मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ह्युस्टनको नेपाली समुदायमा नयाँ नेतृत्व

ह्युस्टनको नेपाली समुदायमा नयाँ नेतृत्व


सेप्टेम्वर २९, ह्युस्टन, टेक्सस। ह्युस्टनको नेपाली समुदायको सबभन्दा पुरानो संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले नयाँ नेतृत्व पाएको छ। ज्ञानेश्वर श्रेष्ठको सर्वसम्मत नेतृत्वमा चुनिएको कार्यसमितिको घोषणा हिजो शनिवार पशुपतिनाथ मन्दिरमा आयोजित वार्षिक साधारण सभामा गरिएको हो। सेप्टेम्वरको पहिलो हप्ता सुरु भएको निर्वाचन प्रक्रिया अनुरुप निर्वाचन समितिले नव निर्वाचित कार्यसमितिको घोषणा गरेको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्ष पदमा दुई-दुई जनाको उम्मेदवारी परेको भएपनि समुदायका केही अगुवाहरुको सक्रियतामा एकभन्दा बढी उम्मेदवारी परेको पदहरुमा मनोनयन फिर्ता हुने अवस्था बनेकाले सबै पदहरु सर्वसम्मत हुन सकेको हो।

ह्युस्टनमा करिब तीन दशकदेखि बस्दै आएका व्यवसायी एवं समाजसेवी ज्ञानेश्वर श्रेष्ठको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रशान्ति पण्डित, द्धितीय उपाध्यक्षमा आरिश खरेल र सचिवमा मनीष मुनङ्कमी निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा निशेध खनाल, सहसचिवमा मेनुका कार्की र सहकोषाध्यक्षमा हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएकाछन्।

नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा उमाकान्त भट्टराई, प्रकाश कँडेल, निर्मल सुवेदी, निराजन शर्मा, लिण्डा अमात्य श्रेष्ठ, सावित्री घर्तीमगर, एलिना शाक्य र राजन रेग्मी निर्विरोध चयन भएकाछन्।

निर्वाचन समितिका संयोजक ज्योति घिमिरे तथा सदस्यहरु दिनकर अमात्य र विनोद श्रेष्ठले संयुक्तरुपमा सर्वसम्मत चयन भएका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको नामावली पढेर सुनाएका थिए।

रविन श्रेष्ठको अध्यक्षतामा हिजो सम्पन्न एनएएचको वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले गत वर्ष सम्पन्न भएका महत्वपूर्ण सामुदायिक गतिविधिहरुका साथै नयाँ पशुपतिनाथ मन्दिर एवं सामुदायिक भवन निर्माणका लागि प्रस्तावित गुरुयोजनाको प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। यसैगरी कोषाध्यक्ष निशेध खनालले एनएएच र हिमालयन कल्चरल सेन्टरको एकवर्षको आम्दानी-खर्च एवं संस्थागत स्रोत परिचालनका लागि गरिएका विभिन्न गतिविधिहरपका बारेमा प्रकाश पारेका थिए। सहसचिव मनिष मुनङ्कमीले कार्यक्रम संचालनका अतिरिक्त नयाँ मन्दिर निर्माण योजनाको संयोजकका हैसियतले गुरुयोजनाको प्रगति, प्रस्तावित मन्दिर लगयातका संरचनाहरुको प्रारुप समेत सदस्यहरुलाई जानकारी गराएका थिए।

एनएएचको यसै वर्ष संशोधित विधान अनुसार आजीवन सदस्यहरुले मात्र साधारण सभा र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था थियो। हिजोको साधारण सभामा तीनसय बन्दा बढी आजीवन सदस्य मध्ये करिब ५० जनाको मात्र उपस्थिति रहेको थियो।

हालको कार्यसमितिका प्रथम उपाध्यक्ष द्रोण गौतमले साधारणसभामा उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै साधारणसभाको समापन समेत गरेका थिए। धन्यवाद मन्तब्यका क्रममा गौतमले नेपाली समुदायमा लामो समयदेखि सक्रिय र आफू भन्दा अग्रज ज्ञानेश्वर श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएकाले र आपसी प्रतिस्पर्धा गरेर समुदायको सौहाद्रता र एकता कमजोर बनाउन नचाहेकाले आफूले अध्यक्ष पदका लागि दिएको मनोनयन फिर्ता गरेको बताएका थिए। अब कार्यसमितिको सक्रिय भूमिकामा नरहेपनि समुदायका लागि आवश्यक सहयोगका लागि तत्पर रहिरहने प्रतिबद्धता पनि गौतमले गरेका थिए।