नेपाली भाषा र संस्कृति प्रवासमा नेपालीहरुको पहिचानको प्रमुख आधार हो। नेपाली समुदायको विस्तारसंगै अमेरिकाको विभिन्न सहरहरुमा नेपाली भाषा-साहित्यको विवेचना हुने क्रम पनि बढिरहेको छ। यसैक्रममा आइतवार अगष्ट १७ का दिन ह्युस्टनमा आदिकवि भानुभक्तको जन्म जयन्तिको अवसर पारेर साहित्यकार बिटु केसीको गजल संग्रह ‘धीत’को परिचर्चा कार्यक्रम गरिएको छ। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टनको आयोजनामा भएको सो गजल परिचर्चामा ह्युस्टनका साहित्यकार एवं अनेसास- ह्युस्टनका महासचिव मोदनाथ सदाले गजलकार बिटु केसीको हालै प्रकाशित गजल संग्रह—धीतको समालोचनात्मक टिप्पणी गर्नु भएको थियो भने अनेसास-ह्युस्टनका अध्यक्ष सतीश त्रीपाठीले गजल विधामा बिटु केसीको योगदानको चर्चाका साथै उनको दोश्रो गजल संग्रह- धीतबाट केही चर्चित गजल वाचन समेत गर्नु भएको थियो।
समारोहमा वरिष्ठ पत्रकार तारा बराल एवं धीतकी सर्जक बिटु केसीले ह्युस्टनको नेपाली समुदायले गरेको न्यानो सत्कार एवं आफ्नो कृतिको चर्चाका लागि अनेसास-ह्युस्टन, नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)ले औपचारिक कार्यक्रम नै आयोजना गरिदिएकोमा समस्त ह्युस्टनको नेपाली समुदायप्रति आभार व्यक्त गर्नु भएको थियो। वरिष्ठ पत्रकार बराल र गजलकार केसी दम्पती करिब दुई दशक ह्युस्टन बसेर दुई वर्ष अघि नेपाल फर्किनु भएको हो।
भानु जयन्तिका अवसरमा अनेसासले संचालन गरेको नेपाली कक्षामा सहभागी बालबालिका र प्रशिक्षण प्रदान गर्ने स्वंयसेवी शिक्षिकाहरुलाई सम्मान एवं उपहार प्रदान गरिएको थियो। नेपाली पाठशालाका विद्यार्थीहरुले आदिकवि भानुभक्तको जीवनीमा आधारित लघु नाटक प्रस्तुत गरेका थिए। अमेरिकामा नै जन्मे-हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र साहित्य सिकाउन स्थानीय नेपाली समुदायले गरेको योगदानले अब अमेरिकामा दोश्रो पुस्ता पनि नेपाली भाषा-साहित्यप्रत् रुचि राख्ने हुन थालेको महशुस बालबालिकाहरुले प्रस्तुत गरेका गीत, कविता र नाटकले सहजै गर्न सकिन्थ्यो।













प्रतिक्रिया