काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरेका हुन् । तर ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिए ।
मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञहरू सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको पनि बताए । विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोगलाई विस्तार गरिने उनको भनाइ छ ।
उनले नेपाल भाषा, नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला तथा बाजागाजाको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।
यसैक्रममा प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शंखधर साख्वा:को प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका लागि बजेट उपलब्ध गराइने उनले बताए । नेपाल भाषाको संरक्षण र विकास काठमाडौँ उपत्यकामा मात्रै सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायत बागमती प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशका सबै मन्त्रालयका नामपट्टमा नेपाली, नेपाल र तामाङ गरी तीनवटै भाषाको प्रयोग शुरु गरेका छौँ । अब मन्त्रालयका लेटरहेडमा पनि तीनवटै भाषाको प्रयोग गरिनेछ । साथै, नेपाल भाषा र तामाङ भाषाका विज्ञहरूको सहयोगमा प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा यी भाषाको प्रयोग विस्तार गर्न आवश्यक कार्य अघि बढाइनेछ । त्यसैगरी, बागमती प्रदेशका १३ वटै जिल्लामा राष्ट्रिय विभूति शङ्खधर साख्वा:को नाममा प्रतिष्ठान स्थापना गर्ने, नेपाल भाषा, नेवार समुदायको कला, संस्कृति, संस्कार, रीतिरिवाज तथा मौलिक सम्पदाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ। यस वर्ष दोलखा जिल्लामा पनि प्रतिष्ठान स्थापनाका लागि बजेट व्यवस्था गरिएको छ । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि आवश्यक बजेट विनियोजन गरिने । नेपाल भाषा र नेवार समुदायको संस्कृति काठमाडौं उपत्यकामा मात्र सीमित हुनुहुँदैन । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेलगायत बागमती प्रदेशका सबै जिल्लामा यसको संरक्षण र प्रवर्द्धन आवश्यक छ । भाषा, लिपि, बाजागाजा, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । नेपाल भाषा तथा संस्कृतिको विकास र संरक्षणका लागि प्राप्त हुने सुझाव र मागलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले नेपाल भाषाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिने बताए ।













प्रतिक्रिया