अमेरिका समाचार

ह्युस्टनमा नेपाली महिला सम्मेलन

ह्युस्टनमा नेपाली महिला सम्मेलन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस

मार्च ८, ह्युस्टन, टेक्सस।

Advertisement

आज अन्तर्राष्ट्रिय नारी दिवस। यो वर्ष महिला अधिकार र समानताका लागि संयुक्त राष्ट्रसंघीय संस्था ‘यूएन-वुमन’ निर्धारण गरेको मुख्य नारा—“Rights. Justice. Action. For ALL Women and Girls” (सबै महिला र बालिकाका लागि अधिकार, न्याय र ठोस कार्य/कदम) सहित संसारभर मनाइएको छ।

अन्तराष्ट्रिय नारी दिवसको संक्षिप्त नारा ‘Give to Gain’  भावार्थ अनुरुप ‘समय, सीप, सहयोग वा अवसर’ बाँड्दा महिलाहरू मात्र होइन, सम्पूर्ण समाज नै बलियो हुन्छ भन्ने मान्यता राखिएको पाइन्छ। समानता कानुनमा मात्र होइन, व्यवहारमा पनि हुनु पर्ने महिला अधिकारकर्मीहरुको आवाज छ। ताजा तथ्याङ्कहरुले पनि महिलाहरू औसतमा पुरुषको करिब ६४% मात्र कानुनी अधिकार पाउँछन् भन्ने देखाइरहेकाछन्। त्यसैले पनि यो वर्ष महिला र पुरुषबीच कानूनी अधिकारको पहुँचमा रहेको असमानता घटाउने लक्ष्य महिला अधिकार र समानताका लागि काम गरिरहेका अन्तराष्ट्रिय संघसंस्थाहरुले राखेकाछन्। यस वर्षको नारी दिवस उत्सवमा भन्दा समानता, न्याय र वास्तविक परिवर्तनका लागि सामुहिक कदम चाल्न सरोकारवालाहरुलाई सक्रिय हुनमा केन्द्रित रहेको देखिन्छ।

यसै सन्दर्भमा ह्युस्टनका नेपाली अगुवा महिलाहरुले गत सप्तान्तमा एक विशेष महिला सम्मेलनको आयोजना गरेकाछन्। दोश्रोपटक आयोजित महिला सम्मेलनमा ह्युस्टन वरिपरिका एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्। ह्युस्टनमा विभिन्न पेशामा आबद्ध अगुवा महिलाहरुको समुह ‘नेप्लिज वुमन लिडरशिप कमिटी’ले नेप्लिज एशोसिएसन अफ ह्युस्टनसँगको सहकार्य सो विशेष सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा बृहत्तर ह्युस्टन क्षेत्रका विभिन्न पेशा र व्यवसायमा आबद्ध अगुवा महिलाहरू तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। गत शनिवार आयोजित सम्मेलनले महिला सशक्तिकरण, ज्ञान/सीप आदान–प्रदान तथा सामुदायिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो।

सम्मेलनमा दृष्टिविहीन महिला अधिकारकर्मी एवं प्रेरक-वक्ता बुना दाहाल प्रमुख वक्ता रहेकी थिइन्। संयुक्त राष्ट्र संघ  लगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा महिला अधिकार, न्याय, र समानताका विषयमा प्रखर वक्ता रहिसकेकी दाहालले महिलाहरूलाई आत्मविश्वासी बन्न, चुनौतीहरूलाई अवसरका रूपमा लिन, असफलताबाट नआत्तिन र सही समयमा सही निर्णय गर्न प्रेरित गरिन्। स्थानीय महिला नेतृत्वलाई आ-आफ्नो क्षेत्रबाट महिला अधिकार र सामाजिक न्यायका लागि सक्रिय रहिरहन उत्प्रेरित गरेकी दाहालले प्रवासमा नेपाली महिलाहरुले गरिरहेको पेशागत एवं व्यवसायिक सफलताको प्रशंसा गरेकी थिइन्।

सम्मेलनमा बृहत्तर ह्युस्टनका सामाजिक एवं पेशागत क्षेत्रमा सफल नेपाली महिला वक्ताहरूले पनि विभिन्न विषयमा प्रस्तुति दिएका थिए। वक्ताहरूले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य, पारिवारिक सन्तुलन र सामाजिक भूमिकाको महत्त्वबारे जोड दिएका थिए। सम्मेलनमा  क्यान्सर-सर्भाइवर जिनु कर्माचार्य, डा. सन्जना भट्टराई, प्रशान्ति पण्डित, लयर समिक्षा अधिकारी, सारा बस्नेत, विजिता जोशी, उषा झा, डा. मनिषा श्रेष्ठ, यूनिश केसी, व्रिटनी क्वेजदा लगायतका वक्ताहरुले विविध विषयगत प्रस्तुतिसंगै सफलताका कथाहरु, जीवन-भोगाइका अनुभवहरू सुनाएका थिए। उनीहरुको प्रस्तुतिमा सामाजिक अवरोधहरूका बाबजुद शिक्षा र पेशागत क्षेत्रमा कसरी उल्लेखनीय प्रगति गर्न सकियो भन्ने प्रेरणादायी कथाहरू समेटिएका थिए।

सम्मेलनमा अमेरिकी सरकारको नयाँ आप्रवासन नीति,  आईसीई (ICE) द्वारा जारी धरपकड, गैरकानूनी रुपमा रहेकाहरुले वेहोर्नु पर्ने कानूनी झमेला, कानूनी उपचार र सुरक्षित रहने उपायहरूको बारेमा समेत जानकारी मूलक सेसन समावेश गरिएको थियो।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (AI) लगायतका कम्प्यूटर प्रविधिबाट कसरी नेपाली महिलाहरूले फाइदा लिन सक्छन् भन्ने विषयदेखि आर्थिक सशक्तिकरणले महिलाहरुको आय व्यवस्थापन, आर्थिक सुरक्षा लगायत सम्पत्ति निर्माणका उपायहरूबारे निकै उपयोगी सेसनहरु पनि समावेश गरिएको आयोजक प्रशान्ती पण्डितले हिमालय खबरलाई जानकारी गराइन्।

सम्मेलनमा यस वर्षको नारी दिवसको नारा- ‘गिभ टु गेन” संग सामन्जस्यता कायम गर्ने “मातृ प्यानल” समेत आयोजना गरिएको थियो। प्यानलमा आमाहरूले आजको डिजिटल र व्यस्त जीवनशैलीका बिच बालबालिकालाई भावनात्मक रूपमा सन्तुलित बनाउँदै हुर्काउन सकिन्छ र कस्ता सामाजिक एवं मनोवैज्ञानिक चुनौतीहरू छन् भन्ने विषयमा समेत नेपाली महिलाहरुको अनुभव साटासाट गरेका थिए।

सम्मेलनस्थलमा स्थानीय नेपाली महिला उद्यमी तथा व्यवसायीहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन एवं बिक्री व्यवस्था गरिएको आयोजकहरुले बताएकाछन्।

तस्बिरः मेनुका कार्की/ प्रशान्ति पण्डित/ एलिना शाक्य/उषा झा

शेयर गर्नुहोस:

27
Shares