डयालस (अमेरिका) । शनिबार ड्यालसमा आयोजित नारी दिवसमा आइमाई शव्द उच्चारण भएपछि बबाल भएको छ ।
नेपाली समाज टेक्ससले अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा आयोजना गरेको कार्यक्रममा ‘यी आइमाइहरु जे पनि भन्छन्’ शव्दको उच्चारण भएपछि बबाल भएको हो । नेपाली समाज टेक्ससका कोषाध्यक्ष रामकृष्ण यादवले ‘आइमाइहरु यहाँ जम्मा भएर के के नाटक गर्दैछन् रे’ भनेपछि त झनै बबाल भएको थियो ।
तर, बबाल भएको चाहि स्थानीय कलाकारहरुले प्रदर्शन गरिएको नाटकमा हो । नारी दिवसका अवसरमा महिलाको बहु-भूमिका देखाउने उद्वेश्यले प्रदर्शन गरिएको नाटकको सुरुवातमा समाजमा महिलालाई हेप्ने पुरुष पात्रको भूमिका अभिनय गरेका यादवले आइमाईलाई आईमाई नभने के भन्ने त भन्दा दर्शकहरुले रमाइलो मानेर ताली बजाएका थिए । सहभागी दर्शकहरुले बबाल, गज्जबको अभिनय, जीवन्त अभिनय बन्दै ताली बजाएर कलाकारलाई हौसला दिएका थिए । नेपालको गाउँघरमा अझै पनि त्यस्तो चरित्र बोकेका पुरुषहरुको कमि नभएको देखाउन उक्त संवाद राखिएको थियो ।
समाजको असल पात्रको भूमिकामा अभिनय गरेका किरण पौडेलले भने आइमाई भन्न नहुने र महिला, नारी भन्नुपर्ने उल्लेख गर्दै देवीका रुपमा महिलालाई लिनुपर्ने बताएका थिए ।
नेपाली समाज टेक्ससमा आवद्ध महिलाहरुले नारीको भूमिका परिवार, समाजमा कस्तो हुन्छ भन्ने बारेमा झण्डै १० मिनेटको नाटक प्रदर्शन गरेका थिए । त्यस अवसरमा महिलाहरुले नारी दिवसको महत्व, महिलाहरु कसरी अघि बढ्न सक्छन् र अझै अमेरिकी परिवेशमा महिलाहरुको समस्या, हक अधिकारका बारेमा समेत चर्चा गरेका थिए ।
कार्यक्रममा महिलालाई अघि बढ्न उत्प्रेरणा दिने तीननालाई सम्मान समेत गरिएको थियो । स्वास्थ क्षेत्रबाट डा. विष्णुमाया उपाध्याय, सामाजीक अभियन्ता सुनिता बस्नेत र कानुनविद डेबिड डेभिसलाई सम्मान गरिएको थियो । त्यस अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, उपाध्यक्ष सावित्री भण्डारी लगायतले नारी दिवसको ऐतिहासिक पृष्ठभूमि र प्रवासको सन्दर्भमा नारी दिवसको महत्वका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा महिलाहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया