मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सान् फ्रान्सिस्कोमा एक हजार पाँच सय जनाले लिए राहदानी

सान् फ्रान्सिस्कोमा एक हजार पाँच सय जनाले लिए राहदानी


सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । नेपाली राजदूताबास वासिङ्टन डिसीद्वारा क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्कोमा सञ्चालित शिविरमा एक हजार ५०६ जनाले राहदानी लिएका छन् ।

नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको स्थानीय व्यवस्थापनमा भएको शिविर आठ दिनसम्म सञ्चालन भएको थियो । सुरूमा पाँच दिन भनिएको शिविर राहदानी लिनेको भीड बढेपछि तीन दिन थप गरिएको थियो ।

समापन समारोहमा स्थानीयको एकता र सहयोगले यति धेरैलाई राहदानी दिन सकिएको कार्यवाहक राजदूत शरदराज अरनले बताए । ‘यति ठूलो डायस्पोरा यहाँ छ भन्ने नै थाहा थिएन’ अरनले भने, ‘संस्था, अगुवा, पत्रकार सबैको एकता यस्तो अन्यत्र देखिएको थिएन ।’

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले दूतावासबाट धेरै टाढा रहेको सान् फ्रान्सिस्कोको यो शिविरले धेरैको आवश्यकता पूरा गरेको बताए ।

नान्सका अध्यक्ष प्रितेश कार्कीले दूतावासका कर्मचारीको सबेरैदेखि अबेरसम्मको खटाईले शिविरमा धेरैले लाभ लिन सकेको भन्दै उनीहरुको कामको प्रशंशा गरे ।

त्यस्तै, एनआरएनएका च्याप्टर अध्यक्ष हरि ओझाले स्थानीयको सहयोग पनि सराहनीय रहेको भन्दै धन्यवाद दिए । शिविर समापनका क्रममा ६३ जना स्वयंसेवकलाई दूतावासबाट प्रदान गरिएको प्रमाणपत्र कार्यवाहक राजदूत अरनले हस्तान्तरण गरे ।

आयोजक संस्थाका तर्फबाट नान्सका अध्यक्ष प्रितेश कार्की र एनआरएनएका च्याप्टर अध्यक्ष हरि ओझाले कर्मचारीलाई सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरेका थिए । दूतावासबाट अरन स्वयंको नेतृत्वमा बिजनेस काउन्सिलर युगराज पाण्डे, थर्ड सेक्रेटरी सोना थडराई लगायत पाँच कर्मचारी पूरै दिन खटिएका थिए ।

नेपाली कम्युनिटी सेन्टरलाई सघाउन राजदूतको आग्रह

यसैबीच, समापन समारोहमा नान्सले यहाँ खरिद गर्न लागेको कम्युनिटी सेन्टरलाई सबैले सघाउन कार्यवाहक राजदूत अरनले विशेष आग्रह गरेका छन् ।

‘कम्युनिटी सेन्टरले नै सबैलाई एकताबद्ध बनाउने हो’ उनले भने । नेपाली संस्कृति संरक्षणलगायत विभिन्न नेपालीपन झल्काउने काम हुने कम्युनिटी सेन्टर जसरी बन्दैछ भावी पुस्तासम्म झन् महत्त्वको हुनेछ । समापनको अघिल्लो दिन अरन कम्युनिटी सेन्टरको आर्थिक संकलन सहयोग अभियानको कार्यलयमा पुगेर यसबारे जानकारी लिएका थिए ।

नान्सले सान् फ्रान्सिस्कोको रिचमण्डमा १ दशमलव ८ मिलियन डलरमा नेपाली कम्युनिटी सेन्टर खरिद प्रक्रिया सुरू गरेको छ । फेब्रुअरी १७ सम्ममा यसको हस्तान्तरण प्रक्रिया पूरा हुने नान्सका अध्यक्ष कार्कीले जानकारी दिए । सो कार्यका लागि अहिले आर्थिक संकलन सहयोग अभियान जारी रहेको छ ।