यतिबेला अति उन्मादको वायुपंखी घोडा चढेर बेलगाम रफ्तारमा प्रधानमन्त्री बालेन्द्र कुददै गरेको देखिन्छन् । उनको अब टेक्ने समाउने थलो नभेटिएर , त्यो घोडाले कहाँ लगेर पछार्ने हो , हेर्न बाँकी छ ।
मान्छेको नियत राम्रो होला ! होला, यस मानेंमा कि यिनी म भन्दा पछिको पुस्ताका हुन् र नेपथ्यबाट अचानक राजनीतिको मंचमा नाटकीय ढंड्गले देखा परेका व्यक्ति हुन्। सामाजिक संजालको प्रविधिमा पोख्त सारथीहरूको साथ नभएको भए शायद बालेनको घोडा यस्तरी कुदने थिएन ।
बालेनको पहिलो काठमाण्डौं नगरपालिकाको चुनावताका म विदेशमा भएकोले मैले यथार्थ र अनुमान दुवैको साहारा लिएर यो भन्दछु कि , मान्छे मलाई गतिला लागे ।
नगरसभाको कार्यक्रमहरू सबै प्रत्यक्ष प्रसारण गर्ने जुनकाम उनले गरे र हालको जुन स्वरूपमा काठमाण्डौं छ, त्यहाँसम्म पुऱ्याउनमा ठूलो योगदान छ उनको । प्रचलित क्रिकेटको भाषामा भन्नुपर्दा पहिलो ईनिड्गमा यीनले सेन्चुरी हाने ।
राजनीतिको दोश्रो ईनिंड्गमा छक्का हान्ने प्रयासमा उनका थुप्रै क्याचहरू छुटे र भाग्यले अझै पीचमा डटेका छन् । नेपाल एक क्रिकेटप्रेमी देश भएकोले मैले यो एनालोजी प्रयोग गरेको हुँ ।
बालेनमा एउटा ठूलो कमजोरी के देखियो भने त्यत्रो जनताको माया र साथ पाएर पनि यिनी किन down to earth हुन नसकेका होलान् ? अहिले बालेन देशको प्रधानमन्त्री भएका छन् ।
राजनीतिमा यो मान्छे घमण्डी छ भन्नु भनेको ठूलो गाली मानिन्छ । त्यसमाथि उनलाई मत दिएर जिताउनेहरू नै त्यत्रो कार्यपालिका प्रमुख व्यक्ति जनताको अघि देखा परेर सामान्य किसिमले हात मिलाउँदै, मुसुक्क हाँस्दै दरिलो जनसम्पर्क गर्न आवश्यकता नै नठान्नु पनि ठूलो अपमान ठान्न थालेका छन् ।
दोश्रो कुरा कुटनीतिमा पनि यिनी कमजोर देखिए । कुनै पूर्वाधार विना यिनी बाघको जुँगा थुत्न अघिसरे । नेपालको सामू भारत एउटा अजंड्गको बाघ हो, त्यसलाई जिस्काउन ठूलै तयारी चाहिन्छ । लहडमा केटौले पाराले गुमेको भूभागको कुरा उठाएर उनले वुद्धिमानी गरेनन् । भारतलाई चिल्लो घसेर जुन काम गर्न सकिन्थो , त्यो गरेनन् बालेनले ।
उसैको जुंगा तान्न सक्ने हैसियत हाम्रो छैन , यो कटु सत्य हो । भारत दक्षिणपूर्वमा लोकप्रिय छैन, त्यसलाई कुटनैतिक तवरले मात दिने कौशल बालेनले देखाऊनु पर्थ्यो ।
फेरि,अर्को याद राख्नुपर्ने कुरा के छ भनें , नेपालको राजनीतिमा माफियातन्त्र हाबी भएको आज देखि होइन , त्यसको तार भारतसंग जोडिएको छ । एकचोटीको नेपाली सधैंको नेपाली भनें जस्तै एकचोटीको भारतीय सधैंको भारतीय ठान्ने नेपालमा धेरै छन् , खासगरी व्यापारीहरु। दौरा सुरूवाल लगाउँदैमा नेपाली त कहिएला तर नेपालीको आत्मा कहाँबाट ल्याउने ?
हामी अमेरिकामा बस्छौं , तर मन सधैं नेपालमै हुन्छ । नेपालको राजनैतिक सामाजिक र आर्थिक कुरामा हाम्रो बरोवर चासो हुन्छ , तेस्तै हो नेपालमा बसेर व्यापार गरेर बसेका भारतीय व्यापारीहरू पनि । तिनमा हात हाल्दा ठूलै तयारी हुनुपर्छ , नभए भारत रिसाउने कुरा त छदैछ , हाम्रो अर्थतन्त्रमा पनि ठूलो भूईचालो जानसक्छ ।
भारत रिसाउनु भनेको विभिन्न बहानामा नेपाललाई दुःख दिनु हो । मलाई थाहा छ यस्मा बालेनको गल्ती छैन, तर भारतको कुटिलचालहरू बालेनेले बुझ्नु जरूरी छ । जसरी चेस खेलिन्छ , राजनीतिमा पनि चालहरू खुवै बुद्धि पुऱ्याएर चल्नुपर्छ ।
बालेन घेरिनुको अर्को कारण उनले आफूलाई मधेससंग कनेक्ट गर्न चाहदैनन् । मधेस बालेनलाई अप्पन बेटा भन्छ, त्यसलाई बालेनले आफ्नो बल ठानेनन् । अनि परेको बेला उनलाई साथ कस्ले दिन्छ ? कोसंग गुहार माग्ने बालेनले ? नेपालको राष्ट्रियभाषा दुइटा छन् , नेपाली र मैथली । नेपालको दैनिकी कामकाजको भाषा मैथली हुनेगर्थ्यो भनेर भरखर धरानको एउटा पुस्तकमा एक प्राध्यापकले सविस्तार व्याख्खा गरेको पढेर मेरो भ्रमपनि हटेर गयो । किन बालेन मधेसबाट टाढिएर स्वयं घेरिन चाहन्छन् ?
भारतको सम्पर्कसूत्र घरका भेदी अमरेश बालेनकै पार्टीमा छिरेका छन् । अमरेश विभिषण हुन् बालेनको कमजोर नाभीको ज्ञान उनलाई छ ।
हालको यो सम्प्रदायिक कुरा हामीले पहिले कहिले सुनेका या देखेका थिएनौं । यो आज बालेनको पालामा किन भइरहेछ ? छ यस्को कुनै अन्दाज ?
यो पनि माफियातन्त्रको एउटा कूचाल हो । बालेनले अलि समझदारी र कुटनीतिले चाल चल्नुपर्ने देख्छु । लाग्छ,उनी चारैतिरबाट घेरिदैछन् ।
नेपालको हालको बस्तुस्थिति वालुवा छान्ने जाली जस्तै छ, यसमा भ्रष्ट्राचार र माफियातन्त्रका हजारौं छिद्रहरू छन् । एउटा टाल्यो, अर्को देखा पर्छ । कठिन बाटोमा एक्लै छामछाम छुमछुम गरेर हिंडनुभन्दा वुद्धि पुऱ्याएर कुटनीतिको माध्यमवाट मात्र नेपालका समस्याहरू समाधान गर्न सकिन्छ । म ठीक , अनि म मात्र ठीक भन्ने भ्रम जबसम्म रहन्छ , बालेनको घेरिनेक्रम जारी रहन्छ । यो यस्तो चक्रव्यूह हो, यसबाट सुरक्षित निस्कन निकै गाऱ्हो देखिन्छ ।












प्रतिक्रिया