अस्टिन, टेक्सास । ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) द्वारा आयोजित ट्रस्टी भेला भव्यतापूर्वक सम्पन्न भएको छ। ट्रस्टी परिवारका सदस्यहरूको सहभागिता रहेको भेलाले संस्थाको हालसम्मको प्रगति, उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे गहन छलफल गरेको छ। ग्यान्सको सामुदायिक तथा आध्यात्मिक केन्द्रलाई पशुपतिनाथ–बुद्धसहितको पवित्र तीर्थस्थलका रूपमा विकास गर्ने दीर्घकालीन सपनालाई साकार पार्ने दिशामा यस भेलाले स्पष्ट मार्गनिर्देशन दिएको आयोजकले बताएका छन्।

कार्यक्रमको उद्घाटन डायमण्ड लेभल डोनर तथा संरक्षक निर्मल श्रेष्ठ, सामाजिक अगुवा कला उप्रेती, वरिष्ठ साहित्यकार मोहन सिटौला तथा अन्य अग्रज व्यक्तित्वहरूबाट गरिएको थियो। उद्घाटन सत्रमै डायमण्ड लेभल डोनर रामकुमार महतोले आगामी आयोजनालाई थप बल पुग्ने गरी २०,१०० अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको थियो, जससँगै उहाँको कुल आर्थिक योगदान ७०,९०३.५२ डलर पुगेको छ। यस्तै, कृष्ण तथा सीता श्रेष्ठ र नवीन नरालले गोल्ड लेभलमा योगदान पुर्याउने घोषणा गर्नुभएको छ भने विभिन्न ट्रस्टीहरूले प्लाटिनम र सिल्भर लेभलमा किस्ताबन्दीमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चिसो मौसमका बाबजुद लामो समयसम्म चलेको छलफलमा ट्रस्टीहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको थियो। भेलामा ग्यान्सले हालसम्म गरेका कार्यहरूको समीक्षा गर्दै बाँकी रहेका चुनौतीहरू पहिचान गरिएको र तिनको समाधानका उपायहरूबारे सामूहिक रूपमा विचार–विमर्श गरिएको थियो। संस्थागत पारदर्शिता, दीर्घकालीन योजना र सामुदायिक एकताको आवश्यकता माथि जोड दिँदै सहभागीहरूले आगामी दिनमा अझ व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राखेका थिए।

संचालक समिति संयोजक गेहेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन अध्यक्ष तथा सदस्य–सचिव बिदुर खतिवडाले गर्नुभएको थियो। सह–संयोजक देवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निरोज मानन्धरले आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो भने प्रविधि प्रमुख प्रद्युम्न श्रेष्ठले भावी योजनासम्बन्धी प्रस्तुति दिनुभएको थियो। भेलामा प्रस्तुत प्रतिवेदनहरू हलमा व्यापक छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिएको थियो।

हाल २७१ ट्रस्टी परिवार आबद्ध ग्यान्समा ट्रस्टीहरूलाई मात्र सहभागी गराई सम्पन्न गरिएको यो पहिलो औपचारिक भेला भएको आयोजकले जनाएको छ। सामुदायिक केन्द्रलाई केवल भवनमा सीमित नराखी भावी पुस्ताका लागि सांस्कृतिक, आध्यात्मिक र सामाजिक पहिचानको केन्द्र बनाउने लक्ष्यप्रति ट्रस्टीहरू दृढ देखिएका छन्। ऐतिहासिक उपलब्धिको यो सुरुवात निरन्तर सहकार्य, उत्साह र प्रतिबद्धताबाट पूर्णतामा पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।











प्रतिक्रिया