मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

पत्रकार उपाध्यायको पुस्तकमाथि ड्यालसमा परिचर्चा

पत्रकार उपाध्यायको पुस्तकमाथि ड्यालसमा परिचर्चा


ड्यालस (अमेरिका) । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारितको एक दशक’ माथि आइतबार ड्यालसमा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा भएको कार्यक्रममा बिक्रम सम्वत् २०५२ देखि २०६२ सम्मको अवस्थामा पत्रकारिताले भोगेको पीडाका बारेमा लेखक उपाध्यायले चर्चा गरे । ‘यो पुस्तक पढ्दै गर्दा हरकोही तत्कालिन सञ्चारकर्मीलाई आफ्नै कथा, आफ्नै व्यथा जस्तो लाग्छ’ लेखक उपाध्यायले भने ।

शसस्त्र द्वन्द्वको समयमा पत्रकारहरु राज्य र माओवादी दुबै पक्षबाट प्रताडीत भएको र २६ जना सञ्चारकर्मीले ज्यान गुमाएको समेत उनले उल्लेख गरे । तत्कालिन समयमा नेपालको सुदूर पश्चिमको धनगढीमा रहेर पत्रकारितामा संलग्न उपाध्यायले देखेका र भोगेका विषयहरु पुस्तकमा उल्लेख छन् ।

परिचर्चा कार्यक्रममा सहभागीहरुले देशलेनै ठूलो पीडा त्यतिखेर भोगेको र त्यसको असर अहिलेसम्म पनि कायमै रहेको चर्चा गरेका थिए ।

पुस्तक माथि समिक्षा गर्दै सञ्चारकर्मी सञ्जय घिमिरेले पुस्तक तत्कालिन समय, पत्रकारिताको अवस्था बारे जान्न चाहनेका लागि एतिहासिक दस्तावेज हुने बताए । अर्का समिक्षक गोपाल गड्तौलाले द्वन्द्वको समयमा आफू झापामा पत्रकारिता गरिरहेको उल्लेख गर्दै सेनाको गाडी माओबादीको एम्बुसमा परेपछि रगत लतपतिएको एसएलसीको प्रश्नपत्र हातमा लिएर विद्यार्थीहरुले परिक्षा दिएको कहालीलाग्दो अवस्थाका बारेमा स्मरण गरे ।

त्यस अवसरमा नेजाका अध्यक्ष सुरज भण्डारी, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पूर्ब अध्यक्ष भोला आचार्य, विनय देवकोटा, बाल जोशी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेजाका क्षेत्रीय संयोजक शंकर थापा लगायतले दुई दशक अघिको तत्कालिन अवस्थाको स्मरण गर्दै सञ्चारकर्मीकै कारणले राज्यबाट पक्राउ परेर वेपत्ता पारिएकोहरु मध्य केहीको ज्यान बँचेको सन्दर्भ उल्लेख गरेका थिए ।

संगम बुक्सले प्रकाशन गरेको यो पुस्तक दुई महिना अघिमात्र बजारमा आएको हो । अमेरिका भ्रमणको अवसर पारेर उपाध्यायले आफ्नो पुस्तक र तत्कालिन अवस्थाका बारेमा जानकारी गराएका थिए ।