हिमालय खबर संवाददाता, अमेरिका- अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा पुनः डोनाल्ड ट्रम्पले सोमबार सपथ लिएका छन्। वासिङ्टन डीसीस्थित क्यापिटल हिलमा चिफ जस्टिसबाट सपथ लिएलगत्तै उनले अवैध रूपमा अमेरिका छिर्ने आप्रवासीहरूलाई कडाईका साथ कारवाही गर्ने घोषणा गरेका छन्।
निवर्तमान राष्ट्रपति जो बाइडेनकै अगाडि ट्रम्पले अब अमेरिकामा राम्रो दिन सुरु भएको भन्दै अमेरिकाले विगतमा अपनाएको नीतिको आलोचना गरे।
राष्ट्रपतिले सपथ लिनुअघि उपराष्ट्रपतिले सपथ लिएका थिए।
राष्ट्रपति भएपछि आफ्नो सम्बोधनमा ट्रम्पले दक्षिणी सीमामा आपतकाल घोषणा गरेका छन्। “अब अमेरिकाको भासिने क्रम रोकियो, परिवर्तन निकै छिटो आउनेछ,” उनले भने।

ट्रम्पले व्यापार, ऊर्जा लगायतका क्षेत्रमा ठूला परिवर्तन आउने जानकारी दिए। पानामा नहरमा अमेरिकाको आधिपत्य कायम गर्ने, अमेरिकी उपभोक्ताले भोगिरहेको उच्च मूल्यवृद्धि कम गर्ने लगायतका योजना उनले प्रस्तुत गरे।
यो ट्रम्पको दोस्रो कार्यकाल हो। यसअघि चार वर्षअघि उनी बाइडेनसँग पराजित भएका थिए। चार वर्षको अन्तरालपछि उनी पुनः ह्वाइट हाउस फर्किएका हुन्।
व्यावसायिक पृष्ठभूमिका ट्रम्पको सपथग्रहण समारोहमा गुगल, टेस्ला, एप्पल लगायतका विश्वका ठूला व्यावसायिक कम्पनीका प्रमुखहरू सहभागी थिए। ट्रम्पको सपथ लगत्तै विश्वका नेताहरूले उनलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन्।
प्रतिक्रिया