मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

दुई वर्षभित्र मन्दिरको नयाँ भवनको जग हाल्ने प्रतिवद्धता

दुई वर्षभित्र मन्दिरको नयाँ भवनको जग हाल्ने प्रतिवद्धता


ड्यालस (टेक्सस), अमेरिका । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ ताथ बुद्धि मन्दिर) ले आउँदो दुई वर्षभित्र नयाँ संरचनाको जग हालेर निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएको छ ।

मन्दिरका नवनिर्वाचित पदाधिकारीहरुको आइतबार भएको पदस्थापन समारोहमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले सबै हिन्दुको आस्थाको केन्द्र बनाउने र भव्य पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको निर्माणको जग दुई वर्षभित्र हाल्ने उद्घोष गरे । ‘मन्दिरलाई हामी नेपालबाट आएकाहरुको दोस्रो घर हुने गरि सबैको आस्था, विश्वास आर्जन गर्नेगरि हामी अघि बढ्छौँ । समुदायका सबैबाट यो महान अभियानमा सहयोगको अपेक्षा गरेका छौैँ’ डा. अधिकारीले शपथ ग्रहण पछि संक्षिप्त मन्तव्यका क्रममा भने ।

आउँदो दुई वर्ष २०२५/२६ का लागि बोर्ड अफ ट्रष्टीका डा. अधिकारी र मन्दिरको कार्यकारिणी समितिको अध्यक्षमा सीता बस्नेत सापकोटाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नयाँ मन्दिर र स्तुपाको नक्सापास लगायत अन्य सबै पूर्व तयारी गरेर निर्माण थालनी गर्ने प्रतिवद्धता पदाधिकारीहरुले जनाए ।

कार्यक्रममा मन्दिर कार्यकारिणी समितिकी नवनिर्वाचित अध्यक्ष सीता बस्नेत सापकोटाले मन्दिर समुदायको सम्पत्ति भएकोले आवश्यक सुधार, नयाँ रुपबाट अघि बढ्नका लागि सुझाव, सल्लाहको लागि आव्हान गरिन् । यो संरचना मेरो, उहाँको र हामी यहाँ भएकाहरुको मात्र होइन, अमेरिकामा रहेका नेपालीहरुको साझा सम्पत्ति हो । यसलाई अझै बलियो बनाउन तपाईहरुबाट बेलाबेलामा सुझावको हामीले अपेक्षा गरेका छौं उनले भनिन् ।

पदस्थापन समारोहमा मन्दिर कार्यसमितिका उपाध्यक्ष छबी चापागाई, महासचिव लक्ष्मी पौडेल, बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष भुवन आचार्य, सचिव दीपक राज सिलवाल लगायतले मन्दिरले आउँदा वर्षमा राख्ने प्राथमिकता र विस्तार योजनाका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका बैकुण्ठ बिक्रम थापा, बासुदेव भण्डारी, सिर्जना शर्मा पोखरेल, सुमन कार्कीले पद तथा गोपनियताको शपथ गराएका थिए ।

गत महिना भएको निर्वाचनमा मन्दिरका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारीहरुमा मन्दिर कार्यसमिति तर्फ अध्यक्षमा सीता बस्नेत सापकोटा, उपाध्यक्षमा छबी चापागाई र शैलेन्द्र मानन्धर, महासचिवमा लक्ष्मी पौडेल अधिकारी, सचिवमा सुमन कार्की, कोषाध्यक्षमा दिनेश न्यौपाने र सहकोषाध्यक्षमा बासु श्रेष्ठ निर्विरोध रुपमा चयन भएका थिए । त्यस्तै महाप्रसाद व्यबस्थापन समितिमा अच्युत थापा, महाप्रसाद स्पोन्सर समितिमा मकर बज्राचार्य, महाप्रसाद खरिद समितिमा सबिता न्यौपाने, सूचना प्रविधि संयोजकमा जीवन घिमिरे, स्वयमसेवक संयोजकमा विवेक कँडेल र महिला संयोजकमा मुना खरेल चयन भएका छन् ।

बोर्ड अफ ट्रष्टी तर्फ अध्यक्षमा डा. प्रेम अधिकारी, उपाध्यक्षद्वयमा भुवन आचार्य र रविन खनाल, फाइनान्स डाइरेक्टरमा विजय हुमागाई, सम्पत्ति व्यबस्थापन डाइरेक्टरमा कवि मैनाली र सचिवमा दीपक राज सिलवाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

मन्दिरको नयाँ कार्यसमितिसँग ड्यालस फोर्टवर्थका नेपाली समुदायले मन्दिर र स्तुपाको नयाँ संरचना छिट्टै निर्माण गर्न र मन्दिर प्रति सर्वसाधारणको आस्था र सम्मान बढाउने कृयाकलाप हुन, तिथिमा देखिएको सर्वसाधारणको गुनासो समाधान गर्नका लागि सुझाव पेश गरेका थिए ।

साधारण सभामा मन्दिरका तत्कालिन कोषाध्यक्ष आमोद श्रेष्ठले गत वर्ष २०२४ को आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार मन्दिरको कार्यकारिणी समितिबाट ५ लाख ५३ हजार डलर आय र चारलाख ६२ हजार खर्च भएको थियो । गत अप्रिलमा लगाइएको नवाह समेतको आम्दानी जोड्दा २३ लाख ८४ हजार वचत रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै बोर्ड अफ ट्रष्टी तर्फ मन्दिरको पूर्वाधारमा भएको सबै खर्च कटाएर तीनलाख ८९ हजार खातामा मौज्दात रहेको उनले सार्वजनिक गरेका थिए ।