ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन भोली शनिबारदेखि ड्यालसमा सुरू हुँदैछ । सम्मेलनको सबै तयारीहरु लगभग पुरा भएको स्थानीय आयोजकहरूले जनाएका छन् ।
अर्भिङ्गको हिल्टन गार्डेन होटलमा हुने अधिवेशनको सबै तयारी पुरा भएको र प्रतिनिधिहरू आउने क्रम विहीबारबाटै सुरू भएको व्यवस्थापन समितिका सचिव विजयराज भट्टराइले जानकारी दिए । हामीले स्थानीय रूपबाट गर्नुपर्ने तयारी शुक्रबारनै पुरा गरिसक्यौ, प्रतिनिधिहरू, अतिथिहरूको स्वागतको लागि तयारी अवस्थामा रहेका छौ, भट्टराइले हिमालयखबरसँग भने । शुक्रबार साँझसम्म ५० जना प्रतिनिधिहरू ड्यालस आइसकेका छन् ।
दुई दिने सम्मेलनमा यसपटक संस्थाले विशेषरुपमा सदस्यहरुलाई पेशागत तथा व्यवसायीक सिकाइमुलक कार्यक्रमहरु अघि सार्ने नीति लिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले बताएका छन् । सदस्यहरुको आय आर्जनका लागि नयाँ पेशा, व्यवसायका बारेमा जानकारी दिनका लागि तीन विषयमा विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत हुने उनले जानकारी दिए ।
सदस्यहरुलाई कर, साना व्यबसाय अनुदानका विषय सिपिए राजेन्द्र शिवकोटीले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै विजयराज भट्टराई र निर्मल पौडेलले पनि अमेरिकामा संभावित व्यबसाय, पेशाका लागि आवश्यक पर्ने शीप दक्षताका बारेमा अलग अलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
‘दुई दिने सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट दुईसय ३५ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । कार्यक्रमको उदघाटन प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले गर्नेगरि तय भएको छ ।
प्रवासी मञ्चको पहिलो अधिवेशन सन् २०१३ मा न्यूयोर्कमा भएको थियो । त्यसपछि दोस्रो अधिवेशन सन् २०१७ मा मेरिल्याण्डमा, तेस्रो अधिवेशन २०२२ मा बोस्टनमा भएको थियो ।
अधिवेशनले दोहोरो नागरिकताको सुनिश्चितता, व्यबसायीक तथा सामाजीक कार्यमा संलग्नता बढाउने, वंशजको नागरिकताको निरन्तरतालाई मुख्य रुपमा उठाउने तयारी संस्थाको छ ।
यसपटकको अधिवेशनमा नयाँ नेतृत्व चयन हुने कार्यक्रम समेत रहेको छ । नयाँ नेतृत्वका लागि अहिलेसम्म उपाध्यक्ष गोपाल कँडेल, सचिव छबी पाण्डे र सहसचिव थोमस बाँस्तोलाले इच्छा व्यक्त गरेका छन् ।
अधिवेशनको उद्घाटन शनिबार दिउँसो २ बजे हुने कार्यक्रम तालिका रहेको छ ।












प्रतिक्रिया