टेक्सस

कन्दराको ड्यालस कन्सर्ट स्थगित, गायक श्रेष्ठको भावुक क्षमायाचना

कन्दराको ड्यालस कन्सर्ट स्थगित, गायक श्रेष्ठको भावुक क्षमायाचना

- मोहन मुन

Kandara

शेयर गर्नुहोस:

1.4k
Shares

  • change font
  • change font

ड्यालस, टेक्सास – नेपाली सांगीतिक इतिहासमा आफ्नो छुट्टै पहिचान बनाएको लोकप्रिय ब्यान्ड कन्दराको अमेरिकी ‘रिदम अफ चेन्ज’ टुरअन्तर्गत आज ड्यालसमा हुने भनिएको कन्सर्ट अप्रत्याशित रूपमा स्थगित भएको छ।


बोस्टनमा भव्य रूपमा सफल कन्सर्ट सम्पन्न गरेपछि ड्यालसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको ब्यान्डको उडान निर्धारित समयमा हुन नसकेपछि कार्यक्रम स्थगित गर्नुपरेको हो। अचानक आएको यो परिस्थितिले ड्यालसमा लामो समयदेखि कन्दरा हेर्न प्रतीक्षारत हजारौं नेपाली दर्शक तथा संगीतप्रेमी निराश भएका छन्।

Advertisement


ब्यान्डका गायक श्रेष्ठले बोस्टन विमानस्थलबाट सामाजिक सञ्जालमार्फत दर्शकहरूसँग क्षमा माग्दै भावुक सन्देश सार्वजनिक गरेका छन्। उनले बिहान ५ बजेदेखि विमानस्थलमा प्रतीक्षा गरिरहेको र दिउँसो १ बजिसक्दा समेत उडानको टुंगो नलागेको बताएका छन्। विमानस्थलको स्क्रिनमा साँझ ६ बजेको सम्भावित समय देखिए पनि आफूहरू कहिले ड्यालस पुग्ने भन्ने अन्योल कायमै रहेको उनले उल्लेख गरेका छन्।


“ड्यालसका सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तकहरूसँग हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु। यो परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिरको हो,” श्रेष्ठले लेखेका छन्।
दर्शकहरूको माया, प्रतीक्षा र उत्साहप्रति आफूहरू अत्यन्त सम्मान गर्ने बताउँदै श्रेष्ठले आज भेट्न नसकेको पीडालाई मनमै राखेको उल्लेख गरेका छन्। उनले अर्को शुभ दिन तय गरेर अझ राम्रो ऊर्जा र भावनासहित ड्यालसका दर्शकमाझ उपस्थित हुने वाचा पनि गरेका छन्।


कन्दरा—तीन दशकभन्दा लामो यात्राको निरन्तरता
‘लेक की हे माया’, ‘तिमी पारी’, ‘तगारोमा रूमाल राखी’ लगायतका कालजयी गीतमार्फत नेपाली संगीतप्रेमीको मनमा गहिरो छाप छोडेको कन्दरा करिब ३४ वर्षदेखि नेपाली संगीत यात्रामा सक्रिय छ। ब्यान्डले हालै आफ्नो नयाँ गीत ‘बिचरा म’ सार्वजनिक गरेको छ। ‘पहिला घर देश अनि परदेश’ भन्ने नारासहित नेपालका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिँदै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको कन्दराले गत महिना क्यानडाको सफल टुर सम्पन्न गरेको थियो। गत वर्ष बेलायतको विश्वप्रसिद्ध ओटु एरिनामा समेत प्रस्तुति दिएको कन्दराले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने यात्रालाई निरन्तरता दिइरहेको छ।


जरा उही, संगीत नयाँ
तीन दशकभन्दा लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै कन्दराले समयसँगै संगीत पनि विकसित हुनुपर्ने महसुस गरेको छ। त्यसैले समकालीन साउन्ड, नयाँ सोच र आधुनिक अभिव्यक्तिलाई आत्मसात् गर्दै अघि बढ्ने तर आफ्ना लोकधुन, मौलिकता, जरा र नेपाली भावनालाई कहिल्यै नछोड्ने प्रतिबद्धता ब्यान्डले व्यक्त गर्दै आएको छ।


ड्यालसमा आज कन्सर्ट हेर्न उत्साहित भएर बसेका दर्शकका लागि कार्यक्रम स्थगित हुनु निश्चय नै निराशाजनक बनेको छ। तर कन्दराले दर्शकको माया र धैर्यलाई सम्मान गर्दै अर्को उपयुक्त मितिमा अझ राम्रो र भावपूर्ण कार्यक्रम प्रस्तुत गर्ने आश्वासन दिएको छ। आजको कन्सर्ट रोकिए पनि कन्दरासँग ड्यालसका दर्शकको भेट भने रोकिएको छैन—केवल केही समयका लागि सरेको छ।