न्युयोर्क

न्युयोर्कमा झल्कियो नेपाल

न्युयोर्कमा झल्कियो नेपाल

नेपाल डे परेड भव्य रुपमा सम्पन्न


न्युयोर्क (अमेरिका)- न्युयोर्कमा नेपाल डे परेड उत्साहपूर्वक सम्पन्न भएको छ । मे १७ तारिख आइतबारका दिन न्युयोर्कको अति व्यस्त शहर म्यानहाटनमा नेपाल डे परेडमा सहभागी हुन हजारौं नेपालीहरु भेला भएका थिए ।

Advertisement

नेपालकै विविधता झल्किने गरी विभिन्न भाषा भाषी तथा भेषभुषामा सजिएका नेपालीहरुलाई अन्य नागरिकहरुलेपनि चाखमानी नियालेका थिए भने कतिपयले त नेपाली मौलिक संस्कृतिलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे ।

न्युयोर्कको म्यानहाटन संसारकै प्रशिद्ध शहर मध्येको एक भएकोले सो स्थानमा नेपाल डे परेड गर्नु आफ्रैमा गौरवको विषय भएको परेडका मेडिया कोेर्डिनेटर बैगम पण्डितले जनाए । अघिल्ला बर्षहरुमा पनि नेपाल डे परेड हुंदै आएको हो, तर यसपटक अघिल्ला बर्षहरुमा नसमेटिएका तथा सहभागी नभएका नेपाल आदिवासी जनजाती महाँसंघ अमेरिका फिप्ना लगायतका संस्थाहरुको उल्लेख्य सहभागीताले परेडलाई अझ व्यापक र विविधतापुर्र्ण बनाएको न्युयोर्कका सामाजिक अगुवा कृष्ण आचार्यले बताए ।

देउडा देखि मैथीली, घाटु पटासी र गुन्यु चोलीले सजिएको न्युयोर्क

नेपाल डे परेड मनाउन नेपालको हिमाल देखि पहाड र तराई, शेर्पा देखि थारु समुदायको प्रतिनिधित्व गर्दै विविध समुदायले आफ्नो भेषभुषा सहित उपश्थिती जनाएर नेपाल विविधतामा कम छैन भन्ने सन्देश दिएका थिए । सुदुरपश्चिमेलीको देउडा, विभिन्न जनजातीहरुका मौलिक बाजागाजा तथा मध्य नेपालमा प्रख्यात पञ्चेबाजाले न्युयोर्कको म्यानहाटन गुञ्जायमान भएको थियो ।

नेवार समुदायको मौलिक संस्कृति लाखेनाचदेखि तामाङ, गुरुङ तथा शेर्पा समुदायको पहिचान तथा संगीतले नेपालीहरु साँस्कृतिक रुपमा निकै धनी छन भन्नेपनि विश्व समुृदायले महशुष गर्यो । नेपालका क्षेत्रीय, जातीय तथा अन्य विभिन्न सँघसंस्थाहरुकोे उपश्थितीले न्युयोर्कको म्यान हाटनलाई नेपालमय बनाउन मद्धत गरेको थियो ।

पहिलोपटक नेपाल डे परेडमा सहभागी दिनेश बजगार्ई नेपालको झल्कोले भावुक बने

दिनेश बजगाई अमेरिका आाएको एक बर्षपनि भएको छैन । उनी नेपाल डे परेडमा सहभागी हुन कनेक्टीकटबाट न्युयोर्क आएका हुन । संसारकै राजधानी न्युयोर्क अनि म्यानहाटन शहरका आकाश छुने भवनका फराकिला सडकमा नेपाल झल्किंदा बजगाई नेपाल सम्झेर भावुक बने ।

नेपालबाट बसाइ सरेर अमेरिका आएपछि एकै पटक धेरै नेपाली देखेको भेटेको तथा आफ्नै बाजा र तालमा नाच्न पाएको पहिलो पटक भएका कारणपनि भावुुक बनेकोे बताए । गोलार्धको ठिक विपरित धु्रवमा रहेको अमेरिकामा यति धेरै नेपालीहरु जम्मा भएको देख्दा बजगाईले देश केबल भुगोलमात्र होइन, यो त भाषा, संस्कृति तथा रितीरिवाजपनि हो जुन मानिससंगै संसार विचरण गर्छ भन्ने अनुभुती भएको बताए ।

न्युयोर्कको परेडमा फिप्नाको उपश्थितीले थपेको रौनक

नेपाल डे परेडको आधिकारीकता विवादका कारण विगत केही बर्षदेखि नेपाल आदिवासी जनजाती महाँसंघ अमेरिका सहभागी भएको थिएन । जसले विगतका परेडमा केही खल्लो महशुष हँदै आएको थियो । तर यसपाली नेपाल डे परेडका कन्भेनर नै फिप्नाका अध्यक्ष एपी लामा शेर्पा हुनु र फिप्नालाईपनि आधिकारिक आयोजकका रुपमा स्वीकारीएका कारण विभिन्न जातीय संस्थाहरुको उपश्थिती व्यापक बन्न सक्यो ।

परेडको विवाद मिलाउन यसपटक एनआरएनए न्युयोर्क च्याप्टर र फिप्नाका पदाधिकारी लगायतका नेपााली समुदायका अगुवाहरुको सक्रीयताले परिणाम दिन सकेको देखिन्छ ।

न्युयोर्कको नेपाल डे परेडको अध्यक्ष एनआरएनए न्युयोर्क च्याप्टका अध्यक्ष बासु लामिछाने कन्भेनरमा फिप्नाका अध्यक्ष एपी लामा शेर्पा तथा सरक्षकमा न्युयोर्क स्थित महाबाणिज्य दुतावास रहेका छन । परेडकोे लागि आर्थिक लगायत विभिन्न समितिहरु गठन गरिएको थियो ।