मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार

ग्रेटर अस्टिनमा ऐतिहासिक महाशिवरात्री , करिब ६ हजार भक्तजनको सहभागिता (फोटो फिचर)

ग्रेटर अस्टिनमा ऐतिहासिक महाशिवरात्री , करिब ६ हजार भक्तजनको सहभागिता (फोटो फिचर)

पहिलो पटक व्यवस्थित पार्किंगबाट ६,२३३ डलर संकलन


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

अस्टिन, टेक्सास – ग्रेटर अस्टिन नेपाली सोसाइटी (ज्ञान्स)को आयोजनामा श्री पशुपतिनाथ मन्दिर हट्टोमा सम्पन्न यस वर्षको महाशिवरात्री पर्व ऐतिहासिक रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार बिहानदेखि साँझसम्म करिब ६ हजार भक्तजनले मन्दिर परिसरमा उपस्थित भई पूजा–अर्चना, रुद्राभिषेक, महाआरती तथा विविध धार्मिक–सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए।

Advertisement

 

यस वर्ष पहिलो पटक लागू गरिएको व्यवस्थित पार्किंग प्रणालीबाट ६,२३३ अमेरिकी डलर संकलन भएको आयोजकले जानकारी दिएका छन्। विगतका वर्षहरूमा अत्यधिक भीडका कारण पार्किंग व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएपछि यसपटक सीमित अग्रिम पे–पार्किंग र निःशुल्क शटल सेवासहित नयाँ व्यवस्थापन मोडेल अपनाइएको थियो। भक्तजनको उल्लेखनीय उपस्थितिका बीच पनि व्यवस्थापन तुलनात्मक रूपमा प्रभावकारी रहेको जनाइएको छ, यद्यपि पार्किंग अझै प्रमुख चुनौतीका रूपमा देखिएको छ।

कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै ज्ञान्सका उपाध्यक्ष निरोज मानन्धरले यस वर्षको महाशिवरात्री अत्यन्तै भव्य, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन्। करिब ६ हजार भक्तजनको सहभागिताले समुदायको आस्था र एकतालाई झल्काएको उल्लेख गर्दै उनले स्वयंसेवकहरूको योगदान निर्णायक रहेको बताएका छन्। पार्किंग, सुरक्षा, प्रसाद वितरण तथा भीड व्यवस्थापनमा खटिएका स्वयंसेवकहरूको समर्पण र सक्रियताले कार्यक्रमलाई व्यवस्थित बनाउन ठूलो भूमिका खेलेको उनको भनाइ थियो।

त्यस्तै, ज्ञान्सका पूर्व अध्यक्ष भोजराज भट्टले महाशिवरात्री उत्सवलाई प्रवासी नेपाली समुदायको गौरवपूर्ण उपलब्धि बताएका छन्। उनका अनुसार यो केवल धार्मिक कार्यक्रम मात्र नभई नेपाली घर–संस्कृति, परम्परा र आस्थालाई प्रवासमा जगेर्ना गर्ने महत्वपूर्ण अवसर बनेको छ। भक्तजनको संख्या वर्षेनी बढ्दै गएको उल्लेख गर्दै उनले अब पार्किंगका लागि थप स्थान, पूर्वाधार विस्तार र दीर्घकालीन व्यवस्थापन योजना आवश्यक भएको बताएका छन्। समुदायको आर्थिक सहयोग र दानले मात्र भविष्यमा अझ सुदृढ संरचना निर्माण सम्भव हुने उनको धारणा थियो।

यस वर्षको महाशिवरात्रीमा युवापुस्ताको उल्लेखनीय सहभागिता पनि देखिएको छ। अस्टिनमै जन्मेर हुर्किएका युवाहरूले आफ्नो मूल संस्कृति र पहिचानप्रति गर्व व्यक्त गर्दै स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।स्वयंसेवक एलिसा भण्डारीले अस्टिनमै हुर्किँदै आफ्नो नेपाली जरा र सांस्कृतिक पहिचानसँग जोडिन पाउनु गर्वको विषय भएको बताएकी छिन्। मन्दिरजस्ता अवसरमा स्वयंसेवा गर्नु आफ्ना मूल–जडसँग पुनः जोडिने र संस्कृतिलाई व्यवहारमै उतार्ने महत्वपूर्ण माध्यम भएको उनको अनुभूति थियो।

कार्यक्रमकी स्वयंसेवक एलिसा भण्डारी

मन्दिरमा स्वयंसेवकको रूपमा खटिएकी सपना घिमिरेले यस वर्षको व्यवस्थापन विगत वर्षहरूको तुलनामा अझ व्यवस्थित र संयोजित भएको उल्लेख गरेकी छन्। विशेषगरी यहाँ जन्मेर हुर्किएका किशोर–किशोरी र युवाहरूको सक्रिय सहभागिताले स्वयंसेवा संस्कृतिलाई नयाँ उचाइ दिएको उनले बताइन्। दोस्रो पुस्ताका नेपाली युवाहरूले आफ्ना अभिभावकको संस्कार र परम्परालाई व्यवहारमा उतार्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउनु समुदायका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

मन्दिर कार्यकारी समितिले महाशिवरात्रि अवसरमा संकलित कुल दानराशिको विस्तृत विवरण चाँडै नै मन्दिरको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ। पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै सम्पूर्ण आय–व्यय विवरण समुदायसमक्ष प्रस्तुत गरिने बताइएको छ।

आयोजकहरूले भक्तजनको बढ्दो संख्यालाई ध्यानमा राख्दै आगामी वर्षहरूमा पार्किंग र पूर्वाधार विस्तारका लागि समुदायसँग सहयोग र दान गर्न अपिल गरेका छन्।

तस्बिरहरु: भीषण न्यौपाने- हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares