युलेस, (टेक्सस) । नेपाली मूलका फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा नेपाली फुटबल क्लबको घोषणा गरेका छन् ।
आइतबार युलेसमा एक संक्षिप्त पत्रकार सम्मेलनको आयोजना गरेर हुमागाईले क्लब स्थापनाको घोषणा गरेका हुन् । क्लब स्थापनाको वृस्तृत जानकारी भने आगामी सेप्टेम्बर १४ मा पीक रेस्टुरेन्टमा विशेष समारोहबीच हुने उनले बताए ।
क्लबले नेपाल र अमेरिका दुवै देशमा प्रतिस्पर्धा गर्ने दीर्घकालीन योजना बनाएको छ। हुमागाईले पत्रकार, समुदायका अगुवा, व्यवसायी, क्लब प्रतिनिधि, र खेलप्रेमीहरूलाई सम्बोधन गर्दै भने – ‘पत्रकारहरूको निरन्तर सहयोगबिना कुनै पनि पहल अघि बढ्न सक्दैन। तपाईंहरूको योगदानको लागि म गहिरो सम्मान प्रकट गर्न चाहन्छु।”
उद्घाटन समारोहमा नेपाली समुदायका क्लबहरू, आयोजकहरू, प्रायोजकहरू, पत्रकारहरू र खेलप्रेमीहरूलाई क्लबद्वारा सम्मान गरिने समेत उनले जानकारी दिए । क्लबले नेपालका ‘ए’ डिभिजन, ‘बी’ डिभिजन वा ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।
त्यस्तै क्लबले इंग्लिस प्रिमियर लिगको वेस्ट ह्याम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनिया मार्फत आधिकारिक सम्बन्ध स्थापना गर्नेछ। हुमागाईले सो संस्थामा सात वर्ष प्रशिक्षकको रूपमा काम गरिसकेको समेत बताए ।
उनका अनसार सन् २०२६ देखि क्लबले अमेरिका भरिका सबै उमेर समूहका लिगहरूमा सहभागिता जनाउनेछ । हाल क्लबमा ७२ खेलाडी प्रशिक्षणमा छन्, जसमा ४ वर्षदेखि ३५ वर्षसम्मका खेलाडीहरू छन्। ओभर–३५ टिम पनि समावेश गरिएको छ।
हुमागाईले क्लबलाई एक वर्षभित्र समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य राखेका छन् । जसले सबै सदस्यहरूलाई समान स्वामित्व, गर्व, र सहभागिता सुनिश्चित गर्नेछ। “यो मेरो मात्र होइन, सम्पूर्ण समुदायको क्लब हो,” उनले भने।
हुमागाईले नेपाल राष्ट्रिय टिमका पूर्व प्रमुख प्रशिक्षक, नेपाल प्रिमियर लिग विजेता प्रशिक्षक, अर्जेन्टिनाबाट प्रमाणित नेपाली मूलका पहिलो प्रशिक्षकका साथै नेपाली फुटबल इतिहासका पहिलो टेक्निकल डाइरेक्टरको भूमिका समेत निर्वाह गरिसकेका छन् । अमेरिकाको नागरिकता समेत लिइसकेका उनीसँग अमेरिका भित्र १० वर्षभन्दा बढी प्रशिक्षण अनुभव रहेको छ ।












प्रतिक्रिया