न्यूयोर्क। टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्दाको पहिलो सुनुवाइ आगामी जुलाई २९ मा हुँदैछ। पहिलो सुनुवाइका लागि मंगलबार दिउँसो २ बजेको समय तोकिएको छ।
नेश्नल टिपिएस एलायन्सको अगुवाइमा, दुई नेपालीसहित सात जना व्यक्तिगत वादीहरूले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेड स्टाटस जोगाउन संयुक्त रूपमा जुलाई ७ मा मुद्दा दायर गरेका हुन्।
युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन) का संस्थापक संयोजकमध्ये एक अनिल शाहीले प्रेस विज्ञप्ति जारी गर्दै सबै नेपाली टिपिएसधारकहरूलाई नेश्नल टिपिएस एलायन्स (NTPSA) को सदस्यता लिन आह्वान गरेका छन्। उनका अनुसार, टिपिएस खारेजको निर्णयले हजारौं नेपालीको जीवनमा प्रत्यक्ष असर पार्ने भएकाले, कानुनी सुरक्षा र समावेशिताको सुनिश्चितताका लागि सदस्यता लिनु अत्यावश्यक छ।
विज्ञप्तिमा भनिएको छ, अमेरिकी सरकारले मुद्दाको सुनुवाइका क्रममा राहत प्रदान गर्दा केवल वादीहरू वा नेश्नल टिपिएस एलायन्सका सदस्यहरूलाई मात्र समेट्न सक्ने सम्भावना छ। यदि अदालतले सरकारको आग्रहलाई मान्यो भने, सदस्यता लिएका नेपाली टिपिएसधारकहरू मात्र कानुनी सुरक्षा पाउने अवस्था आउन सक्ने भएकाले सबैलाई सदस्य बन्न अनुरोध गरिएको हो।
संयोजक शाहीका अनुसार, झण्डै ७ हजार ८ सय नेपालीहरू हाल टिपिएस अन्तर्गत रहेका छन्। नेश्नल टिपिएस एलायन्सको सदस्यता निःशुल्क रूपमा लिन सकिनेछ। सदस्यता लिएपछि, टिपिएसधारकहरूको कानुनी र राजनीतिक शक्ति बलियो हुने, अदालतको आदेश सदस्यतामा सीमित भए पनि सुरक्षित हुने, साथै टिपिएसको संरक्षणका लागि भइरहेका देशव्यापी आन्दोलनहरूमा सहभागी हुन र समयमै जानकारी पाउन सहज हुने विज्ञप्तिमा उल्लेख छ।
नेश्नल टिपिएस एलायन्सको नेतृत्वमा नेपाल, होन्डुरस र निकारागुवाका लागि मुद्दा दर्ता गरिएको हो। नेपालतर्फबाट सन्ध्या लामा, होन्डुरसतर्फबाट जोनी, र निकारागुवातर्फबाट मारिया लेना वादीका रूपमा रहेका छन्।
शाहीले सान फ्रान्सिस्को वरपर बसोबास गर्ने नेपाली समुदायलाई जुलाई २९ को सुनुवाइका दिन अदालतमा उपस्थित भई नैतिक समर्थन जनाउन पनि आग्रह गरेका छन्।
सदस्य बन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्:
https://actionnetwork.org/forms/solicitud-de-membresia-membership-application
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै ।













प्रतिक्रिया