ड्यालस (अमेरिका) । उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका एक किशोर विगत चार दिनदेखि वेपत्ता भएपछि परिवार र आफन्तजनहरु चिन्तित भएका छन् । उनीहरुले खोजीकार्य अघि बढाउनका लागि सरकारी निकाय तथा संघसंस्थाहरुसँग आग्रह गरेका छन् ।
विदुर नगरपालिका डेउडी घर भएर हाल काठमाडौं गोलढुङ्गाका कुशल अर्याल टेक्ससको फोर्टवर्थबाट बिहीबारदेखि हराएका छन् । केही महिना अघिमात्र युटाह राज्यबाट टेक्सस सरेका अर्याल के कारणले बेपत्ता भए ? कहाँ छन् ? भन्ने बारेमा सँगै बसेका साथी र परिवारका सदस्यहरु समेत बेखबर छन् ।
एक जना साथीसँग रुम शेयरिङ्गमा बस्दै आएका उनी साथी घरमा नभएको मौका पारेर निस्किएका थिए । स्रोतका अनुसार केही दिनदेखि तनावमा देखिएका र नेपालमा रहेकी दिदी र परिबारसँग पनि त्यस्तै व्यबहार गर्दै आएका थिए ।
उनले मोटरसाइकल चढ्ने गरेका थिए । हेल्मेटलाई कोठामै छाडेर उनी बाइक चढेर निस्किएका थिए । उनले ल्यापटप, आफ्नो लुगाफाटो लगाएतका चिजहरु रहेको सुटकेश कोठामै छाडेर निस्किएका छन् । फोन समेत कोठामै छाडेर गएकोले लोकेसन ट्रयाक गर्न कठिनाई भएको उनका दाजु नाता पर्ने अनिश डङ्गोलले हिमालयखबरसँग बताए ।
‘प्रहरीमा जाहेरी दिइसकेका छौँ, मोटरसाइकल कस्को नाममा दर्ता छ भन्ने पत्ता लगाएर खोजबिन गर्ने कार्य भैरहेको छ’ डङ्गोलले भने । २० बर्षिय अर्याल अर्भिङ्गस्थित नर्थलेक कलेजमा एसोसियट डिग्री अध्ययनरत थिए ।
सामाजीक सञ्जालमा लेखिए अनुसार उनको मोटरसाइकल आर्लिंगटनको ग्याँस स्टेशन बाहिर पार्किंगलटमा फेला परेको छ । तर मानिस भने फेला परेका छैनन् ।
नेपाली समाज टेक्ससले समेत अर्यालको खोजीकार्य अघि बढाउन बिभिन्न निकाय र परिवारसँग समन्वय गरिरहेको छ । महासचिव विजय भुसालले दाजु नाता पर्ने अनिश, नेपालमा रहेका परिवार प्रहरीसँग समन्वय गरिरहेको बताए ।
विद्यार्थी भिसामा अमेरिकामा रहेकाहरु पछिल्लो समय काम नपाउँदा र कलेजको पढाईका कारण निकै तनावमा गुज्रिरहेका छन् । यस्तो अवस्थामा नेपालमा रहेका परिवारका सदस्यहरुले मानसिक दवाव दिँदा उल्टो असर पर्ने हुँदा पढाईमै फोकस हुन र चार वर्षसम्म थेग्नसक्ने आर्थिक हैसियत भएमात्र व्याचलर अध्ययनका लागि छोराछोरीलाई अमेरिका पठाउन समुदायका सदस्यहरुले आग्रह गरिरहेका छन् ।












प्रतिक्रिया