मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” विषयक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न

“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” विषयक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न


न्यूयोर्क — पर्वते खेलकुद संघ न्यूयोर्क ( Alpine Sports Association ) र साथसाथै संस्थाको संयुक्त आयोजनामा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मुख्य उद्देश्यका साथ एक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी कमला पन्थी, वरिष्ठ पत्रकार सहनशिला शर्मा, मदन पुरस्कार विजेता साहित्यकार तथा लेखक नीलम कार्की निहारिका, साथसाथ संस्थाकी प्रमुख प्रजिता कार्की लगायत नेपालबाट आउनुभएका विशिष्ट व्यक्तित्वहरूलाई पर्वतीए खेलकुद संघ न्यूयोर्कका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले हार्दिक स्वागत गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन पर्वतीए खेलकुद संघ न्यूयोर्कका महासचिव सन्जोग आचार्यले गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथिहरूले पृथ्वीको वातावरणीय सन्तुलन कायम राख्न तथा नेपालका हिमालको संरक्षण गर्न आवश्यक पहलका विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो।

साथसाथै संस्थाकी प्रमुख प्रजिता कार्कीले नेपालमा दिगो पर्यटन विकास तथा हिमाली क्षेत्रको प्रवर्द्धनका लागि समुदायस्तरबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफ्ना महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले नेपालका हिमालहरू विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उपस्थित अतिथिहरूले नेपालका हिमालहरू जलवायु परिवर्तनका कारण संकटमा परिरहेको भन्दै, तिनको दीर्घकालीन संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नेपालमा पर्यटन प्रवर्द्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रम अत्यन्तै भावनात्मक र प्रेरणादायी रहेको भन्दै सहभागीहरूले आयोजक संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

नेपालका हिमालहरू हाम्रो सम्पदा मात्र नभई पृथ्वीको पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो भन्ने सन्देश उक्त कार्यक्रमले प्रवाह गरेको छ।