टेक्सस

स्व. हरिबोलको स्मृतिमा रक्तदान सम्पन्न

स्व. हरिबोलको स्मृतिमा रक्तदान सम्पन्न


ड्यालस (टेक्सस, अमेरिका) — समाजसेवा र मानवीय भावनाको कदर गर्दै ‘ब्लड डोनर्स अफ अमेरिका’ (बिडिए) र नेपाली जनसम्पर्क समिति ड्यालस-फोर्टवर्थ च्याप्टरको संयुक्त आयोजनामा ड्यालस-फोर्टवर्थ क्षेत्रमा विशेष रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समाजसेवी स्व. हरिबोल भण्डारीको स्मृति तथा उहाँको निधनको वार्षिकीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। स्थानीय नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा ६४ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको संयोजक गुप्त राज जोशीले जानकारी दिए।

Advertisement

एक जनाको रगतले तीन जनासम्मको जीवन बचाउन सक्ने प्राविधिक तथ्य अनुसार यस कार्यक्रमबाट संकलित रगतले कुल १९२ जना बिरामीको ज्यान बचाउन प्रत्यक्ष मद्दत पुग्नेछ। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सामाजिक तथा सामुदायिक अगुवा, सञ्चारकर्मी एवं सम्पूर्ण नेपाली डायस्पोरा समुदायप्रति आयोजक संस्थाहरूले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

नेपाली समुदायमा रक्तदानको महत्त्व र चेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रमलाई आगामी दिनहरूमा पनि संस्थाको वार्षिक कार्यतालिकामै समावेश गरी निरन्तरता दिइने आयोजक जनसम्पर्क समितिका सभापति उज्ज्वल खत्रीले जानकारी दिएका छन्।

मनोपरामर्शदाता सिटौलासँग अन्तरक्रिया:

यसैबीच आइतबार नै जनसम्पर्क समितिको आयोजनामा वरिष्ठ न्यूरोथेरापिस्ट अच्युत सिटौलाको उपस्थितिमा विशेष उपचार पद्धतिका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ।

सिटौलाले मानिस बिरामी हुनुको मुख्य कारण खानपान र जीवनशैली रहेको उल्लेख गर्दै रोगको प्रकृति अनुसार नशा मार्फत उपचार गर्न सकिने विधिको प्रत्यक्ष प्रदर्शन गरेका थिए। उक्त अवसरमा सहभागीहरूले निकै चासोका साथ सहभागिता जनाएका थिए।