मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

दक्षिण टेक्ससको एउटा घरबाट नेपालीसहित १६ अवैध आप्रवासी पक्राउ

दक्षिण टेक्ससको एउटा घरबाट नेपालीसहित १६ अवैध आप्रवासी पक्राउ

फोटो साभार: आईसीई

टेक्सस, अमेरिका- अमेरिकाको इमिग्रेसन सम्बन्धी निकाय अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) ले सोमवार दक्षिण टेक्ससको मर्सिडिज सहरमा रहेको एक घरबाट नेपालीसहित १६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ।

टेक्ससको डलासबाट करिब ५ सय पचास माइल टाढा रहेको उक्त सहरमा शंकास्पद गोप्य घर फेला परेको र त्यहाँ १६ जना अवैध आप्रवासीलाई पक्राउ गरिएको आईसीईले जनाएको छ। यो सहर अमेरिका–मेक्सिको सिमानजिक पर्छ।

आईसीईले मंगलवार जारी गरेको विज्ञप्तिअनुसार, एक स्थानीय व्यक्तिले मर्सिडिजको एक घरमा अवैध आप्रवासी लुकाइएका छन् भन्ने सूचना दिएका थियो। त्यसपछि आईसीईले मर्सिडिज प्रहरी विभागलाई जानकारी गराई प्रहरीले उक्त घरमा पुगेर जाँच गरेको थियो। घरधनीले १६ जना व्यक्तिलाई घरभित्र लुकाएको स्वीकार गरेपछि कारबाही अघि बढाइएको जनाइएको छ।

पक्राउ परेका १६ जनामध्ये नेपाल, अल्बानिया, मेक्सिको, होन्डुरस र ग्वाटेमालाका नागरिक छन्। आप्रवासन कानुन उल्लंघनको अभियोगमा ती सबैलाई नियन्त्रणमा लिइएको छ। साथै एक जना मेक्सिकन नागरिकलाई मानव तस्करीमा संलग्न भएको आशंकामा सोधपुछ भइरहेको छ। त्यहाँ कति जना नेपाली पक्राउ परेका हुन् भन्ने जानकारी भने दिइएको छैन। तर, उक्त सहर मेक्सिको सिमानजिक भएकाले अवैध रूपमा अमेरिका प्रवेश गरेको आशंका गरिएको छ।

हाल अमेरिकाले आप्रवासन सम्बन्धी नियमहरू कडाइका साथ लागू गरिरहेको छ। ह्वाइट हाउस र ट्रम्प प्रशासनले विना भिसा अमेरिका प्रवेश गर्ने विदेशीहरूमाथि अझ कडाइ गरेको छ। यस्तै अवैध बाटो नेपालीहरूले पनि प्रयोग गर्ने गरेका छन्। मानव तस्करको फन्दामा परेर सयौँ नेपाली यस्ता जोखिमपूर्ण यात्रामा सहभागी हुने गरेका छन्।

आईसीई होमल्याण्ड सेक्युरिटी इनभेस्टिगेसन्सका रियो ग्रान्डे भ्याली क्षेत्रका उपविशेष एजेन्ट मार्क लिप्पाले भने, “मानव तस्करीविरुद्धको अभियानमा सर्वसाधारण र स्थानीय कानून प्रवर्तन निकायहरूको भूमिकाले अत्यन्तै महत्त्व राख्दछ। अन्तरदेशीय आपराधिक सञ्जालहरूले नाफाका लागि मानिसहरूको जीवन जोखिममा पारिरहेका छन् र हामी यस्ता आपराधिक गतिविधिमा संलग्नलाई कठोरतापूर्वक कारबाही गर्नेछौं।”

शेयर गर्नुहोस:

38.2k
Shares