टेक्सस

स्व. आचार्यको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचित

स्व. आचार्यको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचित


ड्यालस (टेक्सस) । ड्यालसको नेपाली समुदायमा परिचित समाजसेवी स्व. ईरा आचार्यको स्मृतिमा प्रकाशित ग्रन्थको आइतबार विमोचन गरिएको छ ।

ड्यालसको नेपाली समुदायका अगुवाहरुले स्व.आचार्यको स्मृतिमा प्रकाशित भएको ‘ईरा आचार्यः उनले कोरेको मार्गचित्र’ को संयुक्त रुपमा विमोचन गरेका हुन् । अमेरिकाको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा झण्डै डेढ दशकसम्म रहेर बिभिन्न सामाजीक गतिविधि, संघसंस्थाहरुको नेतृत्व तथा स्वयमसेवामा समर्पित आचार्यको सन् २०१९, नोभेम्बर ८ मा असामयीक निधन भएको थियो ।

Advertisement

ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष समेत हुनभएकी स्व. आचार्यले छोटो जीवनमा पनि नेपाल अनि अमेरिका आएर नेपाली समुदायका लागि गरेको योगदान, देखाएको तत्परता र समर्पणको त्यस अवसरमा स्मरण गरियो ।

कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले नेपाल समाज टेक्सस र मन्दिरको आयोजनामा सन् २०१० मा दशैं पर्व मनाउँदाको समयमा स्व. ईराले देखाउनुभएको सकृयताको स्मरण गरेका थिए । उहाँ बहुआयामिक, इमान्दार अनि सधै अरुको ख्याल गर्ने व्यक्तित्व हुनुभएको मैले पाएँ डा. अधिकारीले भने ।

कार्यक्रममा ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्ब अध्यक्ष शशी भट्टराईले स्वागत गर्दै उहाँले समुदायलाई दिनुभएको योगदानको चर्चा गरेका थिए ।

त्यस अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र कार्यकारिणी समितिकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्ब अध्यक्ष दिनेश शर्मा, अन्तर्राष्ट्रिय साहित्य समाज टेक्सस च्याप्टर अध्यक्ष निर्मला राई, लायन्स रिजनल चेयर थलराज पन्त, ब्लड डोनर्स अमेरिकाका पूर्ब अध्यक्ष डा.नन्द रेग्मी, एनआरएनए अमेरिका उपाध्यक्ष नेत्र पाण्डे, साहित्यकार भगवती पौडेल लगायतले स्व. आचार्यले समाजलाई पुर्याएको योगदानको स्मरण गरेका थिए ।

काठमाडौंको गैरीधारामा जन्मिएर बिभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेकी आचार्यको परिवार डिएफडब्लुको हस्र्टमा बसोबास गर्दै आएका थिए । आचार्यको निधनले नेपाली समुदायले असल, क्षमतावान र सकृय महिला समाजसेवी गुमाएको समेत त्यस अवसरमा स्मरण गरिएको थियो ।

स्व. आचार्यका पति कवि बैकुण्ठराज आचार्यले स्मृतिग्रन्थका बारेमा चर्चा गर्दै लेखकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शेयर गर्नुहोस:

4.7k
Shares