नेपालको हिमाली भेगमा जन्मेकी याङ्छेन लामा अहिले अमेरिकाको चर्चित वित्तीय संस्था मोर्गन स्ट्यान्ली वेल्थ म्यानेजमेन्टमा सल्लाहकारका रूपमा कार्यरत छिन्। उनले हाल ४१० मिलियन डलरको सम्पत्ति व्यवस्थापन गरिरहेकी छन्।
सानै उमेरमा संघर्षपूर्ण जीवन बिताएकी लामा १७,००० फिटको उचाइमा रहेको दुर्गम गाउँमा जन्मेकी थिइन्, जहाँ बिजुली र शुद्ध पिउने पानीको पनि व्यवस्था थिएन। ९ वर्षको उमेरसम्म विद्यालय नगएकी उनले काठमाडौं सरेपछि मात्र औपचारिक अध्ययन थालिन्। अत्यन्तै मेहेनती र लगनशील लामा १२ वर्षको उमेरमा अमेरिका जाने अवसर पाउन सफल भइन्। उनले सन् १९९९ मा प्रतिष्ठित कोर्नेल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय वित्त (फाईनेन्स) मा स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गरिन्।
याङ्छेन लामाले आफ्नो करियरको सुरुवात लगानी बैंकिङ बाट गरिन्। सन् २००७ मा उनी आफ्नो श्रीमान्सँग लस एन्जलस बसाइँ सरेपछि वित्तीय परामर्श क्षेत्रमा लाग्ने निर्णय गरिन्। उनले युबीयस मा सल्लाहकार प्रशिक्षण पूरा गरेपछि सन् २००९ मा मोर्गन स्ट्यान्लीमा आफ्नो व्यक्तिगत अभ्यास सुरु गरिन्। त्यसबेलादेखि उनले दैनिक सयौं कोल्ड-कलिङ गर्दै ग्राहकहरूसँग सम्बन्ध विस्तार गरिन्। आज उनको ग्राहकहरू मुख्यत: मनोरञ्जन उद्योगसँग सम्बन्धित उच्च व्यक्तिहरू छन्।
ग्राहकलाई जस्तोसुकै समस्या परे पनि उनीहरूको आवश्यकताहरू पूरा गर्न हरसम्भव प्रयास गर्ने गरेको लामा बताउँछिन् । उनी नयाँ ग्राहकका लागि न्यूनतम १ मिलियन डलरको खाता आवश्यक पर्ने नीतिमा चल्छिन्। तर, धनी वा मध्यमवर्गीय, जसरी पनि ग्राहकको हितका लागि काम गर्नुपर्छ भन्ने उनको मान्यता छ।
उनको लगानी रणनीति पूर्ण रूपमा ग्राहकको आवश्यकतामा आधारित छ। उनले जोखिम व्यवस्थापनसँगै नयाँ अवसरहरूको खोजीलाई प्राथमिकता दिन्छिन्। उनी भन्छिन् ,”हामी विगतमा मात्र होइन, दीर्घकालीन सम्पत्ति संरक्षणको दिशामा काम गर्छौं”।
उनले मुख्य रूपमा व्यक्तिगत स्टक र सक्रिय लगानी व्यवस्थापन रणनीतिहरूमा ध्यान दिन्छिन्। अहिले “एस.याण्ड.पि ५००” महँगो र सीमित छ, तर यो भनेको सूचक कोषहरू किन्नु हुँदैन भन्ने होइन। उनी भन्छिन्, “बरु, व्यक्तिगत स्टक छनोटका लागि राम्रो अवसर छ”। साथै, उनको रणनीतिमा वित्तीय सेवा, रक्षा लगायतका क्षेत्रमा लगानी प्राथमिकतामा पर्छ।
स्थिर आम्दानीको रूपमा, उनले कर-मुक्त म्युनिसिपल बन्डहरू मा जोड दिन्छिन्। उनका हरेक ग्राहकसँग वैकल्पिक लगानी जस्तै रियल इस्टेट र निजी इक्विटीमा पनि निश्चित प्रतिशत लगानी हुन्छ।
हालको अमेरिकी सरकारको आर्थिक नीतिले शेयर बजारमा विभिन्न खाले प्रभाव पार्नसक्ने लामाको धारणा छ। वित्तीय क्षेत्र, क्रिप्टोकरेन्सी, र कृत्रिम बुद्धिमत्ता ( एअाई) कम्पनीहरूलाई सकारात्मक प्रभाव पार्न सक्ने भए पनि व्यापार नीति र शुल्क व्यवस्थापनले अन्य क्षेत्रहरूमा असर पार्न सक्छ। अहिलेको अनिश्चित बजारमा जोखिम व्यवस्थापनको हिसाबले सही ठाउँमा लगानी गर्न आवश्यक रहेको लामा बताउँछिन्।
(फोब्सका राईटिङ स्टाफ सर्जेइ क्लेब्निकोभ र लामा बिचको कुराकानीमा आधारित)
प्रतिक्रिया