ड्यालस (अमेरिका) । नेपाली वुमन ग्लोबल नेटवर्कको आयोजनामा आउँदो साता टेक्ससको डेन्टनमा छैठौं बेनियल कन्फरेन्स हुन लागेको छ ।
नोभेम्बर ९ तारिक शनिबार हुने कन्फरेन्सको तयारी लगभग पुरा भैसकेको संस्थाकी पूर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार अभिमा उप्रेतीले जानकारी दिइन् । अमेरिका र क्यानडामा रहेको प्रोफेसनल नेपाली महिलाहरुलाई एकै ठाउँमा ल्याएर उनीहरुको ज्ञान, शीपलाई अरु महिलाहरुको विकास र उत्प्रेरणामा लगाउने संस्थाको मुल उद्वेश्य रहेको छ ।
‘शनिबार बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा महिलाहरुले आफूले गरिरहेको काम, अहिलेको अवस्थासम्म आइपुग्न गरेको संघर्षका कथाहरु सुनाउने र जसबाट अरु सहभागीहरुलाई प्रेरणा मिल्न विश्वास हामीले लिएका छौं’ उप्रेतीले भनिन् । युनिभर्सिटी अफ नर्थ टेक्सस (युएनटी) मा अध्ययनरत नेपाली विद्यार्थीहरुको समेत सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा बिभिन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विशेषगरि विद्यार्थीहरु र युवा प्रोफेसनलहरुलाई लक्षित गरिएको छ । जसबाट सहभागीहरुले अमेरिकाको व्यवहारिक जीवन, अध्ययन, रोजगारीका क्रममा जान्नैपर्ने कुराहरु सिक्ने अपेक्षा आयोजकहरुको छ ।
कार्यक्रमकै दौरानमा नेपाली युवा प्रोफेसनलहरुको कार्यशाला हुनुका साथै विद्यार्थीहरुबीच निवन्ध प्रतियोगिता, नेटवर्क शेसन समेत हुनेछ । ‘यो कार्यक्रम महिलाहरुका लागि अवसरको खोजी, क्षमता अभिवृद्धि, नेटवर्किंगका लागि अत्यन्तै उपयोगी हुनेछ । अरु सहभागीलाई न्यूनतम खर्च (३० डलर) प्रवेश शुल्क तोकिएको भएपनि विद्यार्थीलाई भने निशुल्क व्यवस्था भएकोले उहाँहरुले बढी भन्दा बढी फाइदा उठाउनुहुन हाम्रो आग्रह छ’ उनले भनिन् ।
त्यस अवसरमा विद्यार्थीहरुको दैनिक जीवनमा पर्ने ओपिटी, एफ वान स्टाटस, कानुनी समस्या आइपर्दा गर्नुपर्ने कार्यहरुका बारेमा एटोर्नी मरिना शाक्यबाट कार्यपत्र प्रस्तुत हुनेछ । त्यस्तै रिसर्च प्यानलिस्टका रुपमा डा. अम्बिका अधिकारी, दिपिका श्रेष्ठ, डा. बनिता शर्मा, डा. फिलिप क्यु वांग र डा. नवदिता श्रेष्ठ रहेका छन् ।
नेपाली वुमन ग्लोबल नेटवर्कले हरेक वर्ष नारी दिवसमा विशेष कार्यक्रम समेत आयोजना गर्दै आइरहेको छ । टेक्ससमा चेम्बर अफ कमर्स, योंग युथ प्रोफेसनलसँग मिलेर महिलाहरुको क्षमता, शीप विकास, नेटवर्किंगका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा सहभागी हुनका लागि मंगलबारभित्र दर्ता गरिसक्नुपर्ने समेत आयोजकले जनाएका छन् ।
प्रतिक्रिया