अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका मगर समुदायको संस्था मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले माघे सङ्क्रातिको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ। संघले नेपालीहरुको विषेश चाड माघे सङ्क्रातिको अवसर पारेर ‘माघे सङ्क्रान्ति -२०२५’ कार्यक्रम गर्न लागेको हो।
नेपालका मगर जातिले विशेष रुपमा मनाउने गरेको चाड ‘माघे सङ्क्राति’ लाई अमेरिकामा रहेका प्रवासी नेपाली मगर समुदायले पनि प्राथमिकताका साथ मनाउदै आएका छन्। यसै क्रममा, मगर संघ, अमेरिका, म्यासाच्युसेट्स,बोस्टन च्याप्टरले आउदो जनवरी १३ तारिख सोमबार 50 church street, Waltham, MA-02452 मा ‘माघे सङ्क्रान्ति -२०२५’ कार्यक्रम गर्न लागेको हो।
“जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई,
जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई !”
भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम मगर समुदायले आयोजना गरेको भएतापनि, हर सम्भव सबै नेपाली समुदायलाई समेटेर सामुहिक रुपमा भव्य, सभ्य र उल्लासमय रुपमा मनाउने तयारी भैरहेको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष देवराज पुनले बताए।
मातृभूमि नेपालप्रतिको माया, विभिन्न नेपाली जातजातिको भाषा, मौलिक कला र संस्कृतिलाई जोगाइ राख्ने र साङ्गीतिक माहोलमा नेपालीको विशेष चाड ‘माघे सङ्क्रान्ति’ उल्लासका साथ मनाउने कार्यक्रको मुख्य उद्देश्य रहेको अध्यक्ष पुनले बताए। उनले न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका मगर समुदायलगायत सबै नेपाली जातजाति, भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागिताका लागि अनुरोधसहित निम्तो गरेका छन्।
नेपाली गीत सङ्गीतको माहोलमा हुने उक्त कार्यक्रममा, नेपाली स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। आयोजकले उक्त कार्यक्रममा सहभागिताका लागि १० वर्ष उमेर माथिका व्यक्तिलाई प्रवेश शुल्क वापत प्रति व्यक्ति ४० डलरको टिकट व्यवस्था गरी विक्री वितरणसमेत सुरु गरिसकेको छ।
नेपाली पात्रो अनुसार हरेक महिनाको पहिलो दिनलाई सङ्क्राति र अन्तिम दिनलाई मसान्त भनिन्छ। जस अनुसार माघ महिनाको पहिलो दिन अर्थात माघ १ गतेलाई माघ (माघे) सङ्क्रान्ति भनिन्छ। यसलाई मकर वा तिलुवा (तिल विशेष) सङ्क्रान्ति, माघी आदि पनि भन्ने गरिन्छ।
यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार जनवरी १४ तारिख मङ्गलबारका दिन परेको छ। यो दिन मगर जातीको राष्ट्रिय पर्व हो। यस दिन मगर जातिमा धनुष काँडले तादो चडाउने प्रचलन छ। धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने यस दिनमा आस्थाका आधारमा घर/बासस्थानमै वा शक्तिपीठहरुमा पुगी भगवानहरुको दर्शन, पूजापाठ, ध्यान, जप, साधना, आराधना आदि गर्ने गरिन्छ। यस दिन विशेष गरी, घ्यू, चाकु, तिल, कन्दमूल, खिचडी आदि खानुका साथै शरीरमा तेल/घ्यू घसेर सूर्य वा आगोको तापमा शरीर सेक्ने पनि प्रचलन छ।
प्रतिक्रिया