अमेरिका समाचार

खाडी मुलुकको अपिलपछि इरानमा नियोजित आक्रमण स्थगित गरेको ट्रम्पको भनाइ

खाडी मुलुकको अपिलपछि इरानमा नियोजित आक्रमण स्थगित गरेको ट्रम्पको भनाइ


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

वासिङ्टन । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को अपिलपछि अमेरिकाले इरानमाथि नियोजित आक्रमण स्थगित गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता जारी रहेका बेला इरानमाथि सैन्य कारबाही नगर्न आग्रह गरेको उल्लेख गरेका छन् ।

Advertisement

ट्रम्पले अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाहीको योजना बनाइरहेको भए पनि शान्ति सम्झौताको सम्भावनालाई ध्यानमा राख्दै खाडी मुलुकका नेताहरूको आग्रहपछि आक्रमण स्थगित गरिएको बताएका छन् ।

हाल गम्भीर स्तरमा वार्ता भइरहेको उल्लेख गर्दै उनले अमेरिका, मध्यपूर्वका देशहरू र अन्तर्राष्ट्रिय समुदायका लागि स्वीकार्य हुने गरी सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

उनले सम्भावित सम्झौतामा इरानलाई आणविक हतियार विकास गर्न नदिने विषय स्पष्ट रूपमा समावेश हुने बताएका छन् । साथै खाडी मुलुकका नेताहरूप्रतिको सम्मानस्वरूप अमेरिकी रक्षा सचिव पीट हेग्सेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन तथा अमेरिकी सेनालाई आक्रमण स्थगित गर्न निर्देशन दिएको जनाएका छन् ।

तर, स्वीकार्य सम्झौता नभए इरानमाथि तत्काल सैन्य कारबाही अघि बढाउन पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गरेपछि तनाव थप बढेको बताएका छन् । इरानको आणविक कार्यक्रमलाई लिएर तनाव चुलिँदै जाँदा वासिङ्टनले कूटनीतिक र सैन्य दुवै विकल्पमाथि विचार गरिरहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासन वार्तामार्फत समाधान खोज्न इच्छुक भए पनि तेहरानले अमेरिकाले प्रस्ताव गरेका केही छुटहरू अस्वीकार गरेपछि वासिङ्टन निराश बनेको छ ।

इरानको पछिल्लो प्रति–प्रस्ताव आइतबार राति पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाइएको बताइएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार उक्त संशोधित प्रस्तावमा अघिल्ला प्रस्तावहरूको तुलनामा सीमित परिवर्तन मात्रै समावेश छन् । एएनआई