विदेशमा बस्ने नेपालीले त्यहाँको नागरिकता स्वीकार नगरी नेपालको नागरिकता राखिरहँदा नेपाललाई नोक्सान भइरहेको नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले बताएका छन्।
नेपालमा वंशजको नागरिकता लिएका कयौं नेपालीले उक्त नागरिकताको निरन्तरताको प्रावधान नभएका कारण आफू बस्ने देशको नागरिकता लिन हिच्किचाइरहेका छन्।
अव, युवालाई विदेश पठाएर होइन, विदेशमा रहेका नेपालीलाई नेपाल ल्याएर उनीहरूले मासिक रूपमा पाउने अवकाशको पैसा नेपालमा खर्च गर्ने वातावरण बनाउनु पर्छ, घिमिरेले भने। नागरिकताको निरन्तरताले मात्र यो सम्भव छ।
विदेशमा गएका नेपालीको नागरिकता निरन्तरताका लागि नागरिकता खोई अभियानले सक्रिय पहल गरिरहेको छ। राजनीतिक पार्टी, नेता, लगायत नागरिक समाजका अगुवालाई नेपाललाई यो किन फाइदा जनक छ भन्ने बुझाइरहेको छ।
अहिले नेपालले प्रदान गर्दै आएको एनआरएन नागरिकताले वंशजको नागरिकता लिएका नेपालीलाई तेस्रो दर्जाको नेपाली बनाउने भन्दै वंशजको नागरिकताको निरन्तरताको माग नागरिकता खोई अभियानको छ।
नेपालले वंशजको नागरिकतालाई निरन्तरता दिएमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्नेछ र यसरी फर्किनेबाट रेमिट्यान्सको रूपमा अरबौँ रुपैया नेपाल आउने घिमिरेको दावी छ। यो रकम अहिले नेपालले प्राप्त गरिरहेको रेमिट्यान्स भन्दा कयौं गुणा बढी हुनेछ।
दैनिक ठूलो संख्यामा नेपाली युवा अवसर खोज्दै विदेश जाँदैछन्। अधिकांश २० देखि ४० वर्ष उमेर समूहका नेपालीहरूले देश छाडिरहेका छन्। यसले नेपालमा जनसंख्या कम भैरहेको छ। कयौं गाउँहरू खाली भएका छन्। विकास पुगेपनि गाउँमा बस्ने मानिसहरू पातलिएका छन्। यसले त्यहाँको बजार र देशको अर्थतन्त्रमा समेत नकरात्मक प्रभाव परेको छ।
प्रतिक्रिया