लस एन्जलस , क्यालिफोर्निया । गैरआवासीय नेपालीका लागि बंशजको नागरिकताको निरन्तरताको मूल मन्त्र लिएर सकृय भएको नागरिकता खोइ अभियानले अमेरिकाको नेपाली समुदायमा सकारात्मक प्रभाव पारेको छ ।
नागरिकता खोइ अभियानले अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा आयोजना गरेको अन्तरक्रियामा नेपालीहरुको व्यापक चासो र सहभागिता देखिएको छ । टेक्सासको डालस र ह्युस्टन तथा क्यालिफोर्नियाको सानफ्रानसिस्को र लस एन्जलसमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा देखिएको जन उत्साह र सद्भाव अनि सहयोगी प्रतिक्रिया नागरिकता खोइ अभियानको लागि मार्ग निर्देश भएको कुरा अभियानका संयोजक वासुदेव घिमेरेले हिमालयखबरलाई बताए ।
आज लस एन्जलसको पशुपति बुध्द मन्दिरमा आयोजित कार्यक्रममा सहभागीहरुले छलफलमा व्यापक उत्साह र सकृयता मात्र देखाएनन न्यानो माया पनि दर्शाए । नागरिकता खोइ अभियानका संयोजक वासुदेव घिमिरेले बंशजको नागरिकताको निरन्तरता नै नेपाल र गैरआवासीय नेपालीहरुलाई जोड्ने सेतु बन्ने र नेपालको अर्थतन्त्रमा यसले सकारात्मक असर पार्ने कुरा तथ्यांक सहित बताए ।
पत्रकार तारा बरालले आफ्नो तितो अनुभव सुनाँदै गैरआवासीय नेपालीलाई बंशजको नागरिकताको निरन्तरता किन नदिने भनी नेपाल सरकार , राजनीतिक दल , तिनका नेता र सरोकारवालासंग प्रश्न गर्न आह्वान गरे ।
महाबाणिज्यदूत ऋषि ढकालले अभियानको सफलताको शुभकामना दिए । एनआरएनए उपाध्यक्ष ज्ञानेन्द्र गुरुङले नागरिकताको निरन्तरता नै गैरआवासीय नेपालीको आवाज भएकोले सबैले अभियानलाई सहयोग गर्न अनुरोध गरे । इन्दिरा त्रिपाठीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमकमा लस एन्जलसस्थित विभिन्न नेपाली संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।
ब्यानर , टाउनहल मिटिङ र र्याली
नागरिकता खोइ अभियानले पहिलो चरणमा नेपाल र नेपाल बाहिर बसेका सरोकारवालालाई विषयको गाम्भिर्यता बुझाउन अन्तरक्रिया आयोजना गर्ने उदेश्य अनुरुप नेपालमा मिडिया , राजनीतिक दलका नेता , संविधानविद , कलाकार र बौद्धिक वर्गसंग प्रत्यक्ष संपर्क मार्फत काम गरिरहेको र अमेरिकामा नेपालीहरुको बाक्लो जनसंख्या भएका राज्य टेक्सास र क्यालिफोर्नियामा अन्तरक्रिया सम्पन्न गरिसकेको छ ।
अब दोश्रो चरणमा विदेशमा रहेका नेपालीहरुका नेपालस्थित घर घरमा ब्यानर टाँगेर राजनीतिक नेताहरुको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जानकारी संयोजक वासु घिमिरेले दिएका छन् ।
ब्यानरमा मेरो बंशजका गैरआवासीय नातेदारको नागरिकता खोइ र बंशजका गैर आवासीय नेपालीहरुलाई विदेशी बनाउन पाइदैन भन्ने नारा लेखिएको छ ।
अभियानले विदेशमा रहेका नेपालीहरुलाई व्यानर खरिद गरि नेपालमा आफ्ना र नातेदरका घरमा बाहिर देखिने गरि ब्यानर टाँग्न अनुरोध समेत गरेको छ ।
त्यसैगरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न सहरहरुमा गैर आवासीय नेपालीका बुबाआमा , हजुरबुबा हजुरआमा र आगन्तहरुको टाउनहल मिटिङ आयोजना गरि जनचेतना जगाउने र नेपाल सरकारलाई दवाव दिन काठमाडौमा बृहत र्याली संचालन गर्ने कुरा नागरिकता खोइ अभियानका संयोजक वासु घिमेरेले हिमालयखबरलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया