै जटिल समस्या भएको छ । 

अति आवश्यक पर्ने एम्बुलेन्स र दूधका ट्यांकरहरु इन्धन अभावले चल्न नसक्ने अवस्थामा पुगेका छन् । खाना पकाउने ग्यासको पनि चरम अभाव देखिएको छ ।

लोडसेडिङका बेला अस्पतालहरुमा जेनेरेटर चलाएर काम गर्न सक्ने अवस्था कम हुँदै गएको छ । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा इन्धनको चरम अभावले जनजीवन ज्यादै कष्टदायी भएको छ । पेट्रोलियम पदार्थको संकट चुलिँदा सर्वत्र मार परेको छ ।

एम्बुलेन्स धेरै मारमा 
इन्धनको संकटले एम्बुलेन्सहरु बन्द हुने अवस्थामा पुगेका छन् । स्व। टेकप्रसाद अर्याल स्मृति प्रतिष्ठान पर्साले सञ्चालन गरेको एम्बुलेन्सका सञ्चालक देवराज अर्याल डिजेलको जोहो गर्न नसक्दा ज्यादै पिरोलिएका छन् ।

‘रातबिरात यहाँ पाइन्छ कि, त्यहाँ पाइन्छ यसले देला कि उसले देला भनेर दौडनै ठिक्क हुन्छ’ अर्यालले भने । पेट्रोल पम्पमा अरु गाडीसँगै लाइनसमा बस्नु पर्ने बाध्यता एम्बुलेन्सलाई छैन । तर एम्बुलेन्सको छुट्टै लाइन भए पनि तेल पाउन आधा घण्टा कुर्नुपर्ने उनले बताए ।

विकट क्षेत्रमा सेवा दिन नेपाल रेडक्रस सोसाइटी माडी अयोध्यापुरी उपशाखाले सञ्चाालन गरेको एम्बुलेन्समा एक दुई दिनका लागि मात्रै पुग्ने इन्धन छ ।

‘माडी भरतपुरमात्रै गर्ने हो भने पनि दिनमा २२ लिटर डिजेल चाहिन्छ । इन्धन समस्याले गर्दा अब एक दुई दिनपछि एम्बुलेन्स बन्द होला जस्तो छ’ रेडक्रस अयोध्यापुरी उपशाखाका सभापति हरि पहारीले भने ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री ज्ञानशाली न्यौपानेका अनुसार रेडक्रसका शाखा उपशाखाबाट मात्रै चितवनमा २० वटा एम्बुलेन्स सञ्चालन छन् । ‘एम्बुलेन्स सञ्चालन बन्द नहोस् भन्नलाई जिल्ला प्रशासनमा छलफल गरेर रेडक्रसले चलाएकामध्ये एक दिनमा सातवटा एम्बुलेन्सलाई २५ लिटरका दरले इन्धन दिने व्यवस्था मिलाएको हो । तर यो पर्याप्त छैन’ शाखाका मन्त्री न्यौपानले भने ।

नेपाल रेडक्रस सोसाइटी, अस्पताल र अन्य संघसंस्था प्रतिष्ठानका ८३ एम्बुलेन्स चल्ने चितवनमा अहिले आधामात्रै गुडेको संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लम्सालले बताए ।

‘राम्रोसँग चल्न दिनमा ३० लिटर पेट्रोल वा डिजेल चाहिन्छ । प्रशासनसँग कुरा गरेर बल्लबल्ल दिनको १० लिटरसम्म पाइएको छ । यसरी कसरी चल्ने । आधा एम्बुलेन्स गुड्न छाडे । अवस्था चाँडै सहज नभए अरु गुड्न छोड्छन्’ लम्सालले भने ।

चितवनमा सरकारी र निजी तथा मेडिकल कलेजहरु गरेर २५ सय शैय्या क्षमताका स्तरीय अस्पतालहरु छन् । देशको मुख्य क्यान्सर अस्पतालसमेत भरतपुरमै छ । त्यसैले यहाँ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाका विरामीहरु पनि आउँछन् ।

‘मेडिकल सिटी’का रुपमा प्रचारित चितवनमा इन्धन अभावका कारण एम्बुलेन्स रोकिने अवस्था आउनु दुःखद् भएको चालक संघका अध्यक्ष नवराज लम्सालले बताए ।

‘यो समस्याले हामीलाई निकै गम्भिर बनाएको छ । ठोस पहल के गर्न सकिन्छ । सबैसँग छलफल गरेर एउटा निश्कर्ष निकाल्दै छौं’ अध्यक्ष लम्सालले भने ।

‘जीवनमरणको दोसाँधमा पुगेका व्यक्तिलाई बचाउने काममा उपयोग हुने साधन हो एम्बुलेन्स । राष्ट्रिय रुपमा नै संकट आएकाले त्यसको प्रभाव यसमा प¥यो । तै पनि सकेसम्म व्यवस्थापन गर्ने कोशिसमा लागेका छौं’ नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री ज्ञानशाली न्यौपानेले भने । 

विद्यालय पनि समस्यामा 
चरम इन्धनको अभावले स्कुल बसहरु सञ्चालनमा समस्या देखिएको छ । प्याव्सनका जिल्ला अध्यक्ष बेलबहादुर गुरूङले विज्ञप्ति जारी गरी आफ्ना बाबुनानीहरु स्कुलसम्म ल्याउने व्यवस्था गर्न अभिभावकलाई आग्रह गरेको छन् । देशको विषम परिस्थितिमा इन्धनको अभावले स्कुल बसहरु सञ्चालन गर्न नसकिएको हुँदा अभिभावक आफैँले बाबुनानीलाई स्कुल ल्याउने व्यवस्था गर्न विज्ञप्तिमा भनिएको छ ।

निजीलाई पेट्रालियम पदार्थ नदिने

 

सरकारले आज बिहीबारदेखि निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्विचार गर्न दिउँसो गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्नेबाहेक ट्रक र ट्रिपरलाई तेल नदिने निर्णय गरेको छ ।

अब यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल बेच्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । यीबाहेकका कुनै सवारी साधनले पनि अब तेल खरिद गर्न पाउने छैनन् ।