ड्यालस (अमेरिका) । नेपाल सरकारले संविधानअनुसार प्रदान गर्न सुरू गरेको गैरआवासीय नागरिकताले नेपालीहरुलाई तेस्रो दर्जा दिएकोले वंशजकै नागरिकताको निरन्तरताका लागि प्रवासी नेपालीहरुले आवाज उठाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टर र नागरिकता खोई अभियानले शनिबार टेक्ससको ड्यालसमा आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीहरुले गैरआवासीय नेपाली नागरिकतालाई सरकारी निकायले नै नचिनेका कारण पुरानै नागरिकताको निरन्तरता हुनुपर्ने माग गरेका हुन् ।

नागरिकता खोइ अभियानका संयोजक वासुदेव घिमिरले विगत डेढ वर्षमा नेपालमा रहेर व्यवसाय गर्दा, गैरआवासीय नागरिकता लिएपछि सरकारी निकायहरुले नै दिएको सास्तीका बारेमा चर्चा गर्दै पहिले जन्मसिद्ध रुपमा प्राप्त गरेको वंशजकै नागरिकता निरन्तरता दिँदा नेपाल सरकारलाई कुनै पनि कोणबाट हानि नहुने उल्लेख गरे ।
वंशजको नागरिकता निरन्तरता दिइएमा विदेशमा रहेका धेरै नेपालीहरुले नेपालमा निर्धक्क व्यवसायमा लगानी गर्ने, अवकाश जीवन बिताउन जाने हुँदा त्यसबाट नेपाललाई अरबौँ डलर रेमिट्यान्स, लगानीका रुपमा प्राप्त हुने बताए । अभियानलाई अघि बढाउने सन्दर्भमा हालसम्म राजनीतिक दलका नेताहरु, सांसद्हरुलाई भेटेर वंशजको नागरिकता निरन्तरता दिँदा देशलाई कुनै हानी नपुग्ने विषयमा अवगत गराएको समेत उनले उल्लेख गरे ।
सोही अवसरमा विगत झण्डै डेढ वर्षअघि अमेरिका छाडेर नेपाल फर्किएका पत्रकार तारा बरालले एनआरएन नागरिकता लिँदा आफूले पाएको सास्तीको वर्णन गर्दै वंशजको नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई कुनै हानि नपुग्ने बरु फाइदा नै हुने चर्चा गरे । नेपालमा राज्य सञ्चालन गर्ने राजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले प्रवासी नेपालीहरुलाई नागरिकता निगाहा, बक्सिसका रुपमा व्यवहार गरिरहेको महसुस भएकोसमेत बरालले उल्लेख गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देललगायतले एनआरएनले हालसम्म गरिरहेको पहलको विषयमा जानकारी गराएका थिए । प्रवासी नेपालीहरुलाई दिने नागरिकताको सवालमा नेपाल उदार हुनुपर्ने र कैयौँ देशका कार्यकारी प्रमुखहरुसमेत दोहोरो नागरिकताधारी रहेको वर्तमान सन्दर्भमा नेपाल भने अनुदार भएर १९ औँ शताव्दीको सोच बोकेर बस्नु सर्वथा अनुचित रहेको वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा पत्रकार विजय घिमिरेले गैरआवासीय नेपाली संघभित्र दलगत राजनीतिले यसले बोकेका मुद्दाहरु कमजोर र छिन्नभिन्न हुनु दुःखद भएको चर्चा गर्दै वंशजको नागरिकताको निरन्तरता अहिलेसम्मको सबैभन्दा प्रभावकारी हुने बताए ।
सो अवसरमा सहभागीहरु राजनीतिक नेतृत्वलाई प्रवासबाट गतिलो दबाब नपुग्दा र एनआरएनभित्र पदको छिनाझप्टीले गर्दा मूल मुद्दा ओझेलमा परेको धारणा राखेका थिए । स्थानीय समुदायका शशि भट्टराई, विनोद तिवारी, डा. सुनिलकुमार पोखरेल, डा. भोजबहादुर बलायर लगायतले गैरआवासीय नागरिकता र वंशजको नागरिकताका विविध पक्षका बारेमा धारणा राखेका थिए ।
सो अवसरमा लुम्बिनी सर्किटका विषयमा अमेरिकामा प्रचार प्रसारका लागि आएका मेयरहरुमध्ये देवहद नगरपालिकाका मेयर ध्रुव खरेलले समेत शूभकामना व्यक्त गरेका थिए ।
नागरिकता खोई अभियानले आइतबार टेक्ससको ह्युस्टन र अर्को सप्ताहन्त लसएञ्जलसमा यस्तै विषयमा अन्तक्रिया कार्यक्रम राखेको छ । एनआरएन टेक्सस च्याप्टर उपाध्यक्ष निकेश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा महिला संयोजक अनु तामाङ्गले सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया