मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

पार्टी बिनाको प्रजातन्त्र अपाङ्ग हुन्छ

पार्टी बिनाको प्रजातन्त्र अपाङ्ग हुन्छ


शेयर गर्नुहोस:

3.2k
Shares

  • change font
  • change font
  • change font

करिब एक महिना पहिले अर्थात गत भाद्र २३ र २४ गते नेपालमा जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनले “पार्टीबिनाको प्रजातन्त्र अपाङ्ग हुन्छ” भन्ने भनाइलाइ पुनः पुष्टि गरेको छ। भ्रष्टाचार उन्मूलन र सुशासन स्थापनाको उद्देश्यले सुरु भएको यो आन्दोलन छोटो अवधिमै व्यापक जनसमर्थन जुटाउन सफल भयो। तर, यसको ठोस उपलब्धी भने शून्य नै त हुँदैन भन्ने शंका उब्जाएको छ ।

विचार, दिशा र नेतृत्वविहीन आन्दोलनः

Advertisement
ADVERTISEMENT

यो आन्दोलनले अहिलेसम्म कुनै स्पष्ट विचारधारा, दिशा वा नेतृत्व निर्धारण गर्न सकेको छैन। बरु देश अझै अँध्यारो र अशान्तिको दलदलतिर तानिँदै गएको आभास हुन्छ। दण्डहीनता, कानुनको उल्लङ्घन र नेतृत्वविहीनताको कारण मुलुक अस्थिरताको चक्रमा फसिरहेको स्पष्ट देखिन्छ।

देशलाई दिशा दिने शक्ति — विचार र एकताः

देशलाई सही दिशामा लैजान सक्षम, दूरदर्शी र सबै वर्गलाई समेट्ने राजनीतिक विचारको आज जरूरत छ। जनता भनेको केवल युवा वा जेन जी समूह मात्र होइन सम्पूर्ण वर्ग, समुदाय र भूगोलका प्रतिनिधिहरूको साझा स्वर हो। जबसम्म सबै वर्गलाई समेट्ने न्यायपूर्ण व्यवस्था लागू हुँदैन, तबसम्म देशमा दिगो शान्ति सम्भव छैन।

पार्टी भनेको दुई–चार जना नेताको निजी घर होइन, जहाँ मनपर्दी गर्न सकिन्छ वा केवल आफू मात्र रहिरहन खोजिन्छ। पार्टीहरू लोकतन्त्रका आधारस्तम्भ हुन्, जसले विचार, मूल्य र जनमतको बलमा काम गर्नुपर्छ। त्यसैले, पहिले नै स्थापित ऐतिहासिक पार्टीहरू लाई भत्काएर “प्रजातन्त्र बलियो बनाउँछु” वा “सुशासन ल्याउँछु” भन्ने नारा मात्रै दिँदा लोकतान्त्रिक मूल्य स्थापित हुँदैन।
वास्तविक परिवर्तन विचार, सिद्धान्त र जनमतको बलमा मात्र सम्भव हुन्छ।

लोकतन्त्रमा पुराना पार्टीहरू रहनु कमजोरी होइन, बरु तिनै संस्थाहरू सुधार गरेर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ। नेताहरू गलत बाटोमा लागे भने कार्यकर्ताले खबरदारी गर्नुपर्छस आफ्नै घर भत्काएर अर्को खोज्नेभन्दा आफ्नै घर सुधार्नु बुद्धिमानी हो।

आन्दोलनको उपलब्धि र चुनौतीः

हालैको आन्दोलनले अहिलेसम्म कुनै ठोस परिणाम देखाउन सकेको छैन। न स्पष्ट नेतृत्व छ, न जिम्मेवारीको संरचना, न कार्यदल, टाउको पनि छैन, पुच्छर पनि छैन जस्तो अवस्था छ। के हासिल गर्न खोजिएको हो र के प्राप्त भयो भन्ने चासो अझै अनुत्तरित छन्। सर्वसाधारण नागरिकले यसबाट के आशा गर्ने भन्ने पनि स्पष्ट छैन।

सरकारको हालसम्मको प्रमुख घोषणा आगामी फागुन २१ मा चुनाव गराउने तयारी हो। तर त्यो यथार्थपरक कति छ ? यदि चुनाव भए पनि पुराना पार्टीहरूलाई विस्थापित गरेर नयाँ सशक्त शक्ति उभ्याउने अवस्था देखिँदैन। संविधानअनुसार नै चुनाव भए पनि पुराना पार्टीहरूलाई किनारामा राख्दा जनादेश कस्तो आउँछ भन्ने प्रश्न अझै गम्भीर छ।

भ्रष्टाचार नियन्त्रण, चुनाव सुनिश्चितता र सुशासन यी सबैमा सरकार असमर्थ देखिएको छ।
फलस्वरूप आन्दोलनका मागहरू पूरा हुने सम्भावना न्यून छ । आन्दोलनकारीहरू आफैं पनि जनसमर्थन विस्तारमा असफल देखिन्छन्।

अबको परिवर्तन नेताबाट होइन, कार्यकर्ताबाटः

जेन-जी आन्दोलन पुराना पार्टीहरूको विरोधमा केन्द्रित भए पनि ती पार्टीहरूको सहभागिता र सुधारबिना दीर्घकालीन स्थिरता सम्भव छैन सरकारले न आन्दोलनका मागहरू पूरा गर्न सक्छ, न आन्दोलनकारी स्वयम् त्यसलाई संस्थागत रूपमा लागू गर्न सक्षम छन्। त्यसैले अबको परिवर्तन नेताबाट होइन, इमानदार, निडर र जिम्मेवार कार्यकर्ताबाट हुनुपर्छ। भ्रष्ट र स्वार्थी नेताभन्दा पनि अनुशासित कार्यकर्ताले नै सुधारको नेतृत्व लिनुपर्छ। आवश्यक परे पार्टीभित्रै विद्रोह गरेर भए पनि नेतृत्व परिवर्तन गर्ने साहस उनीहरूले देखाउनुपर्छ।

विद्रोहको आवश्यकता र देशको भविष्य आजको प्रमुख आवश्यकता वा माग भनेकै पुराना भ्रष्ट नेताहरूलाई कारबाही गर्नु हो। तर वर्तमान अन्तरिम सरकार न यो कारबाही गर्न सक्छ, न समयमै चुनाव गराउन। यी दुवै काम पुराना पार्टीभित्रका इमानदार कार्यकर्ताको दृढताबाट मात्र सम्भव छन्। जब इमानदार कार्यकर्ताले आफ्नै पार्टीभित्रका असक्षम र भ्रष्ट नेताहरूलाई हटाउँछन्, तब मात्र देशमा सुशासन र लोकतान्त्रिक पुनर्जागरण सम्भव हुनेछ।
त्यसैले पार्टीभित्रको आन्तरिक विद्रोह अब अपरिहार्य छ। यो कदम देश, जनता र पार्टी — तीनैको हितमा हुनेछ। यही आजको पुस्ता, अर्थात् जेनजीको पनि वास्तविक माग हो। यदि पुराना पार्टीका कार्यकर्ताहरूले ढिलाइ गरे भने देशको भविष्य संकटमा पर्न सक्छ, र नेपाल “असफल राज्य” को रूपमा चिनिने जोखिम बढ्छ।

निष्कर्षः

देश रहँदामात्र पार्टी र राजनीति सान्दर्भिक हुन्छ। त्यसैले हरेक पार्टीका इमानदार कार्यकर्ताले आफ्नै पार्टीभित्रका अक्षम र भ्रष्ट नेताविरुद्ध आवाज उठाएर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ। यही वर्तमान परिस्थिति अनुसार देशको लागि अपरिहार्य र ऐतिहासिक कदम हो। त्यसैले अबको पालो नेताको होइन, कार्यकर्ताको हो।

शेयर गर्नुहोस:

3.2k
Shares