विभिन्न अस्पतालका आकस्मिक कक्षमा आउने धेरै बिरामीमा रोगभन्दा मानसिक समस्यामात्र भएको पाइएको छ। अत्यासले हुने गडबडी (प्यानिक डिस्अर्डरर्स) त्यसको मुख्य कारण हो।
यसले बिरामीलाई र तिनीहरूको परिवारलाई मात्र होइन, कहिलेकाहीँ त आकस्मिक कक्षमा सेवारत कर्मचारीलाई समेत रनभुल्लमा पार्छ।
अत्यास गडबडी भएका बिरामीहरूको रोगको निदान हुनुभन्दा पहिले उनीहरूले कम्तीमा १० जना वा त्योभन्दा बढी फरकफरक चिकित्सकसँग जाँच गराइसकेका हुन्छन् भन्ने तथ्य एक अध्ययनले देखाएको छ।
अनि यस्ता चारजना बिरामीमध्ये केवल एकजनाले मात्र उचित उपचार पाउँछन्। त्यसैले सही उपचार पाउन हामीले लक्षणहरू के के छन् भनेर जान्नु जरुरी छ।
त्रासजन्य गडबडीलाई कसरी चिन्ने?
त्रासजन्य गडबडी वास्तवमा जीवनमा आइपर्नसक्ने एक नाटकीय मनोरोग हो वा त्यस्तो अवस्था हो।
सामान्यतया यस्तो रोग वा अवस्था केटाकेटीहरू युवावस्थातिर आइपुग्दा या यौवनावस्थाको सुरुसुरुमा देखिनसक्छ।
यस रोग वा अवस्थाको कारण किटानका साथ भन्न नसकिए पनि जीवनका मुख्य मोडहरू जुन ज्यादा तनावपूर्ण हुने गर्छन्, ती अवस्थामा यस खाले समस्या देखा पर्छन्।
उदाहरणका लागि कलेज परीक्षामा उत्तीर्ण हुँदा, विवाह हुँदा, जीवनमा पहिलो सन्तान प्राप्त हुँदाजस्ता खुसीका क्षण एकातिर हुन्छन् भने जीवनमा अत्यन्तै माया गरिएका परिवारका सदस्यको मृत्यु हुँदा, पारपाचुके हुँदाजस्ता दु:खद् क्षणहरू अर्कातिर हुन्छन्।
ती दुवै अवस्थामा त्रासजन्य गडबडी देखिनसक्छ । अत्यास लाग्नु (प्यानिक अट्याक) अत्यासजन्य गडबडी (प्यानिक डिस्अर्डर)को मुख्य कारण अत्यास लाग्नु भनेको कुनै खास कारण नभई मानिसमा अकस्मात् देखा पर्ने एकदम त्रासको स्थिति हो।
यसको गहनता मानिसले तनाव महसुस गरेको स्थितिभन्दा धेरै तीव्र हुन्छ।
यसका लक्षणहरू हुन् :
मुटुको चाल एकदम छिटो हुनु।
प्रशस्त हावा नपुगेर सास फेर्न गाह्रो भएको भान हुनु।
हातखुट्टा चल्न छोड्ने गरी डर लाग्नु।
वाकवाक लाग्नु, रिँगटा लागेजस्तो हुनु र टाउको फुंग उडेजस्तो हुनु।
थरथरी काँप छुट्नु, चिट्चिट् पसिना आउनु।
घाँटी थिचेजस्तो हुनु, छाती दुख्नु।
हात तथा खुट्टाका औंलामा सियोले घोचेजस्तो भान हुनु।
एकदम गरम तथा चिसो भएको जस्तो लाग्नु।
अब म बौलाहा हुन्छु वा मर्छु भन्ने लाग्नु।
अत्यास लाग्नु आफैंमा डरलाग्दो कुरा होइन तर यसले धेरै त्रास पैदा गरिदिन्छ। कतिसम्म भने त्यसले मानिसलाई पागल नै बनाइदिन्छ र ऊ नियन्त्रणबाहिर पुग्छ।
यो डरलाग्दो स्थिति हो किनभने यसले डर, मनोविषादको स्थिति, वस्तुको हानिनोक्सानी, औषधिजन्य जटिलता तथा आत्महत्या गर्नेजस्ता जटिलतातर्फ उन्मुख गराउन वा डो:याउनसक्ने सम्भावना हुन्छ।
यसले साधारण सामाजिक दुर्वलता गराउनेदेखि बाहिरी संसारकै सामना गर्न नसक्नेसम्म गराउँछ। धेरै मानिसलाई अत्यास लाग्छ।
यदि कसैलाई एक वा दुईपटक यस्तो आक्रमण भइसकेको छ भने उसले त्यति चिन्ता लिनु पर्दैन।
मलाई फेरि अत्यासले आक्रमण गर्छ कि भन्ने डर लागिरह्यो भने डराउनुपर्ने हुन्छ।
यदि कसैलाई तीनचार पटकभन्दा बढी अत्यासले आक्रमण गरिसकेको छ र त्यसपछि पनि उसलाई फेरि आक्रमण गर्छ कि भनी डर रहिरह्यो भने त्यो यसको लक्षण हो।
त्यस्ता व्यक्तिले अत्यासले उत्पन्न गर्ने गडबडी र तनावसम्बन्धी उपचार विधिमा विशेषज्ञता हासिल गरेका मानसिक चिकित्सकको सेवा खोजी गर्नु उपयुक्त हुन्छ।
आक्रान्त व्यक्तिको जीवन
यदि उचित उपचार पाएको खण्डमा यसको जवाफ ठूलो आवाजमा ‘सक्छ’ भनी दिन सकिन्छ। अत्यासले हुने गडबडीको उपचार हुनसक्छ।
यसका धेरै प्रभावकारी उपचारविधि उपलब्ध छन्। सफलतापूर्वक उपचार पाए पनि धेरैजसो व्यक्तिलाई पुन: पूर्ववत् स्थिति वा तनाव हुने सम्भावना हुन्छ।
यस्तो अवस्थामा अरू थप उपचार गराउन जरुरी हुनसक्छ। एकपटक उपचार पाएपछि अत्यासले गर्दा उत्पन्न गडबडीले स्थायी जटिलता ल्याउँदैन।
– लेखक नर्भिक इन्टरनेसनल हस्पिटलका वरिष्ठ हृदयरोग विशेषज्ञ तथा हृदयरोग विभाग प्रमुख हुन्।
-अन्नपूर्ण पोष्ट
प्रतिक्रिया